✍️पेम्बा गेलु शेर्पा/बेल्जियम ।

– हिमाली महायानी बौद्ध धर्मावलम्बीहरूको महान राष्ट्रिय चाड २१५३ मे–फो–ता–ल्हो अर्थात् अग्नि तत्त्व पुरुष घोडा वर्षको ग्याल्पो लोसारको पावन अवसर पारेर पोर्तुगलमा विशेष धार्मिक पुजासहित लोसार ल्हप्सो कार्यक्रम आयोजना गरिने भएको छ।  शेर्पा किदुग पोर्तुगलको आयोजनामा प्रत्येक वर्षझैँ यस वर्ष पनि लोसार ल्हाप्सो पूजा तथा विविध धार्मिक अनुष्ठानहरू सम्पन्न गरिने जानकारी सार्वजनिक गरिएको छ।
कार्यक्रम सान्ता सुसानास्थित थुप्तेन गेफेल लिङ गुम्बामा आयोजना हुनेछ। उक्त अवसरमा विश्व शान्ति पूजा, ग्रह शान्ति, आयु अभिषेक, लुङ्ता, साङ, सेरकेम तथा १२ वर्षे ग्याप्जि पूजा लगायतका महत्वपूर्ण धार्मिक अनुष्ठानहरू सञ्चालन गरिनेछन्। यी पूजाआराधनाहरूले व्यक्ति, समाज र समग्र विश्वको शान्ति, दीर्घायु, समृद्धि तथा सकारात्मक ऊर्जाको कामना गर्ने धार्मिक विश्वास रहेको बताइएको छ।
प्रमुख धर्मगुरु लामा फुरि शेर्पाले ग्याल्पो लोसार केवल नयाँ वर्षको उत्सव मात्र नभई आत्मिक शुद्धीकरण, करुणा, सहअस्तित्व र विश्वशान्तिको कामना गर्ने गहिरो आध्यात्मिक अवसर भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार यस्ता सामूहिक पूजाआराधनाले समुदायलाई धर्म, संस्कृति र मानवीय मूल्यसँग जोडिराख्ने महत्वपूर्ण भूमिका खेल्छ।
“विदेशमा रहेर पनि आफ्नो मौलिक धर्म–संस्कृतिलाई निरन्तरता दिनु अत्यन्त आवश्यक छ,” उहाँले भन्नुभयो, “लोसारको सामूहिक साधना र प्रार्थनाले व्यक्तिको मन, परिवार र समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बौद्ध दर्शनले राख्छ।”
यस्तै, शेर्पा किदुग पोर्तुगलका अध्यक्ष राजेन्द्र शेर्पाले पोर्तुगलमा बसोबास गरिरहेका सम्पूर्ण बौद्ध धर्मावलम्बी तथा नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ आर्जन गर्न हार्दिक आमन्त्रण गर्नुभयो।
“लोसार हाम्रो पहिचान, एकता र सांस्कृतिक निरन्तरताको प्रतीक हो,” अध्यक्ष शेर्पाले भन्नुभयो, “विदेशी भूमिमा बसेर पनि हामी सबैलाई एउटै आध्यात्मिक र सांस्कृतिक सूत्रमा बाँध्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिएका छौँ। त्यसैले सम्पूर्ण समुदायलाई समय मिलाई उपस्थित हुन आग्रह गर्दछौँ।”
कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि सामूहिक यातायातको व्यवस्था गरिएको भए पनि गाडीको सिट सीमित रहेकाले यथाशीघ्र सिट बुकिङ गर्न आयोजकले अनुरोध गरेको छ। टिकटमा उल्लेखित सम्पर्क नम्बरमार्फत नाम दर्ता गर्न सकिने जनाइएको छ।
लोसार ल्हाप्सो पूजा कार्यक्रममा सहभागी हुन चाहनेहरू २२ फेब्रुअरी २०२६, आइतबार बिहान ८:०० बजे बस छुट्ने समय तोकिएको छ भने सहभागीहरूलाई बिहान ७:३० बजेसम्म सम्बन्धित स्थानमा उपस्थित हुन आग्रह गरिएको छ। लिस्बोन क्षेत्रमा बसोबास गर्नेहरूका लागि Anjos र अल्मादा क्षेत्रमा बस्नेहरूका लागि Centro Sul – Cova da Piedade Metro Stationलाई जम्मा हुने स्थान निर्धारण गरिएको छ। त्यसैगरी निजी सवारी साधन प्रयोग गर्नेहरू सिधै कार्यक्रम स्थल गुम्बामा पुग्न सक्नेछन।
ग्याल्पो लोसार शेर्पा लगायत हिमाली बौद्ध समुदायको सबैभन्दा महत्वपूर्ण पर्वमध्ये एक मानिन्छ। विदेशमा रहेका नेपाली तथा हिमाली मूलका समुदायले यस्ता पर्वहरू सामूहिक रूपमा मनाउँदा सांस्कृतिक पहिचान संरक्षण हुनुका साथै आपसी सद्भाव, एकता र सामाजिक सम्बन्ध अझ सुदृढ हुने विश्वास गरिएको छ। पोर्तुगलमा आयोजना हुन लागेको यस वर्षको लोसार कार्यक्रमले पनि आध्यात्मिक ऊर्जा, सामुदायिक सहकार्य र सांस्कृतिक निरन्तरताको सशक्त सन्देश दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय