✍️पेम्बा गेलु शेर्पा/ मे १९ , २०२५

– पोर्चुगलको आइतबार सम्पन्न आम निर्वाचनमा सत्तारुढ centre-right Democratic Alliance (एडी/पीएसडी-सीडीएस) गठबन्धनले ३२% मत प्राप्त गर्दै सबैभन्दा ठूलो राजनीतिक शक्तिको रूपमा आफूलाई कायम राखेको छ। पछिल्लो प्रकाशित नतिजाअनुसार समाजवादी पार्टी (पीएस) ले २३.३८% मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेको छ भने दक्षिणपन्थी चेगा पार्टी २२.५६% मतसहित तेस्रो स्थानमा आएको छ।

राष्ट्रिय निर्वाचन आयोगले ९९ प्रतिशत मतगणना सकिएको जनाएपनि अन्तिम नतिजा प्रकाशित गर्न बाँकी छ ।  ९९% मतगणना सम्पन्न हुँदा चेगा र समाजवादी पार्टीले नयाँ संसदमा समान ५८ सिट प्राप्त गर्ने देखिएको छ। यद्यपि, एडी गठबन्धनले बहुमत प्राप्त गर्न नसकेकाले उसले साना दलहरूको समर्थन जुटाउने प्रयास गर्नुपर्ने वा पछिल्लो कार्यकालमा जस्तै अल्पमतको सरकार बनाउनुपर्ने अवस्था छ। अल्पमत सरकारको अवस्थामा विपक्षी दलहरूले एकजुट भएर सरकार ढाल्न सक्ने जोखिम रहन्छ, जुन दुई महिनाअघि नै देखिएको थियो।

यो निर्वाचन पोर्चुगलको संसदले गत वर्ष मार्च २०२४ मा भएको अघिल्लो निर्वाचनबाट बनेको एडी/पीएसडी-सीडीएस गठबन्धनको अल्पमत सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित गरेपछि भएको हो। प्रधानमन्त्री लुइस मोन्टेनेग्रो र उनको पारिवारिक कम्पनी स्पिनम्भिभासँग जोडिएको विवादका कारण चेगा र कम्युनिस्ट पार्टी (पीसीपी) ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। यो विवादले सार्वजनिक र राजनीतिक पदाधिकारीहरूको असंगतता र निषेधसम्बन्धी नियमको पालना नभएको प्रश्न उठाएको थियो।

विशेष गरी युरोपेली संघको २२ अर्ब युरोभन्दा बढीको विकास कोष लगानीको योजना बनिरहेको बेला भएको यो निर्वाचनले पोर्चुगलमा राजनीतिक अनिश्चिततालाई थप गहिरो बनाएको छ। बारम्बारको निर्वाचनप्रति मतदाताको असन्तुष्टिले दक्षिणपन्थी चेगा पार्टीलाई फाइदा पुगेको छ, जसले दुई प्रमुख परम्परागत दलहरूप्रतिको निराशालाई आफ्नो पक्षमा उपयोग गरेको छ। गत वर्षको निर्वाचनमा तेस्रो स्थान हासिल गरेको चेगा युरोपमा बढ्दो पपुलिज्मको लहरसँगै उदाएको शक्ति हो।

प्रधानमन्त्री मोन्टेनेग्रो, जो पुन: निर्वाचनमा उम्मेदवार छन्, आफ्नो पारिवारिक कानुन फर्मको व्यवसायमा हितको द्वन्द्व भएको आरोपको खण्डन गर्दै आएका छन्। उनले सन् २०२२ मा पीएसडीको नेता बनेपछि आफ्नी पत्नी र छोराछोरीलाई फर्मको नियन्त्रण सुम्पिएको र त्यसको सञ्चालनमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। समाजवादी पार्टीले भने मोन्टेनेग्रोको आचरणमाथि संसदीय छानबिनको माग गरेको छ।

एडी गठबन्धनले सरकार गठनका लागि साना दलहरूको समर्थन जुटाउने सम्भावना कम देखिन्छ। अल्पमत सरकार बनाएमा विपक्षी दलहरूको गठजोडले सरकारलाई अस्थिर बनाउन सक्छ। चेगाको उदयले पोर्चुगलको राजनीतिक परिदृश्यमा नयाँ चुनौती थपेको छ, जसले आगामी दिनमा थप जटिलता निम्त्याउन सक्छ।

आप्रवासन नीतिमा सम्भावित प्रभाव

पोर्चुगलमा नेपाली आप्रवासीहरूको संख्या, विशेष गरी सेवा क्षेत्र र कृषिमा, पछिल्लो दशकमा बढ्दो छ। चेगा पार्टीको उदयले आप्रवासन नीतिमा कडाइको सम्भावना बढाएको छ। Chegaले आप्रवासनमा कडा नियन्त्रण र एकीकरणका लागि कठोर मापदण्डको वकालत गर्दै आएको छ, जसले नेपाली कामदारहरूलाई भिसा र रोजगारीमा थप चुनौती थप्न सक्छ। यद्यपि, एडीले आप्रवासनलाई आर्थिक आवश्यकतासँग सन्तुलन गर्ने नीति अपनाउँदै आएको छ, विशेष गरी पर्यटन र कृषिमा विदेशी कामदारहरूको योगदानलाई स्वीकार्दै। यदि एडीले लिबरल इनिसियटिभ वा लिभ्रेसँग गठबन्धन गरेमा, आप्रवासन नीति उदार रहन सक्छ, तर चेगाको प्रभावले कडा नीतिहरूतर्फ धकेल्न सक्छ। नेपाली आप्रवासीहरूले भिसा नवीकरण र श्रम बजारमा पहुँचमा सम्भावित परिवर्तनहरूको नजिकबाट निगरानी गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय