पेम्बा गेलु शेर्पा /२१ अगस्ट ।
– युरोपेली केन्द्रीय बैंक (ECB) ले तयारी गरिरहेको डिजिटल युरो आगामी वर्षहरूमा सार्वजनिक हुने सम्भावना बढ्दै गएको छ। यो मुद्रा कुनै निजी बैंक वा क्रिप्टोकरेन्सी होइन, बरु युरोपेली केन्द्रीय बैंकले सीधै जारी गर्ने डिजिटल पैसा हो। नगदसँगै चल्ने यस प्रणालीलाई युरोपको भुक्तानी जगतमा ठूलो परिवर्तनको संकेतका रूपमा हेरिएको छ।
डिजिटल युरो के हो?
डिजिटल युरो भनेको यूरो नगद (नोट र सिक्का) को डिजिटल संस्करण हो। प्रयोगकर्ताले यसलाई मोबाइल वालेट वा बैंकमार्फत सजिलै प्रयोग गर्न सक्नेछन्। यसलाई अनलाइन मात्र नभई अफलाइन कारोबारमा पनि प्रयोग गर्न सकिने गरी विकास भइरहेको छ। युरोपेली केन्द्रीय बैंकले भनेको छ, “डिजिटल युरोले यूरोपेली नागरिकलाई सुरक्षित र विश्वसनीय डिजिटल पैसा दिनेछ। यो नगदको विकल्प होइन, पूरक हो।”
डिजिटल युरो आवश्यक हुने प्रमुख कारणहरू धेरै छन्। पहिलो, यूरोपको भुक्तानी प्रणाली हाल प्रायः Visa, Mastercard, PayPal जस्ता अमेरिकी कम्पनीमा निर्भर छ। डिजिटल युरोले यूरोपलाई आफ्नै स्वतन्त्र भुक्तानी पूर्वाधार दिनेछ। दोस्रो, यसले नागरिकलाई सुरक्षित र जोखिममुक्त पैसा उपलब्ध गराउनेछ, किनकि यो केन्द्रीय बैंकको सीधा ग्यारेन्टीमा आधारित हुनेछ। तेस्रो, यसलाई बैंक खाता नभएकाले पनि प्रयोग गर्न सक्ने सुविधा हुनेछ। ग्रामीण वा कमजोर इन्टरनेट भएका क्षेत्रमा समेत अफलाइन प्रयोग गर्न मिल्ने गरी यसलाई डिजाइन गरिँदैछ। चौथो, डिजिटल युरोले नयाँ प्रविधि प्रयोगलाई प्रोत्साहन गर्ने र कारोबार शुल्क कम गर्नेछ। साथै, प्रयोगकर्ताको गोपनीयता सुरक्षित राखिनेछ र निजी कम्पनीहरूले व्यक्तिगत डाटा दुरुपयोग गर्न नपाउने सुनिश्चितता गरिनेछ।
डिजिटल युरोको तयारी चरण लामो प्रक्रियाबाट गुज्रिरहेको छ। युरोपेली केन्द्रीय बैंकले सन् २०२१ मा अनुसन्धान चरण सुरु गरेको थियो। हाल तयारी चरण (सन् २०२३ देखि २०२५) चलिरहेको छ। २०२५ को अन्त्यतिर ECB को गभर्निङ काउन्सिलले अर्को चरणबारे निर्णय गर्नेछ। त्यसपछि २०२६ भित्र युरोपेली संसद र परिषदले कानुनी ढाँचा पास गर्ने अपेक्षा गरिएको छ। सबै प्राविधिक तयारी पूरा भएपछि, डिजिटल युरो सन् २०२८ देखि २०२९ बीच जनतामा ल्याउने लक्ष्य राखिएको छ।
डिजिटल युरो आउँदा नगद हट्ने हो कि भन्ने प्रश्न पनि उठिरहेको छ। तर ECB ले स्पष्ट गरेको छ कि डिजिटल युरो नगदको सट्टा होइन, पूरक हो। यूरो नोट र सिक्का अहिले जस्तै चलिरहनेछन्। यूरोपेली संघले नगद प्रयोग गर्ने अधिकारलाई कानुनमार्फत सुरक्षित राखिसकेको छ, जसले गर्दा प्रत्येक नागरिकले आफ्नो इच्छाअनुसार नगद वा डिजिटल दुवै प्रयोग गर्न सक्नेछन्।
डिजिटल युरो आउनु भनेको युरोपेली अर्थतन्त्रलाई भविष्यमा सुरक्षित र आधुनिक बनाउनुपर्ने आवश्यकता हो। यसले भुक्तानी प्रणालीलाई पारदर्शी, सस्तो र विश्वसनीय बनाउन सहयोग गर्नेछ। तर यसले कुनै पनि हालतमा नगदको अन्त्य गर्ने होइन। बरु यसले नागरिकलाई नगदसँगै अर्को विकल्प थप्नेछ, जसले युरोपमा भुक्तानी प्रणालीलाई अझ आधुनिक र सहज बनाउने अपेक्षा गरिएको छ।