सिड्नीमा ग्ल्यापो ल्होसार भव्य हुने

सिड्नी, सिड्नीमा ग्ल्यापो ल्होसार भव्य रुपमा मनाइने भएको छ । शेर्पा एसोसिएसन अफ न्यू साउथ वेल्सको आयोजना ग्ल्यापो ल्होसार (चिवालो २१४७) मनाइने भएको हो । रकडेलको इन्द्रेणी फङसन सेन्टरमा मार्च ८ आइतबारका दिन कार्यक्रम आयोजना गरिने एसोसिएसनका अध्यक्ष कर्मा शेर्पाले जानकारी दिए ।

कार्यक्रम साँझ ५ बजेबाट सुरु हुनेछ । कार्यक्रममा सांस्कृतिक नृत्य, खानाको परिकार र भेषभूषाको प्रस्तुति रहनेछ । कार्यक्रमलाई स्थानीय कलाकारले सांगीतिक माहोल बनाउने छन् । यसपटकको ग्ल्यापो ल्होसारलाई व्यापक बनाउने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए । उनले भने, यसपटक कार्यक्रमको प्रचार तथा तयारी राम्रो भएकोले पहिला बर्ष हरु भन्दा ठुलो सन्ख्यामा शेर्पालगायत नेपाली समुदायको सहभागिता हुनेछ । यसअघिका कार्यक्रममा पनि डेढ दुई जनाको सहभागिता भइरहेकै थियो । यसपटक अझ व्यापक बनाउने तयारीमा जुटेका छौं ।

अध्यक्ष शेर्पाले दिएको जानकारी अनुसार सिड्नीमा सन् २००८ देखि नै ग्ल्यापो ल्होसार मनाउन थालिएको हो । त्यसबेला शेर्पा किदुग नाममा ल्होसार मनाइन्थ्यो । सन् २०१९ देखि किदुगलाई एसोसिएनमा रुपान्तरण गरिएको हो । नयाँ पुस्तालाई शेर्पा संस्कृति हस्तान्तरण गर्दै जाने र शेर्पा समुदायको चाँडमा भेला भएर पर्व मनाउने उद्देश्यले प्रवाशमा पनि ग्ल्यापो ल्होसार मनाउने परम्परा बसालिएको अध्यक्ष शेर्पाले बताए ।

प्रकाशित मिति ३ फाल्गुन २०७६, शनिबार १६:०१