✍️ पेम्बा गेलु शेर्पा/२४ जुन २०२५

— बेल्जियम बुधबार पुनः एक पटक देशव्यापी हड्तालको चपेटामा पर्ने भएको छ। संघीय सरकारले ल्याएको बजेट कटौतीको विरोधमा सार्वजनिक तथा निजी क्षेत्रका मजदूरहरूले संयुक्तरूपमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। हड्तालको प्रभाव राजधानी ब्रसेल्सदेखि देशभर हुने जनाएका छन ।

तीन प्रमुख श्रमिक संगठनहरू — समाजवादी ABVV-FGTB, ख्रीष्टियन ACV-CSC र उदारवादी CGSLB-ACLVB — ले संयुक्तरूपमा यो हड्तालको आह्वान गरेका हुन्। पछिल्लो केहि महिनाको हड्तालमा सहभागी नभएको उदारवादी यूनियनले समेत यसपटक विरोधमा साथ दिने घोषणा गरेको छ।

श्रमिक यूनियनहरूका अनुसार सरकारको नीति सामाजिक सुरक्षामाथिको आक्रमण हो। “जसरी ज्याला स्थिर पारिएको छ, सार्वजनिक सेवामा कटौती गरिएको छ, तर अर्कोतर्फ कम्पनीहरूको मुनाफा बढ्दो छ र असमानता चुलिंदै गएको छ,” ABVV-FGTB को वक्तव्यमा भनिएको छ।

ब्रसेल्समा विशाल प्रदर्शनको तयारी/फोहोर व्यवस्थापन र न्याय प्रणालीमा समेत असर हुने

बुधबार बिहान १० बजे ब्रसेल्स नर्थ स्टेशनमा हजारौं प्रदर्शनकारी जम्मा हुने अनुमान गरिएको छ। उनीहरू त्यहाँबाट जुलुससहित शहर परिक्रमा गर्दै मिडी स्टेशन नजिक पुग्नेछन्। यस प्रदर्शनमा देशभरका मजदूरहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

हड्तालको सबैभन्दा ठूलो असर हवाई यातायातमा देखिनेछ। सुरक्षा कर्मचारीहरूको काम बहिष्कारका कारण बुधवार ब्रसेल्स एयरपोर्टबाट सबै उडानहरू रद्द गरिएका छन्। आगमनतर्फ भने २६१ मध्ये १०३ उडानमात्र सञ्चालन हुने जनाइएको छ। Charleroi एयरपोर्ट पूर्ण रूपमा बन्द हुनेछ। यात्रुहरूलाई एयरलाइन्स वा एयरपोर्टको वेबसाइटमार्फत जानकारी लिन अनुरोध गरिएको छ।

ब्रसेल्सको ट्रान्सपोर्ट एजेन्सी STIB/MIVB ले मेट्रो, ट्राम र बस सेवामा गम्भीर असर पर्ने जनाएको छ। केवल मेट्रो लाइन १ (Erasme/Erasmus सम्म) र केही सीमित ट्राम/बस मात्र चल्न सक्नेछ। यद्यपि यसबारे बुधवार बिहान ६ बजेसम्म पक्का जानकारी आउन सक्नेछ। फ्लेमिश ट्रान्सपोर्ट कम्पनी De Lijn ले भने सामान्य सेवा दिने अपेक्षा गरेको छ, तर केही सब-कन्ट्र्याक्टरहरूले हड्तालमा सहभागी हुन सक्ने जनाइएको छ। वालोन क्षेत्रको TEC कम्पनीले पनि विभिन्न सेवाहरू प्रभावित हुन सक्ने बताएको छ।

राष्ट्रिय रेल सेवा SNCB/NMBS ले हड्तालको सूचना नपाएको जनाए पनि ब्रसेल्स आवतजावत गर्ने यात्रुको चाप अत्यधिक हुने चेतावनी दिएको छ। प्रमुख स्टेशनहरूमा सुरक्षा कर्मचारीहरूको उपस्थिति रहनेछ र आवश्यक परेमा भीड व्यवस्थापन गर्न प्लेटफर्म प्रवेशमा रोक लगाइनेछ। यूरोस्टार ट्रेन सेवा सामान्य रहनेछ। अन्य अन्तर्राष्ट्रिय रेलहरू प्रभावित हुने वा नहुने भन्ने अझै स्पष्ट छैन।

ब्रसेल्सको फोहोर संकलन सेवामा पनि प्रभाव पर्ने सम्भावना रहेको छ। फोहोरको बोरा, ठूलो परिमाणको फोहोर र रिसाइकल केन्द्रहरू प्रभावित हुन सक्ने जनाइएको छ। स्थानीय बासिन्दाहरूलाई सामान्यअनुसार फोहोर बाहिर राख्न भनिएको छ, हड्तालपछि सेवामा पुनः व्यवस्था गरिनेछ। न्याय क्षेत्रमा पनि असर पर्नेछ। विशेषतः फ्रेन्च भाषी अदालतमा बिहान ९ देखि ११ बजेसम्मका सुनुवाइहरू स्थगित गरिनेछन्। सोही समयमा न्याय भवन अगाडि प्रदर्शन हुने भएकाले अध्यक्ष र मुख्य सचिवले समर्थन जनाएका छन्।

सैन्ट-गिल्सजस्ता केही नगरपालिकाले बुधबार सबै प्रशासनिक सेवा (नागरिकता, बसोबास, जनसंख्या सेवा आदि) बन्द रहने जनाएका छन्। बासिन्दाहरूलाई आ-आफ्नो नगरपालिकाको वेबसाइट हेर्न सल्लाह दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय