-पेम्बा गेलु शेर्पा, बेल्जियम ।

शेर्पा समुदायको धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको प्रतीक र नयाँ बर्षका रूपमा मनाइँदै आएको ग्याल्बो ल्होसारको अवसरमा यस वर्ष पनि बेल्जियममा विशेष ल्हप्सु पूजा कार्यक्रम आयोजना हुने भएको छ। शेर्पा समाज बेल्जियमले हरेक वर्षझैँ निरन्तरता दिँदै आगामी फेब्रुवरी २२ तारिख, आइतबार Huy स्थित बौद्ध गुम्बामा नियमित वार्षिक ल्हप्सु पूजा सम्पन्न गर्ने जानकारी दिएको हो।

ल्होसार शेर्पा समुदायको नयाँ वर्ष मात्र नभई आध्यात्मिक शुद्धीकरण, शान्ति, समृद्धि र सामूहिक सद्भावको कामना गर्ने महत्वपूर्ण पर्वका रूपमा लिइन्छ। विदेशमा रहेर पनि आफ्ना मौलिक परम्परा, संस्कृति र धार्मिक आस्थालाई जोगाउँदै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले यस्तो कार्यक्रमले विशेष महत्व राख्ने आयोजकको विश्वास छ। बेल्जियममा बसोबास गर्ने शेर्पा समुदायसहित सम्पूर्ण नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र सांस्कृतिक एकतालाई अझ सुदृढ बनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको समाजले जनाएको छ।

ल्हप्सु पूजामा सहभागी हुन Antwerpen र Leuven बाट जान–आउनका लागि सशुल्क बसको व्यवस्था गरिएको छ। कार्यक्रममा सहभागी हुन इच्छुक सबैलाई समयमै सिट सुरक्षित गरी सहभागिता सुनिश्चित गर्न आयोजकले अनुरोध गरेको छ। साथै, शेर्पा समुदायका आमाबुबा, दिदीबहिनी तथा दाजुभाइलाई आफ्नो मौलिक पहिचान झल्किने परम्परागत पोशाकमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन विशेष अपिल गरिएको छ।

कार्यक्रममा सहभागी हुन प्रति व्यक्ति ४० युरो तथा १० देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि २० युरो प्रवेश शुल्क निर्धारण गरिएको छ। बिहान १० बजेभित्र सबै सहभागीहरू गुम्बामा उपस्थित भइसक्न अनुरोध गरिएको छ भने धर्मगुरूहरूको उपस्थितिमा ल्हप्सु पूजा सम्पन्न गरिनेछ। सहभागीहरूका लागि परम्परागत खानपान, पेय पदार्थ तथा सांस्कृतिक भेटघाटको समेत व्यवस्था गरिने समाजले जनाएको छ।

यस वर्षको कार्यक्रमलाई थप आकर्षक र सहभागितामूलक बनाउन समाजले पहिलो पटक भाग्यशाली चिठ्ठा (लटरी) खेलसमेत समावेश गरेको छ। समाजको कोष अभिवृद्धि गर्ने तथा समुदायिक गतिविधिलाई दीर्घकालीन रूपमा सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको उक्त चिठ्ठा खेलमा परम्परागत दैनिक पूजा सामग्रीहरूलाई पुरस्कारका रूपमा राखिएको छ। चिठ्ठा टिकट दर १५ युरो तोकिएको छ। जसअनुसार प्रथम पुरस्कार जोडी पोङ, दोस्रो पुरस्कार तिङ, तेस्रो पुरस्कार बुम्ब र सान्त्वना पुरस्कार साङबुर रहने जानकारी दिइएको छ। चिठ्ठा टिकट खरिद गर्न आउने सहभागीहरूलाई सम्भव भएसम्म खुद्रा नोट साथमा ल्याउन आयोजकले अनुरोध गरेको छ, जसले व्यवस्थापन कार्यलाई सहज बनाउने अपेक्षा गरिएको छ।

शेर्पा समाज बेल्जियमले यस्तो धार्मिक तथा सांस्कृतिक कार्यक्रमले विदेशमा बसोबास गर्ने नेपाली समुदायबीच पहिचानको संरक्षण, पारिवारिक तथा सामाजिक सम्बन्धको सुदृढीकरण र नयाँ पुस्तामा सांस्कृतिक चेतना विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। सहभागीहरूको सक्रिय उपस्थिति र सहयोगले समाजलाई अझ सबल, संगठित र सक्षम बनाउने अपेक्षा पनि गरिएको छ।

समाजले सम्पूर्ण नेपाली समुदायलाई ग्याल्बो ल्होसारको शुभकामना व्यक्त गर्दै ल्हप्सु पूजा तथा विशेष कार्यक्रमहरूमा उत्साहपूर्ण सहभागिता जनाउन हार्दिक आह्वान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय