
सचिव, नेपाल पत्रकार महासंघ
बेल्जियम शाखा
बेल्जियम युरोपको एक समृद्ध र प्रगतिशील देश हो, जहाँ श्रम कानुन, कामदारका अधिकार, र सामाजिक कल्याण प्रणालीले विश्वव्यापी मानक स्थापित गरेका छन्। यहाँको मजबुत सामाजिक संवाद, ट्रेड युनियनको सक्रियता, र सरकारको संरक्षणले कामदारहरूलाई सम्मानजनक जीवन र सुरक्षित कार्य वातावरण प्रदान गर्छ। यो लेखमा म बेल्जियमको श्रम कानुन, कामदारका अधिकार, लाभ, र अनुदानका बारेमा गहन जानकारी प्रस्तुत गर्नेछु, जुन नेपाली समुदाय र श्रमिकहरूलाई यहाँको प्रणाली बुझ्न र उपयोग गर्न सहयोगी हुनेछ।
बेल्जियमको श्रम कानुन सामाजिक संवाद (Social Dialogue) मा आधारित छ, जसमा रोजगारदाता र कामदारका प्रतिनिधिहरू (ट्रेड युनियन र रोजगारदाता संगठनहरू) बीच नियमित छलफल र सहमति हुन्छ। यो प्रणालीले कामदारहरूलाई बेरोजगारी, विरामी र कार्यस्थलका जोखिमहरूबाट जोगाउँछ। यहाँको श्रम कानुन युरोपेली संघ (EU) का मापदण्डहरूसँग आधारित छ र संघीय सरकारको Federal Public Service Employment, Labour and Social Dialogue ले यसको कार्यान्वयन गर्छ। जस्तै उदाहरणका लागि, यहाँको कानुनले साप्ताहिक ३८ घण्टाको काम समय, ओभरटाइमको लागि उचित भुक्तानी, र सुरक्षित कार्यस्थलको सुनिश्चित गर्छ। साथै, Labour Act of 16 March 1971 र Public Holidays Act of 4 January 1974 ले कामको समय र विश्रामको व्यवस्था गर्छ। बेल्जियमको श्रम कानुन सम्बन्धी विस्तृत जानकारी Federal Public Service Employment, Labour and Social Dialogue को आधिकारिक वेबसाइटमा पढ्न सक्नुहुनेछ, जुन फ्रेन्च, डच, र अंग्रेजीमा जानकारी उपलब्ध छ।
यहाँ कामदारका विशेष अधिकारहरु सुरक्षित गरिएका छन जुन बलियो कानुनी आधारमा टेकेका छन्:
१. ट्रेड युनियनमा सहभागिता: बेल्जियममा सबै कामदारलाई ट्रेड युनियनमा सामेल हुने स्वतन्त्रता छ। यहाँ तीन ठूला युनियनहरू छन्:
- General Federation of Belgian Labour (ABVV/FGTB): समाजवादी विचारधारामा आधारित।
- Confederation of Christian Trade Unions (ACV/CSC): क्रिश्चियन मूल्यमान्यतामा केन्द्रित।
- General Confederation of Liberal Trade Unions of Belgium (ACLVB/CGSLB): उदारवादी दृष्टिकोण।
यी युनियनहरूले सामूहिक सम्झौता (Collective Bargaining Agreements) मार्फत तलब, कामको अवस्था, र अन्य सुविधाहरू निर्धारण गर्छन्। युनियन सदस्यताको आधारमा कुनै भेदभाव गर्न नपाइने कानुनी प्रावधान छ।
२. हड्तालको अधिकार: बेल्जियमले युरोपेली सामाजिक चार्टर (European Social Charter) मार्फत हड्ताललाई मौलिक अधिकार मानेको छ। उदाहरणका लागि, यदि कुनै कम्पनीले कामदारको तलब समयमा नदिए वा कार्यस्थल असुरक्षित भए, कामदारहरूले सामूहिक रूपमा हड्ताल गर्न सक्छन्। यो अधिकारले रोजगारदातालाई दबाबमा राख्छ।
