– ११ मे २०२६/बेल्जियम ।

– विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाल पत्रकार महासंघ बेल्जियम शाखाले आइतबार बेल्जियमको आन्त्वेर्पेन शहरमा “प्रवासी भूमिमा प्रेस स्वतन्त्रता : नेपाली पत्रकारहरूको भूमिका” विषयक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रेस स्वतन्त्रता, सामाजिक सञ्जालको प्रभाव, फेक न्युजको चुनौती तथा प्रवासी नेपाली पत्रकारिताको वर्तमान अवस्था र भविष्यबारे गहन विमर्श गरिएको थियो।

कार्यक्रमको उद्घाटन बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्साल ले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। नेपाली राष्ट्रगानसँगै सुरु भएको कार्यक्रममा महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा र राजदूत लम्सालले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो। छोटो तयारीमै आयोजना गरिएको कार्यक्रममा बेल्जियमस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, पत्रकार तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा ले व्यावसायिक पत्रकारितामा सम्पादकीय प्रणालीको महत्वमाथि जोड दिनुभयो। तथ्यहीन र अपुष्ट सूचनाले समाजमा गम्भीर असर पार्न सक्ने उल्लेख गर्दै उहाँले एक गलत सूचनाले समेत द्वन्द्वको अवस्था सिर्जना गर्न सक्ने चेतावनी दिनुभयो। सामाजिक सञ्जालमा ‘भाइरल’ बन्ने उद्देश्यले जथाभावी सामग्री प्रकाशन गर्ने प्रवृत्ति बढिरहेको भन्दै उहाँले व्यावसायिक पत्रकारिता र अनियन्त्रित सामाजिक सञ्जाल सामग्रीबीच स्पष्ट भिन्नता रहेको धारणा राख्नुभयो।

उहाँले अन्तर्राष्ट्रिय पत्रकार महासंघ (IFJ) मा समेत अफवाह र गलत सूचनाको जोखिमबारे गम्भीर छलफल भइरहेको जानकारी दिँदै नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। साथै, पत्रकारहरूलाई प्रेस स्वतन्त्रताको रक्षा गर्दै पत्रकारिताको मर्यादा जोगाउन सचेत रहन आग्रह गर्नुभयो।

अन्तरक्रियामा सहभागी पत्रकार प्रतिक लामिछाने ले महासंघको आगामी अधिवेशनले बेल्जियम मात्र नभई सम्पूर्ण बेनेलक्स क्षेत्रलाई समेट्ने गरी संगठन विस्तार गर्नुपर्ने प्रस्ताव राख्नुभयो। सहभागीहरूले पत्रकारितामा बढ्दो राजनीतिक आबद्धता र त्यसबाट सिर्जित ‘इन्ट्रेस्ट अफ कन्फ्लिक्ट’प्रति चिन्ता व्यक्त गर्दै तथ्यपरक र उत्तरदायी पत्रकारितामा जोड दिनुपर्ने धारणा राखे। सूचना र विज्ञापनबीचको सीमारेखा धमिलिँदै गएको तथा सामाजिक सञ्जालमार्फत तथ्यहीन सामग्रीको तीव्र प्रसारले समुदाय अन्योलमा परेको उनीहरूको भनाइ थियो।

प्रेस युनियनका महासचिव दिलिप पौडेल तथा उपमहासचिव दिलिपाश्री अधिकारी ले सूचनाको अत्यधिक प्रवाहबीच तथ्यमा आधारित समाचार र ‘फेक न्युज’ छुट्याउन सक्ने क्षमता पत्रकारमा अपरिहार्य भएको धारणा राख्नुभयो।

प्रमुख अतिथि राजदूत सेवा लम्सालले प्रवासमा रहेका पत्रकारहरूले आफ्नो समय, श्रम र स्रोत खर्चिएर समुदायलाई सूचना सेवा प्रदान गरिरहेको उल्लेख गर्दै त्यसप्रति आभार व्यक्त गर्नुभयो। उहाँले दूतावास र प्रवासी पत्रकारबीच सहकार्य तथा समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै महासंघ बेल्जियम शाखाका उपाध्यक्ष डिल्ली अम्माई ले पत्रकारिता समाजको सचेतना र जिम्मेवारीसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यस्ता अन्तरक्रियाले समुदायमा सकारात्मक बहसको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।

समापन मन्तव्यमा अध्यक्ष ओम शर्माले पत्रकारले आफ्नो व्यावसायिक विवेक, सम्पादकीय मर्यादा र सामाजिक उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। पत्रकारिता सत्य, विश्वसनीयता र जिम्मेवारीमा आधारित हुनुपर्ने उल्लेख गर्दै उहाँले “सूचनाको डढेलोबाट समुदाय जोगाउनु नै आजको पत्रकारिताको मूल धर्म हो” भन्ने धारणा व्यक्त गर्नुभयो।

प्रवासी नेपाली पत्रकारिताको अवस्था, चुनौती र भविष्यबारे केन्द्रित उक्त कार्यक्रमले बेल्जियमस्थित नेपाली समुदायमा पत्रकारितासम्बन्धी सकारात्मक बहस, सहकार्य र उत्तरदायी सञ्चार संस्कृतिको नयाँ आधार निर्माण गरेको सहभागीहरूको निष्कर्ष थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय