✍️ पेम्बा गेलु शेर्पा/१९ फेब्रुअरी, बेल्जियम
– हिमाली बौद्ध धर्मावलम्बीहरूको महान् पर्व ग्याल्पो लोसार २१५३ को अवसर पारेर रोमानियामा विशेष सांस्कृतिक तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिने भएको छ। शेर्पा किदुग रोमानियाले हरेक वर्षझैँ यस वर्ष पनि नेपाली समुदायलाई एकताबद्ध बनाउने उद्देश्यसहित भव्य कार्यक्रमको तयारी गरेको जनाएको छ।
आयोजक संस्थाका अध्यक्ष ल्हाक्पा तेन्जी लामा शेर्पाका अनुसार कार्यक्रम आगामी २२ फेब्रुअरी २०२६, आइतबार बिहान १० बजेदेखि साँझ ८ बजेसम्म बुखारेस्टको सेक्टर–२ स्थित रेस्टुरेन्ट ईस्टमा सञ्चालन हुनेछ। कार्यक्रममा परम्परागत लोसार संस्कृतिलाई झल्काउने नृत्य, गीत–संगीत, सामूहिक शुभकामना आदान–प्रदान तथा समुदायबीच भेटघाटका विविध कार्यक्रम समावेश गरिने तयारी गरिएको छ।
अध्यक्ष शेर्पाले विदेशमा बसोबास गरिरहेका नेपालीहरूबीच आपसी सद्भाव, सहकार्य र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै आइएको बताए। उनले लोसारको खुशीयाली सँगै मनाउन रोमानियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा पनि दिएका छन्।
ग्याल्पो लोसार मन्जुश्री पात्रोअनुसार नयाँ वर्षको सुरुआतको प्रतीक पर्व हो, जसले पुरानो वर्षका दुःख–कष्टलाई विदाइ गर्दै नयाँ आशा, ऊर्जा र समृद्धिको स्वागत गर्ने सन्देश दिन्छ। परम्परागत रूपमा हिमाली क्षेत्रमा धार्मिक पूजाआजा, सांस्कृतिक नृत्य, पारिवारिक जमघट तथा सामूहिक उत्सवका माध्यमबाट लोसार मनाइन्छ।
समयसँगै विश्वका विभिन्न मुलुकमा फैलिएको हिमाली तथा नेपाली समुदायले पनि लोसारलाई आफ्नो सांस्कृतिक पहिचानको प्रतीकका रूपमा उत्साहपूर्वक मनाउँदै आएका छन्। युरोपदेखि अमेरिका र एशियाका विभिन्न देशसम्म लोसार सांस्कृतिक कार्यक्रम, सामूहिक शुभकामना आदान–प्रदान र परम्परागत उत्सवमार्फत विश्वव्यापी रूपमा मनाइँदै आएको छ।