३. कार्य समय र विश्राम: यहाँ सामान्यतया दैनिक ८ घण्टा र साप्ताहिक ३८ घण्टा काम गर्नुपर्छ। ओभरटाइमको लागि कम्तीमा १.५ गुणा बढी तलब अनिवार्य छ, र रातको काम (राति ८ बजेपछि) मा कडा प्रतिबन्ध छ। यदि कामदारले हप्तामा ५.५ दिनभन्दा कम काम गर्छ भने दैनिक ९ घण्टासम्म काम गर्न सकिन्छ। साथै, प्रत्येक ६ घण्टाको कामपछि १५ मिनेटको विश्राम अनिवार्य छ।
४. न्यूनतम तलब: बेल्जियममा न्यूनतम तलब सामूहिक सम्झौताद्वारा निर्धारण हुन्छ। २०२५ मा पुरा समय(हप्ताको ३८ घण्टा) काम गर्नेहरुका लागि न्यूनतम तलब १,९५४ युरो (लगभग २.५ लाख नेरु) प्रतिमहिना निर्धारण गरिएको छ, तर यो रकम उद्योग र क्षेत्रअनुसार फरक हुन सक्छ। उदाहरणका लागि, निर्माण र स्वास्थ्य क्षेत्रमा न्यूनतम ज्याला उच्च हुन सक्छ। यहाँ १८ बर्ष उमेर उमेर पुगेकाहरुलाई मात्रै पुरा समय काम गर्ने अधिकार हुन्छ ।
त्यसै गरी कामदारहरुले बेल्जियमको सामाजिक सुरक्षा प्रणालीअन्तर्गत महत्वपूर्ण लाभहरु प्राप्त गर्ने अधिकार राख्दछ । ती लाभहरु निम्नानुसार रहेका छन ।
१. सामाजिक सुरक्षा: बेल्जियमको सामाजिक सुरक्षा प्रणालीले स्वास्थ्य बीमा, बेरोजगारी भत्ता, वृद्धाभत्ता/पेन्सन र परिवार भत्ता प्रदान गर्छ। यसमा रोजगारदाता र कामदार दुवैले योगदान गरिरहेका हुन्छन । उदाहरणका लागि, यदि तपाईंको मासिक तलब २,५०० युरो छ भने, ३२६.७५ युरो सामाजिक सुरक्षामा काटिन्छ, अर्थात रोजगारदाताले २७% र कामदारले १३.०७% योगदान गर्नुपर्ने हुन्छ । यो प्रणालीले बिरामी वा बेरोजगार भए पनि आधारभूत सुविधा सुनिश्चित गर्छ।
२. बिदा र छुट्टी:
- वार्षिक बिदा: एक वर्ष पूरा काम गरेका कामदारले २० दिनको सशुल्क बिदा पाउँछन्। यो बिदा अघिल्लो वर्षको कामको आधारमा गणना हुन्छ। उदाहरणका लागि, यदि तपाईंले २०२४ मा पूरा काम गर्नुभयो भने २०२५ मा २० दिन Paid Holiday बिदा पाउनुहुन्छ।
- सार्वजनिक बिदा: बेल्जियममा १० वटा आधिकारिक सार्वजनिक बिदा छन्, जस्तै नयाँ वर्ष (जनवरी १), मे दिवस (मे १), स्वतन्त्रता दिवस र क्रिसमस (डिसेम्बर २५)। यी विदाका दिनमा तपाईलाई नियमित काम गरेका दिनहरु झै तलब भुत्तानी पाउनुहुनेछ र यदि कदमकदाचित सो विदाका दिन काम गर्नुपरेमा त्यसको सट्टामा अर्कोदिन अनिवार्य विदा पाउने अधिकार राख्दछ ।
- सुत्केरी बिदा : सुत्केरी अवस्थामा महिलाले १५ हप्ताको मातृत्व बिदा पाउँछन् (जसमा १ हप्ता जन्मअघि र ९ हप्ता जन्मपछि अनिवार्य छ), र पुरुषले २० दिनको पितृत्व बिदा पाउँछन्। जसको पहिलो ३ दिन रोजगारदाताले तलब दिन्छ, बाँकी सामाजिक सुरक्षाले ८२% तलब प्रदान गर्छ। यदि जन्म जुम्ल्याहा भएमा थप २ हप्ता बिदा थपिन्छ।
