पेम्बा गेलु शेर्पा/अक्टोबर १३ ।
– अखिल भारतीय शेर्पा बौद्ध संघ (AISBA) ले हालै सिक्किमको गान्तोकस्थित सरम्सा गार्डनमा अक्टोबर ९ देखि १२ तारिखसम्म आयोजित इन्टरनेशनल ट्याटू कनभेन्सन मा बौद्ध देवताका पवित्र छविहरू असम्मानजनक रूपमा प्रदर्शन गरिएको घटनाप्रति गम्भीर आपत्ति र गहिरो चिन्ता व्यक्त गरेको छ।
संघका अनुसार कार्यक्रममा केही व्यक्तिहरूको तल्लो शरीरमा बौद्ध देवताका पवित्र चित्रहरू ट्याटू गरिएको थियो, जसलाई AISBA ले बौद्ध समुदायका धार्मिक र सांस्कृतिक भावनामा गहिरो चोट पुर्याउने कार्य भनेर व्याख्या गरेको छ।
संघका राष्ट्रिय अध्यक्ष दोर्जे शेर्पा पिनासाद्वारा जारी गरिएको जारी प्रेस नोटमा भनिएको छ, “पवित्र बौद्ध प्रतिमाहरूको अनुचित र अपमानजनक प्रयोगले धार्मिक संवेदनशीलता र सांस्कृतिक सम्मानप्रति गम्भीर अभाव देखाएको छ।” संघले जोड दिएको छ कि बौद्ध प्रतीक र देवताहरू पूजनीय हुन् र तिनको कलात्मक वा व्यावसायिक प्रयोगले तिनको पवित्रता घटाउनु हुँदैन।
AISBA ले उक्त कार्यक्रमका आयोजक र संलग्न ट्याटू कलाकारविरुद्ध तीन बुँदे माग राखेको छः
१. बौद्ध देवताहरूको ट्याटू सार्वजनिक रूपमा हटाउनुपर्ने।
२. बौद्ध समुदायलाई पुगेको चोटका लागि औपचारिक सार्वजनिक माफीनामा जारी गर्नुपर्ने।
३. भविष्यमा यस्ता धार्मिक र सांस्कृतिक असंवेदनशील कार्य दोहोरिन नदिने सुनिश्चितता गर्नुपर्ने।
संघले कलात्मक स्वतन्त्रताको सम्मान गर्ने बताउँदै पनि धार्मिक सम्मान र सांस्कृतिक सौहार्दको सीमाभित्र रहेर मात्र अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गर्नुपर्नेमा जोड दिएको छ। प्रेस विज्ञप्तिमा भनिएको छ, “सृजनशीलताको स्वतन्त्रता महत्त्वपूर्ण भए पनि धार्मिक आस्थामाथि आघात पुर्याउने किसिमको प्रयोग अस्वीकार्य छ।”
AISBA ले सबै कलाकार, कार्यक्रम आयोजक र सृजनशील समुदायलाई सबै धर्मप्रति सचेतता, सम्मान र संवेदनशीलताका साथ कार्य गर्न आह्वान गरेको छ, ताकि विविध धर्म र परम्पराबीच आपसी शान्ति र सम्मान कायम रहोस्।