
पेम्बा गेलु शेर्पा/ बेल्जियम, २२ जुलाई २०२५
– गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियममा दुई समानान्तर अधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। काङ्ग्रेस-माओवादी समर्थित सीता सापकोटा समूह र एमाले समर्थित लोकेन्द्र नेपाल समूहले आ-आफ्नो अधिवेशनको तयारीलाई तीव्रता दिएका छन्।
गत निर्वाचनबाट निर्वाचित अध्यक्ष सीता सापकोटाको नेतृत्वमा रहेको समूहले १७ अगस्ट २०२५ मा अधिवेशन गर्ने घोषणा गरिसकेको छ। तर सापकोटा नेतृत्वको कमिटीले अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को निर्देशन पालना नगरेको आरोप लगाउँदै एमाले समर्थित बद्री केसी समूहले उक्त कमिटीलाई विघटन गरेको घोषणा गरेको थियो। सोही निर्णयअनुसार, लोकेन्द्र नेपाल संयोजक रहेको नयाँ समूहले २७ जुलाईमा अधिवेशन गर्ने औपचारिक घोषणा गरिसकेको छ।
यी दुई समूहको गतिविधिले बेल्जियममा दुईवटा समानान्तर एनआरएनए कमिटीहरू गठन हुने निश्चित भएको छ। बेल्जियममा रहेका नेपालीहरूको साझा संस्थाको रूपमा स्थापित एनआरएनएको नैतिक धरातललाई कमजोर बनाउँदै, यी समूहहरूले काङ्ग्रेस-माओवादी एनआरएनए र एमाले एनआरएनएको रूपमा समाजलाई विभाजन गर्ने स्पष्ट उद्देश्य राखेको देखिन्छ।
हुन त दुबै पक्षले आ–आफ्ना प्रचार सामग्री र ब्यानरहरूमा “गैरआवासीय नेपालीहरूको एकता” जस्ता आदर्शवादी नारा उल्लेख गरेका छन्। तर व्यवहारमा देखिएको विभाजनकारी गतिविधि र आपसी स्वार्थपुर्ण प्रतिस्पर्धाले ती नाराहरू नै उनीहरूलाई गिज्याइरहेको जस्तो देखिन्छ। शब्दमा एकता र व्यवहारमा विघटनको यस्तो द्वैध चरित्रले संस्थाको विश्वसनीयता र उद्देश्यमा गम्भीर प्रश्न उठाएको छ।
यसै सन्दर्भमा, बेल्जियमस्थित केही युवा समूहले २१ जुलाईमा दुई पक्षलाई एउटै मञ्चमा ल्याई संवाद गर्ने प्रयास गरेका थिए। तर, राजनीतिक खिचातानी, व्यक्तिगत अहंकार र अग्रज नेताहरूको आत्मकेन्द्रित स्वार्थका कारण उक्त कार्यक्रम अन्तिम समयमा स्थगित हुन पुगेको आयोजकहरूद्वारा जानकारी दिइएको छ।
यी गतिविधिहरूले अहिले बेल्जियमको नेपाली समुदाय गम्भीर विभाजनको मोडमा उभिएको छ। सबैलाई समेट्ने, नेपाली प्रवासी हितमा काम गर्ने, र मूल उदेश्य अनुसार अघि बढ्ने संस्था बन्नुपर्ने एनआरएनए अहिले पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थपुर्ण प्रतिस्पर्धाको अखडा बन्न पुगेको देखिन्छ। जसले गर्दा संस्थाको मूल उद्देश्यमाथि नै गम्भीर प्रश्नचिह्न खडा भएको छ।