हिमाली जिल्ला सोलुखुम्बुमा फोरजी सेवा सुचारु

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा फोरजी सेवा सुचारु भएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावर मध्ये ६ वटा टावर सुचारु भएको नेपाल टेलिकम कार्यालय ओखलढुंगाका प्रमुख दिनेश चन्द्र पन्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोलुदुधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दुधकोशी गाउँपालिकाको कांगेलमा बिहिबार बेलुकीबाट उक्त सेवा सुचारु भएको हो । यस्तै, सोलुदुधकुण्ड नगरपालिकाको सल्लेरी, फाप्लु र खुम्बु पासाङल्हामुको स्याङबोचेमा यसअघि नै सेवा सुचारु भइसकेको टेलिकमले जनाएको छ । क्याम्जे, डाँडाखर्क र गुदेलमा २ दिन भित्रमा सेवा सञ्चालन गर्ने गरि काम भईरहेको कार्यालय प्रमुख पन्थीको भनाई छ ।

उता, छिमेकी जिल्ला खोटाङमा २८ वटा फोर लेग टावर मध्ये चार वटा सुचारु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तरगत देविस्थान, दिक्तेल बजार, खोटेहाङ गाउँपालिकाको सिमपानी र जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा सेवा सुचारु भएको छ ।

यस्तै, केपिलासगढीको बाक्सिला, हलेसी तुवाचुङको च्यास्मिटार, दिक्तेल रुपाकोटको बाम्राङ, बुइपा, दोर्पाआले, दिप्रुङको बतासे, डाँडागाउँ, साकेला गाउँपालिकाको बाँझेच्यान डाँडा र मात्तिम विर्तामा २० दिनभित्रमा सेवा सुचारु हुने गरि काम भइरहेको बताइएको छ ।
यता, ओखलढुंगा जिल्लामा पनि फोर्जी सेवा सुचारु भएको छ । २५ वटा फोर लेग टावर मध्ये ६ वटाबाट फोरजी सेवा सुचारु भएको टेलिकम शाखा कार्यालय ओखलढुंगाले जनाएको छ ।

सिद्धीचरण नगरपालिकाको विरेन्द्र पार्क, तलुवा, ओखलढुंगा बजार, कमेरेडाँडा, रुम्जाटार र मोलुङ गाउँपालिकाको रामपुरमा सेवा सुरु भएको हो । साथै अन्य टावरहरुमा एन्टिना राख्ने कामसँगै लिंक मिलाउने काम भइरहेको पन्थीको भनाई छ ।
-solukhumbu samachar

प्रकाशित मिति २ फाल्गुन २०७७, आईतवार ०९:१८