३.विरामी बिदा: यदि विरामी पर्नुभयो भने पहिलो ३० दिनसम्म रोजगारदाताले पूरा तलब दिन्छ। त्यसपछि स्वास्थ्य बीमा कोष (Mutuelle/Ziekenfonds) ले ६०-७५% तलब दिन्छ। स्वरोजगार व्यक्तिहरूले ६ महिना कोषमा योगदान गरेपछि यो सुविधा पाउँछन्। उदाहरणका लागि, यदि तपाईं लामो समय बिरामी पर्नुभयो भने पनि आर्थिक संकटबाट जोगिनुहुन्छ। यहाँ तपाईले सामाजिक सुरक्षा र अन्य आधाभुत सुविधाहरुका लागि Belgian Social Security को वेबसाइट दिईएका जानकारीहरु पढ्न सक्नुहुनेछ ।
अन्य विशेष सुविधाहरू: बेल्जियम सरकारले कामदारहरुको क्षमता अभिवद्धि र व्यवसायिक प्रोत्साहनका लागि अन्य थुप्रै अनुदान र सुविधाहरु दिईरहेका हुन्छन, जस्तैः
१. शैक्षिक बिदा: क्षेत्रीय सरकारहरू (जस्तै Flanders को VDAB वा ब्रसेल्सको Actiris) ले सशुल्क शैक्षिक बिदा कार्यक्रम सञ्चालन गर्छन्। त्यसका लागि कामदारले मान्यता प्राप्त तालिमका लागि पूर्ण तलबसहित बिदा लिन सक्छन्। यो तालिम कामसँग सम्बन्धित नभए पनि हुन्छ। उदाहरणका लागि, तपाईंले भाषा सिक्न वा नयाँ सीप विकास गर्न यो सुविधा प्रयोग गर्न सक्नुहुन्छ।
२. रोजगारी प्रोत्साहन: साना कम्पनीहरूले पहिलो कर्मचारी भर्ना गर्दा सामाजिक सुरक्षा योगदानमा छुट पाउँछन्। यो सुविधा सन् २०२४ देखि केही घटाइए पनि अझै प्रभावकारी छ। साथै, flexi-jobs प्रणालीले अतिरिक्त कामदार भर्ना गर्न प्रोत्साहन दिन्छ । flexi-jobs भनेको एक किसिमको Part-time रोजगारी हो जुन मुख्यतः होटल, रेस्टुरेन्ट, खुद्रा पसल (retail), बेकरी जस्ता क्षेत्रहरुमा मात्र उपलब्ध थियो, २०२४ देखि यसलाई नयाँ क्षेत्रहरु स्वास्थ्य सेवा, वृद्धाश्रम, खेलकुद र childcare मा पनि विस्तार भएको छ।
३. सेक्स वर्करका अधिकार: बेल्जियम विश्वको पहिलो देश हो जसले sex-worker हरूलाई पूर्ण श्रम अधिकार दिएको छ यो कानुनी रुपमा डिसेम्बर १, २०२४ देखि लागू गरिएको थियो । यसमा उनीहरूले मातृत्व भत्ता, बिरामी बिदा, र पेन्सन पाउँछन्। तर, यो सुविधा घरबाट वा सडकमा काम गर्नेहरूको हकमा भने लागू हुँदैन। यसका रोजगारदाताले स्वच्छता, सुरक्षित कार्यस्थल, र प्यानिक बटनको व्यवस्था गर्नुपर्छ। यो कानुनले सेक्स वर्करको शोषण रोक्ने लक्ष्य राख्छ।
बेल्जियममा श्रम कानुनको पालना सुनिश्चित गर्न Social Inspectorate र श्रम अदालतहरू सक्रिय छन्। निरीक्षकहरूले कार्यस्थलको अवस्था, तलब भुक्तानी, र भेदभाव जाँच गर्छन्। उदाहरणका लागि, यदि कुनै रोजगारदाता वा कम्पनीले न्यूनतम तलब नदिए वा असुरक्षित वातावरण सिर्जना गरेमा ठूलो जरिवाना वा कानुनी कारबाही हुन्छ। कामदारले त्यसका विरुद्ध श्रम अदालतमा उजुरी गर्न सक्छन्, जसले द्रुत र निष्पक्ष फैसला गर्छ। श्रम निरीक्षणबारे थप जान्न Federal Public Service Employment को वेबसाइट हेर्नु सक्नुहुनेछ ।
