✍️ पेम्बा गेलु शेर्पा / ९ अप्रिल २०२५
– बेल्जियमको फ्लान्डर्स सरकारले हालसालै नागरिक समावेशीकरण कार्यक्रम अन्तर्गत डच भाषा सिक्ने स्तरलाई अझ बढाउने निर्णय गरेको छ। अब नयाँ आगन्तुकहरूले बोल्ने डच भाषामा B1 स्तर हासिल गर्नुपर्नेछ, जुन यसअघि अनिवार्य मानिएको A2 स्तर भन्दा एक स्तर माथि हो। Flemish Integration Minister Hilde Crevits ले यो कार्यक्रमलाई घोषणा गर्दै भनिन्, “स्कूल, रोजगारी र दैनिक जीवनमा सहभागी हुनका लागि राम्रो डच भाषा ज्ञान नै सबैभन्दा प्रभावकारी माध्यम हो। त्यसैले हामी बोल्ने भाषागत स्तरलाई B1 मा पुर्याउँदैछौं, र यसका लागि आवश्यक सहयोग पनि उपलब्ध गराउनेछौं।”
फ्लान्डर्सको Social Integration कार्यक्रम नयाँ आगन्तुकहरूलाई समाजमा घुलमिल गराउन र बेल्जियमको बारेमा आधारभुत जानकारी हासिल गर्नका लागि बनाइएको हो। यस कार्यक्रमले भाषा शिक्षा मात्र नभई सामाजिक अभिमुखीकरण, रोजगारीको लागि VDAB वा Actiris जस्ता रोजगार सेवामा दर्ता र स्थानीय समुदायसँग जोड्न पनि मद्दत गर्दछ ।
Dutch भाषाको B1 स्तरमा पुग्न सक्ने व्यक्तिहरूलाई स्वतन्त्र रूपमा संवाद गर्न सक्ने प्रयोगकर्ता मानिन्छ। यसले उनीहरूको रोजगारीको अवसरलाई समेत मजबुत बनाउनेछ। उपलब्ध तथ्यांकअनुसार, A1 स्तरमा पुगेका व्यक्तिहरूको लगभग ४१ प्रतिशत मात्र तीन वर्षपछि रोजगारीमा पुग्छन्, जबकि A2 स्तरमा पुगेका व्यक्तिहरूको रोजगारी दर ५० प्रतिशत हुन्छ। अझ राम्रो कुरा त के छ भने, B1 वा सो भन्दा माथिको स्तरमा पुगेका व्यक्तिहरूको रोजगारी दर ५६ प्रतिशतसम्म पुग्छ।
रोजगारीको ढोका खोल्नु मात्र नभई डच भाषा समाजिक सम्बन्धका लागि पनि महत्त्वपूर्ण रहेको मन्त्री क्रेभिट्सले स्पष्ट पारिन्। उनले थप भनिन्, “डच भाषा सिक्न सक्ने क्षमता धेरै आप्रवासीहरूमा पहिले नै हुन्छ। लगभग ७० प्रतिशत आप्रवासीहरू माध्यमिक तह वा विश्वविद्यालयको शिक्षा पुरा गरिसकेका हुन्छन्। त्यसैले, उचित तालिम र सहयोग प्राप्त भएमा B1 स्तरसम्म पुग्नु सम्भव छ।”
सरकारले अब भाषा सिकाइलाई कक्षाभित्र मात्र सीमित नराखी, बाहिरी अभ्यासको अवसरहरू पनि प्रदान गर्ने योजना बनाएको छ। स्थानीय संघसंस्थामा स्वयंसेवा, रोजगारीको तालिम वा समुदायसँगको अन्तरक्रियाका माध्यमबाट अभ्यासको वातावरण बनाइनेछ। सबै नयाँ आगन्तुकहरूको सुरुवातमा एक अन्तर्वार्ता लिइनेछ, जसबाट उनीहरूलाई कस्तो सहयोग आवश्यक छ भनेर पहिचान गरिनेछ। त्यसपछि उनीहरूलाई व्यक्तिगत आवश्यकता अनुसार मार्गदर्शन प्रदान गरिनेछ। यसरी कार्यक्रमले भाग लिनेहरूलाई प्रेरणा दिई, कार्यक्रम बीचमै छाड्नेहरूको संख्या घटाउने आशा गरिएको छ।
हालको समावेशीकरण कार्यक्रममा सहभागी हुने व्यक्तिहरूको पृष्ठभूमि निकै विविध रहेको मन्त्री क्रेभिट्सले बताइन्। कतिपय अल्पशिक्षित आप्रवासी आमाहरू छन् भने कतिपय शिक्षक, इन्जिनियर, डाक्टर वा अन्य पेशागत अनुभव बोकेका व्यक्तिहरू पनि छन्। त्यसैले, भाषा सिकाइ पनि उनीहरूको क्षमताअनुसार अनुकूलन गरिएको छ। यद्यपि, मन्त्रीले यहि कुरामा पनि जोड दिइन् कि विशेष परिस्थितिका कारणले B1 स्तरसम्म पुग्न असमर्थ देखिने केही व्यक्तिहरूका लागि वैकल्पिक उपाय पनि तयार पारिएको छ। उनीहरूलाई पनि अभ्यासमा आधारित पाठ्यक्रम प्रदान गरिनेछ, जसबाट उनीहरूको भाषा स्तरमा क्रमिक सुधार ल्याउन सकिनेछ।
यस परिवर्तनसँगै फ्लान्डर्स सरकारले भाषा सिकाइको मापदण्डलाई नयाँ उचाइमा पुर्याउँदै समाजमा समावेशी हुन चाहने व्यक्तिहरूका लागि स्पष्ट संकेत दिएको छ की डच भाषा अब केवल औपचारिक आवश्यकता मात्र होइन, पूर्ण सहभागिताको आधार हो।