जीवन बीमा कम्पनीले बहन नगर्ने जोखिमहरू

नुरराज कँडेल, जीवन बीमा भनेको निश्चित अवधिको निश्चित रकमको जोखिम बहन गरिनु हो र कतिपय बीमाका प्रकारहरूमा जोखिम बहनको साथै बचन र मुनाफा पनि पाइन्छ । प्राय बढी प्रचलनमा रहेको जीवन बीमा सावधिक अन्तर्गतको धेरै उपनाम दिएर बिक्री वितरण गरिन्छ । जुन बीमाले जोखिम बहन, दुर्घटना लाभ, घातक रोगको उपचार खर्चसहित बीमाङ्क रकम मुनाफासहित फिर्ता गर्दछन् । बीमा हुँदैमा सबै सुविधा पाइँदैन, बीमालेख खरिद गर्दा वा बीमा गर्दा सबै विवरण स्पष्ट खुलाई उक्त सुविधाहरूको शुल्क तिरेर समावेश गरिनु पर्दछ । कतिपय बीमालेखहरू नाफायोग्य हुँदैनन्, मुनाफा पाइँदन, मात्र खर्चको भरथेग वा बीमाङ्क रकम भुक्तानी गरिन्छ ।

म्यादी बीमा
कतिपय अवस्थामा बीमकहरू ठूला जोखिम लिन चाहँदैनन् । जसको कारणले कम्पनीलाई असर नपरोस् । बीमा भनेको बीमित र बीमकबीचको करार हो यसमा परम सद्विश्वासको सिद्धान्त लागू हुन्छ । यो भनेको बिमितले आवश्यक सम्पूर्ण सूचना र विवरणहरु बीमकलाई बुझाउनु पर्दछ । त्यही विवरणलाई विश्वास गरेर बीमकले बीमाशुल्क निर्धारण गरी बीमा गरी बीमित बनाइन्छ । उदाहरणको लागि एउट पाइलटको बीमा गरियो । ऊ यात्रुबाहक जेट विमान चलाउँछ वा बीमा फारममा सोही विवरण उल्लेख गरी बीमा गरिएको छ तर ऊ युद्धक बीमान चलाउँदा दुर्घटनामा परेर मृत्यु भएमा बीमकले क्षतिपूर्ति दाबी भुक्तानी गर्दैन । किनकि यहाँ परम सद्विश्वासको सिद्धान्त लागू भएन वा बीमा करारको नियम विपरित भयो ।

त्यस्तै उदाहरण अर्को बीमा गरेको व्यक्ति मेरो त बीमा छँदैछ भनी निषेधाज्ञा तोड्ने, निषेधित क्षेत्रमा जाने, दंगाफसादमा परेर मृत्यु भएमा पनि बीमकले क्षतिपूर्ति दिँदैन । त्यस्तै गरी राज्यको कानुन विपरित हुलदंगा, प्रदर्शन, ग्याङ फाइट वा समूह–समूहबीचको मारपिटमा परी मृत्यु भएमा पनि बीमकले क्षतिपूर्ति दिँदैन । जीवन बीमा गरेको दुई वर्षभित्रमा आत्महत्या गरे पनि बीमकले क्षतिपूर्ति गर्दैन । अर्को उदाहरण, मान्यता प्राप्त नभएका उड्डयन, हवाइजहाजमा यात्रा गर्दा घटना घटेमा पनि बीमकले क्षतिपूर्ति दिँदैन ।

बीमा गरेको दुईवर्षभित्र आत्महत्या गरे किन क्षतिपूर्ति पाइँदैन ?
बीमकले आफ्नो परिधिभित्र रहेर बीमालेख बिक्री गर्दछन् । बीमकको एउटा विभागको काम हुन्छ, बीमा प्रस्तावकको जोखिमको मूल्यांकन गर्ने । यो भनेको बीमा प्रस्तावक बीमा योग्यहितअन्तर्गत पर्छ कि पर्दैन भन्ने जाँच हो । समग्रमा व्यक्तिगत विवरण, पारिवारिक इतिहास बीमा प्रस्ताव फाराममा भरेर त्यसैअनुसार बीमा गर्ने कि नगर्ने, बढी बीमा शुल्क लिने कि नलिने, प्रस्तावित व्यक्तिले बीमा शुल्क नियमित रुपमा तिर्न सक्छ कि सक्दैन भन्ने जस्ता कुरा बीमा प्रस्तावकले भरेको फाइललाई अध्ययन गरी बीमा स्वीकृत गरिन्छ वा नगर्न पनि सकिन्छ या प्रतिक्षामा राखिन्छ । यदि स्वीकृत बीमालेखको धनी वा बीमा गरेको व्यक्ति दुई वर्षभित्रमा आत्महत्या गरेमा क्षतिपूर्ति नपाउने तर अन्य घटना घटेर जीवनको क्षति भएमा सबै बीमा सुविधा पाउँछ ।