नेपाली कामदारहरूका लागि सुझाव: बेल्जियममा श्रम र अधिकारबारे जान्नैपर्ने कुरा:
बेल्जियममा बस्ने नेपालीहरूका लागि यहाँको श्रम प्रणाली बुझ्नु आवश्यक छ। यदि तपाईं रोजगारी खोज्दै हुनुहुन्छ भने ट्रेड युनियन वा स्थानीय रोजगार कार्यालय (जस्तै ब्रसेल्सको Actiris वा Flanders को VDAB) मा सम्पर्क गर्नुहोस्। गैर-ईयू नागरिकको रूपमा, तपाईंलाई अनिवार्य वर्क परमिट चाहिन्छ, जसका लागि रोजगारदाताले आवेदन दिनुपर्छ। साथै, यहाँको भाषा (डच, फ्रान्सेली, वा जर्मन) सिक्नाले रोजगारीका अवसर बढाउँछ।
त्यसैगरी, अधिकांश नेपाली कामदारहरू बेल्जियममा नेपालीहरूकै स्वामित्वमा सञ्चालित विशेषगरी रेष्टुरेन्ट तथा अन्य व्यवसायहरूमा कार्यरत छन्। नयाँ बसाईसराइ गरी आएका व्यक्तिहरूका लागि भाषा, जानकारीको अभाव र सम्पर्क सुत्रहरूको सीमितताका कारण यस्तो प्रकारका रोजगारीमा निर्भर हुनुपर्ने अवस्था सिर्जना हुन्छ। यिनै अवस्थाको फाइदा उठाउँदै केही नेपाली रोजगारदाताहरूले आफ्नै नेपाली कामदारहरूको नजानिँदो तरिकाले श्रमशोषण गरिरहेका हुन्छन।
उदाहरणका लागि, तपाईंसँग मासिक २,००० युरो नेट (हातमा आउने तलब) दिने मौखिक सम्झौता गरिन्छ, तर आधिकारिक रोजगार सम्झौतापत्रमा भने १,२०० देखि १,५०० युरो मात्रै उल्लेख गरिन्छ, बाँकी रकम नगदमा दिइन्छ। अब तपाईले सोच्न सक्नुहुन्छ “मैले त आखिर भनेको २,००० युरो नै पाइरहेको छु, अनि कसरी श्रमशोषण भयो र?”
तर, वास्तविक समस्या यहीँबाट सुरु हुन्छ। रोजगारदाताले तपाईको सामाजिक सुरक्षा कोषमा तिर्नुपर्ने २७% योगदान रकम कटौती गर्न यो अवैधानिक उपाय अपनाएका हुन्। यसले गर्दा तपाईको सामाजिक सुरक्षा खातामा जम्मा हुनुपर्ने रकम घट्छ, जुन भविष्यमा पेन्सन, बिरामी भत्ता, बेरोजगारी भत्ता जस्ता अधिकारहरू प्राप्त गर्न समस्या हुन सक्छ।
फलस्वरूप, तपाईले जति घण्टा काम गर्नुहुन्छ, यहाँको श्रम कानुनअनुसार तपाईले पाउनुपर्ने न्यूनतम तलब, सुरक्षा र सुविधाहरूबाट तपाई बञ्चित हुनुहुन्छ। यही अवस्था नै वास्तविक श्रमशोषण हो।
बेल्जियमको श्रम कानुन र सामाजिक सुरक्षाको प्रणालीले यहाँको श्रम बजारलाई सुरक्षित, समावेशी र समुन्नत बनाएको छ। नेपाली समुदायले पनि यस्ता कानुनी सुविधा र अवसरको सही उपयोग गर्न सक्नुपर्छ। त्यसका लागि आफैं पनि सचेत हुनु, सही जानकारी राख्नु र आवश्यक परेमा सहायता लिइरहनु जरुरी छ।
यो लेखले तपाईंलाई बेल्जियमको श्रम प्रणाली बुझ्न र यहाँको जीवनमा सहज रूपमा समायोजन गर्न मद्दत पुगोस् भन्ने आशा छ।
-धन्यवाद ।