✍️ पेम्बा गेलु शेर्पा / ९ अप्रिल २०२५

– नेपाल सरकारको निर्णयअनुसार लिस्बनमा स्थापना गरिएको नेपाली राजदूतावासले आगामी बुधबार, १६ अप्रिल २०२५ देखि औपचारिक रूपमा आफ्नो कन्सुलर तथा अन्य सेवा सञ्चालन गर्ने भएको छ। यसका लागि आवश्यक पूर्वाधार र कूटनीतिक कर्मचारीहरुको आगमन भइसकेको छ र सम्पूर्ण तयारी पूरा भएको राजदूतावासले जनाएको छ।

यसअघि लिस्बनमा अस्थायी रूपमा घुम्ती कन्सुलर शिविरमार्फत सेवा प्रदान गरिँदै आएको थियो भने स्थायी कामहरु पेरिसस्थित नेपाली राजदूतावासमार्फत हुँदै आएका थिए। अबदेखि सम्पूर्ण कन्सुलर सेवा, प्रमाणिकरण कागजात, राहदानी वितरण तथा अन्य सेवाहरु लिस्बनस्थित राजदूतावासबाटै उपलब्ध हुनेछन्।

लिस्बनको Rua Pero de Alenquer 29, 1400-069, Lisboa, Portugal मा रहेको राजदूतावासले सेवा लिन चाहने नेपाली नागरिकहरुलाई आवश्यक तयारी पुरा गर्न र आफूले गर्नुपर्ने कार्यहरू सुचारु रुपमा अघि बढाउन अनुरोध गरेको छ।

यसबाहेक, ११ अप्रिल २०२५ शुक्रबारदेखि नै तत्काल कागजात प्रमाणिकरण लगायत सीमित सेवाहरू लिन सकिनेछ। यस्ता सेवाहरूका लागि राजदूतावासको बैंक खातामा शुल्क जम्मा गरिसकेपछि मात्र सेवा उपलब्ध गराइनेछ। तत्काल सेवा लिने सेवाग्राहीहरुले भुक्तानी प्रमाण देखाएर सेवा लिनुपर्नेछ।

अझ विस्तृत जानकारी र अन्य अपडेटको लागि नेपाली नागरिकहरुलाई राजदूतावासको आधिकारिक वेबसाइट https://pt.nepalembassy.gov.np हेर्न वा कुनै आवश्यक जानकारी, सुझाव वा गुनासोका लागि इमेल eonlisbon@mofa.gov.np मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

राजदूतावासको स्थापनासँगै पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायका लागि सेवा पाउन सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय