दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

हिजो शनिबार बिहान करिब ७ः५६ बजे जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा रहेको सुँगुर फार्मको फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीमा श्रमिक फसेको भन्दै स्थानीय प्रहरीलाई सूचना प्राप्त भएको थियो । जेजु अग्नि सुरक्षा मुख्यालय र जेजु पश्चिमी प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार ३० वर्ष आसपासका भियतनामी श्रमिक ट्यांकीभित्र जडान गरिएको पानीमुनिको पम्पमा समस्या आएको छ कि छैन भनेर जाँच गर्न ट्यांकीभित्र प्रवेश गरेका थिए ।

उनी ट्यांकीभित्र समस्यामा परेपछि उनलाई उद्धार गर्न नेपाली श्रमिक विकास शेर्पा पनि ट्यांकीभित्र प्रवेश गरेका थिए । उक्त ट्यांकी करिब ५ मिटर लम्बाइ, ५ मिटर चौडाइ र ५ मिटर उचाइको रहेको थियो । ट्यांकीको करिब ५० प्रतिशत भाग मलमूत्रलगायत फोहोर पदार्थले भरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाको सूचना प्राप्त भएको करिब ५० मिनेटपछि उद्धार टोलीले दुबै श्रमिकलाई ट्यांकीबाट बाहिर निकालेको थियो । भियतनामी श्रमिकलाई बिहान ८ः४७ बजे र नेपाली श्रमिकलाई ८ः५७ बजे ह्दय गति बन्द भएको अवस्थामा उद्धार गरिएको थियो ।
दुबैलाई तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा दुई जनाकै मृत्यु भएको जनाइएको छ । प्रहरीले ट्यांकीभित्रको अवस्था र दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ । ट्यांकीभित्र श्रमिक प्रवेश गर्नुपर्ने अवस्था, कार्यस्थलमा अपनाइएको सुरक्षा व्यवस्था तथा आवश्यक सुरक्षा उपकरणको अवस्था लगायतका विषयमा सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

ट्यांकीभित्रको ग्यास वा अन्य जोखिमका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिए पनि घटनाको वास्तविक कारण भने अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ । जेजुको यो घटनाबाट दक्षिण कोरियामा कार्यरत विदेशी श्रमिकका लागि जोखिमपूर्ण कार्यस्थलमा आवश्यक सुरक्षा सावधानी, सुरक्षा उपकरणको प्रयोग र आपतकालीन उद्धार व्यवस्थालाई थप प्रभावकारी बनाउनु पर्ने आवश्यकता देखिएको छ ।

source: The chosun daily

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय