शेर्पा समुदाय ग्याल्पो लोसार मनाउँदै, सरकारी पात्रोमा चैत १ गते

काठमाडौँ – नेपाली महायान एवं बौद्ध धर्मालम्बी तथा हिमाली शेर्पा समुदायको नयाँ वर्ष तथा महान् पर्व ‘च्याक फो लङ लो’ २१४८ औँ ग्याल्पो लोसार शुक्रबार शुुरु भएको छ । सरकारी पात्रोमा ग्याल्पो लोसार चैत १ गते उल्लेख भए पनि सो मिति गलत भएको भन्दै माघ ३० मै मनाउन लागिएको हो ।

लोसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायतले शुभकामना सन्देश जारी गरेका छन् । त्यस्तै नेपाली काँग्रेस, जनता समाजवादी पार्टीका नेताले पनि ग्याल्पो लोसारको शुभकामना व्यक्त गरेका छन् ।

‘नेपाल बहुल धार्मिक, बहुल सांँस्कृतिक, जातीय विविधतायुक्त देश हो । यी सबै समुदायको आ–आफ्नै धार्मिक र साँस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्वहरू छन्’, राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, ‘सबै जातजातिको सम्मानजनक उपस्थिति र पहुँच स्थापना गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा हामी छौँ । बहुरंगी संस्कृतिका धनी नेपाल यिनै विभिन्न आस्था र अवस्थाहरूलाई मिलाएर अघि बढ्न सकेको खण्डमा मात्रै राजनीतिक स्थायित्व, दिगो शान्ति, छिटो समृद्धि हात लाग्ने कुरामा दुईमत छैन ।’

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना सन्देशमा ‘हिमाल आरोहण तथा पर्यटनको माध्यमबाट विश्वलाई नेपाल चिनाउने पहिलो शक्ति शेर्पा रहेको’ उल्लेख गर्नुभएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ‘मुलुकको वर्तमान जटिल अवस्थासँगै विभिन्न असमानता, विभेद र उत्पीडनको अन्त्य गर्न र अधिकार, मुक्ति र पहिचान प्राप्तिका खातिर निरन्तर रूपमा अघि बढ्नका साथै राष्ट्र निर्माणमा सघाउन लोसारको अवसरमा प्रेरणा मिलोस्’ भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ग्याल्पो ल्होसार जस्ता पर्वले नयाँ उमंग र उत्साह साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।

नेपाल शेर्पा संघले शुभकामना सन्देश जारी गर्दै लोसारलाई पहिचान र अधिकार स्थापना गर्ने मार्गको रूपमा लिनुपर्ने बताएको छ । अध्यक्ष गेल्जे लामा शेर्पाले सरकारले हिमाली आदिवासी शेर्पाको मुख्य चाडको तिथि बिगारेर अन्याय गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

‘भोट चन्द्र पात्रो अनुसार लोसार माघ ३० मै पर्ने हो’, उहाँले भन्नुभएको छ, ‘तर, सरकारले चैत १ गते राखेर अन्योल सिर्जना गरेको छ ।’ माघ ३० मै तामाङ, ह्योल्मो समुदायको सोनाम ल्होच्छार समेत परेको छ ।
source: yoho khabar

प्रकाशित मिति ३० माघ २०७७, शुक्रबार १३:०४