कारण जटिल, किन हुन्न क्षपितूर्ति ?
बीमा योग्य हित र परम सद्विश्वासको आधारमा गरिने यस करारको जटिलता मै झन जटिलता छ । बीमकहरूले बीमा गर्नको लागि धेरै सुविधा दिएका छन् जसमा वार्षिक शुल्क तिर्न नसके अर्ध वार्षिक, त्यो पनि नसकेमा त्रैमासिक रुपमा आफूले बीमा गरेको रकम भुक्तानी गर्न पाइन्छ । यस बीमकको सुविधाले गर्दा गलत प्रयोग नहोस् भनेर बीमकले निश्चित मापदण्ड तय गरेका हुन्छन् । त्यस मापदण्डअन्तर्गत यो समावेश हुन सक्छ ।

उदाहरण
एउटा सामान्य आम्दानी भएको व्यक्तिको दुई जना श्रीमती र ८÷१० जना छोराछोरी छन् । उनलाई बीमा गर्न मन लाग्यो र बीमा पनि गरे । ५० लाखको जीवन बीमा गर्दा ३०÷३५ वर्षको व्यक्तिले सरदर साढे तीन लाख बीमा शुल्क तिर्नु पर्नेहुन्छ भने त्रैमासिकमा तिर्दा चार भाग लगाई बीमकको लोडिङ चार्ज थप गर्दा पनि एक लाख भन्दा कम शुल्क हुन्छ । त्यही त्रैमासिक बीमा शुल्क तिरेर ५० लाखको बीमा गरी बच्चा बच्चीको हित पैसाले गर्छ, बीमा छँदैछ भनेर आत्महत्या गरेमा आश्रित परिवारले बीमकले ५० लाख, आत्महत्यालाई दुर्घटना मानिएमा अर्को ५० लाख र आर्जित बनोस दाबी गर्छ । हो यस्तो विकृत मानसिकतालाई बीमाले सपोर्ट गर्दैन र गर्नु पनि हुँदैन । कारण के भने जसको आर्थिक अवस्था कमजोर छ आश्रितलाई पाल्ने अन्य उपाय नहुँदा जानेर नै आत्महत्या हुनसक्छ ।

सक्षम र इमान्दार बीमा अभिकर्ताले नकारात्मक फाइदाका कुराहरु बीमालेख बिक्री गर्ने बेलामा भनेकै हुँदैन । र, बीमितलाई नकारात्मक फाइदाको जानकारी नदिँदा राम्रो हुन्छ । यसै सन्दर्भमा बीमालेख बिक्री गर्दा ध्यान पु¥याउने भनेको बीमा प्रस्तावकको व्यवसाय हो । कसैले ठूलो रकमको बीमा गरी परिवारको राम्रोको लागि आत्महत्या पनि गर्न सक्दछ तर बीमाको जेखिमाङ्कन विभागले यसको जोड घटाउ गर्दछ । नियती गलत छ भने आश्रित परिवारले पैसा पाउने आशामा आत्महत्या नहोस् भन्नका लागि जीवन बीमा गरेको २ वर्षभित्र आत्महत्या गरेमा बीमकले क्षतिपूर्ति नगर्ने कानुनी व्यवस्था मिलाइएको हो । बीमा गर्ने भनेको अप्रत्यासित घटनाको जोखिम बहन गर्ने र क्षतिको पूर्ति गर्ने मात्रै हो ।

बिमितिले बुझाएको शुुल्क के हुन्छ ?
बीमा कम्पनीले कहिल्यै अर्काको पैसा खाँदैन । यदि बीमा योग्य हित भएमा बीमाङ्क रकम होइन बीमा शुल्क र यदि मुनाफामा सरिक हुने बीमालेख खरिद गरिएको भएमा मुनाफा सहित बीमा शुल्क र मुनाफा फिर्ता गर्दछ ।

शिक्षा र आम्दानीको श्रोत
कुनै पनि व्यक्तिको जीवन बीमा गर्दा उसको शिक्षा र आम्दानीको श्रोत खोजिन्छ । न्युन शुल्कको बीमालेख खरिद गरेको बेलामा यस्ता कुरालाई वास्ता नगरिए पनि ठूल्ठूला रकमका बीमालेखहरुको करारनामा गर्दा शिक्षा र आम्दानीको स्थायी सोर्स खोजिन्छ । यदाकदा नक्कली विवरण पेश गरेर बीमालेख खरिद गरिएको हुनसक्छ ।

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार १५:५७