बुखारेस्ट (रोमानिया) — रोमानियामा क्रियाशील शेर्पा समुदायले आफ्नो सामाजिक र सांस्कृतिक यात्रामा एक ऐतिहासिक फड्को मारेको छ । लामो समयदेखि ‘शेर्पा किदुग’ का रूपमा सामाजिक कार्यमा सक्रिय रहँदै आएको यस संस्थाले आफ्नो नाम परिमार्जन गरी ‘शेर्पा समुदाय संघ’ राख्दै रोमानिया सरकारबाट आधिकारिक कानुनी मान्यता प्राप्त गरेको छ । यो वैधानिक मान्यतासँगै रोमानियामा बसोबास गर्ने शेर्पा समुदायको हक, हित र पहिचानलाई संस्थागत गर्ने बाटो खुलेको छ ।
संस्थाका अध्यक्ष ल्हाक्पा तेन्जी लामाका अनुसार, नाम परिवर्तन र कानुनी दर्तासँगै संघको कार्यक्षेत्र अब अझ फराकिलो र व्यवस्थित हुनेछ । विगतमा अनौपचारिक रूपमा सञ्चालित गतिविधिहरूलाई अब राज्यको कानुनी परिधिभित्र रहेर अगाडि बढाइनेछ । यस संघको स्थापनाको मूल ध्येय प्रवासको भूमिमा रहेर पनि आफ्नो पुर्ख्यौली भाषा, अद्वितीय कला, धर्म, संस्कृति र परम्परालाई जीवन्त राख्नु रहेको छ । रोमानियाका विभिन्न सहर र पेशामा छरिएर रहेका शेर्पा समुदायलाई एउटै साझा मञ्चमा गोलबद्ध गर्दै उनीहरूको मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्नु संघको मुख्य प्राथमिकता रहने अध्यक्ष लामाले स्पष्ट पार्नुभयो
सांस्कृतिक संरक्षणका अतिरिक्त, संघले सामाजिक उत्तरदायित्व र समुदायको सशक्तीकरणलाई पनि उत्तिकै महत्व दिएको छ । रोमानियामा कार्यरत शेर्पा नागरिकहरूबीच आपसी भाइचारा, सहयोग र एकताको भावना अभिवृद्धि गर्न संघले सेतुको भूमिका खेल्ने विश्वास लिइएको छ । समुदायभित्र आइपर्ने समस्याहरूको समाधानका लागि सामूहिक पहल गर्ने, सहयोगमूलक अभियानहरू सञ्चालन गर्ने र उपलब्धिमूलक कार्यक्रमहरूमार्फत सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य संघले लिएको छ ।
आगामी कार्यदिशाका बारेमा जानकारी दिँदै अध्यक्ष लामाले संघले छिट्टै नै एक विस्तृत कार्ययोजना सार्वजनिक गर्ने तयारी गरिरहेको बताउनुभयो । उक्त कार्ययोजनामा सांस्कृतिक उत्सवहरूको आयोजना, नयाँ पुस्तालाई आफ्नो संस्कारबारे शिक्षा दिने कार्यक्रमहरू र समुदायमुखी सामाजिक गतिविधिहरू समावेश गरिनेछन् । रोमानियामा नेपाली डायस्पोराको उपस्थिति बढ्दै गइरहेको वर्तमान अवस्थामा, यस प्रकारको वैधानिक संस्थाको स्थापनाले समग्र नेपाली समुदायकै प्रतिष्ठा बढाउन र एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
Source:europati