सेप्टेम्बर २०, शनिबार

– युरोपका प्रमुख विमानस्थलहरूमा ठूलो साइबर आक्रमणका कारण चेक–इन र बोर्डिङ प्रणाली ठप्प भएपछि हवाई यातायातमा व्यापक अवरोध देखिएको छ। प्रभावित विमानस्थलहरूमा बेल्जियमको ब्रसेल्स एयरपोर्ट, बेलायतको लन्डन हीथ्रो एयरपोर्ट र जर्मनीको बर्लिन ब्रान्डेनबर्ग एयरपोर्ट प्रमुख हुन्।

ब्रसेल्स एयरपोर्टले आफ्नो आधिकारिक वेबसाइटमार्फत जानकारी दिँदै भन्यो, “शुक्रबार राति १९ सेप्टेम्बरमा चेक–इन र बोर्डिङ प्रणाली उपलब्ध गराउने सेवा प्रदायक कम्पनीमाथि साइबर आक्रमण भएको थियो। त्यसकारण, प्रभावित विमानस्थलहरूमा यात्रुहरूलाई म्यानुअल चेक–इन र बोर्डिङमार्फत मात्रै सुविधा दिनु परेको छ।”

यो आक्रमण प्रत्यक्ष रूपमा कुनै विमानस्थल वा एयरलाइनमाथि नभई, विश्वव्यापी रूपमा यात्रुहरूलाई चेक–इन, बोर्डिङ पास र ब्याग ट्याग उपलब्ध गराउने Collins Aerospace नामक कम्पनीमाथि भएको हो। कम्पनीले यसलाई “साइबरसम्बन्धी अवरोध” भन्दै आफ्नो सफ्टवेयर केही विमानस्थलमा अस्थायी रूपमा काम नगरेको स्वीकार गरेको छ।

ब्रसेल्स एयरपोर्टका प्रवक्ता इहसान चिउआ लेख्लीले स्थानीय मिडियालाई बताए अनुसार शनिबार बिहान मात्रै ९ उडान रद्द, ४ उडान अन्य विमानस्थल तर्फ मोडिएको र कम्तीमा १५ उडान एक घण्टा ढिलो प्रस्थान गरेका छन्। साथै, ३५,००० यात्रु शनिबार ब्रसेल्स एयरपोर्टबाट प्रस्थान गर्ने अपेक्षा गरिएको थियो। यात्रुहरूको भीड नियन्त्रण गर्न र आकस्मिक रद्द रोक्न आइतबारका आधा उडान रद्द गर्ने निर्णय गरिएको पनि विमानस्थलले जनाएको छ।

बर्लिन ब्रान्डेनबर्ग एयरपोर्टमा भने उडान रद्द नभए पनि यात्रुहरूले लामो समय पर्खनु पर्ने अवस्था आएको छ। विमानस्थलले प्रभावित प्रणालीहरूसँगको सम्पर्क काटिएको र यात्रुहरूलाई ढिलाइ तथा अतिरिक्त प्रतीक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ।

युरोपकै सबैभन्दा व्यस्त लन्डनको हीथ्रो एयरपोर्टमा भने स्थिति तुलनात्मक रूपमा सहज रहेको जनाइएको छ। त्यहाँ कुनै उडान रद्द नभई सानो मात्र अवरोध भएको विमानस्थल प्रशासनले जनाएको छ।

यस प्रकारको साइबर आक्रमणले अन्तर्राष्ट्रिय विमानस्थलहरूको सूचना प्रविधि प्रणाली कति संवेदनशील र असुरक्षित हुन सक्छ भन्ने प्रश्न पुनः उठाएको छ। विशेषज्ञहरूले हवाई सुरक्षा मात्र नभई डिजिटल पूर्वाधारको सुरक्षामा पनि गम्भीर ध्यान दिनुपर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय