लोसार पुलु, जसलाई प्रया जसो शेर्पा समुदायले छोटकारीमा “याहोई” पनि भनिन्छ, हिमाली क्षेत्रका शेर्पा समुदायको एक महत्वपूर्ण फसल कटनी(कृषिबाली उठाउनु) पर्व पनि भनेर भनिन्छ। यो पर्व विशेषगरी सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बु, संखुवासभाको मकालु, र दोलखाको बिगु गाउँपालिकाका शेर्पा समुदायहरू बीच परम्परागत रूपमा मनाइँदै आएको देखिन्छ। यो पर्वले शेर्पा समुदायको जीवनशैली, संस्कार, र प्रकृतिप्रतिको गहिरो सम्बन्धलाई उजागर गर्ने गर्दछ।
बिगत परापूर्वकालदेखि नै यो पर्व मनाउने चलन रहँदै आएको पाइन्छ। जब वर्षभरको कठोर मेहनतपछि खेतका अन्नबाली भित्र्याइने बेला आउँछ, त्यस समयमा शेर्पा समुदायले प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै लोसार पुलु पर्व मनाउने प्रचलन बनाएका हुन्। प्रायः लोसार आउनु करिब तीन महिना अघि वा नवौ महिनाको पूर्णिमाको अवसर परी यो पर्व मनाइने गर्ने गरिन्छ। यो समयमा समुदायका सबै सदस्यहरू एकअर्काको घरमा गएर भेटघाट गर्ने कुराहरु साटासाट गर्ने, र फसलको सफलताको खुशीहरु बाँड्ने गरिन्छ।
पुराना कथन अनुसार, त्यतिबेला मानिसहरू गाउँमा एकआपसमा बेला भई “याहोई” अर्थात या वे गाउँदै प्रत्येक घर टोलमा गएर लोसार पुलु खेल्ने चालन थियो। उदाहरण : (देउशी-भैलो) खेलेझै, जहाँबाट प्रप्ता भएको अन्न, पैसा संकलन गरी पछि आउँदो लोसारको तयारी गरिन्थ्यो। जम्मा भएको अन्नबाट छ्याङ् (परम्परागत घरेलु पेय) पकाइन्थ्यो, र लोसारमा रमाइलो वातावरणमा गीत–संगीत, नाच–गान, र भोजका कार्यक्रमहरू आयोजना गरी एक अर्कोप्रति खुशिहरु बाँडफड गरिन्थे। भब्यताको साथ लोसार मनाईने चालन थियो। त्यसेले लोसार पुलु केवल धार्मिक वा सांस्कृतिक पर्व मात्र नभई समाजलाई जोड्ने र सहकार्यको भावना बलियो बनाउने अवसर पनि हो।
यद्यपि, आजको आधुनिक जीवनशैली, शहरमुखी जनसंख्या, र परम्परागत कृषिप्रणालीको ह्राससँगै, यो पर्व धेरै ठाउँमा हराउँदै गएको देखिन्छ। केही शेर्पा समुदायहरूले अझै पनि आफ्नो पहिचान र परम्पराको जगेर्नाका लागि यो पर्व मनाउने परम्परा निरन्तरता दिइरहेका छन्, तर धेरै ठाउँमा यसलाई बिर्सिँदै गएको दुःखद स्थिति पनि छ। जसलाई मध्यनजर गर्दै विगत ३ वर्ष देखि “हिमालयन शेर्पा सँस्कृतिक केन्द्र” ले लोपोन्मुख पर्वहरुलाई पुनर्जिवित तथा उजागर गर्ने उदेश्यका साथ लोसार पुलु “याहोई” कार्यक्रम सन्चालन गर्दे आईरहेको छ। र यो वर्ष पनि भव्यताको साथ ३ दिने कार्यक्रम बनाई याहोई ,पुरान लोकनृत्य श्याप्टो( शेप्प्र) ,घोर्शे र नादिङ् भाकामा नाचगान गर्दै हर्षोल्लास साथ काठमाडौमा मनाइएको छन्। जहाँ हिमालयन शेर्पा सँस्कृतिक केन्द्रको अध्यक्ष सहित केन्द्रिय सदस्य तथा कलाकारहरुको भव्य उपस्थिति रहेको थियो।
लोसार पुलुको धार्मिक र सांस्कृतिक पक्ष पनि गहिरो छ। शेर्पा समुदायको जीवन बौद्ध धर्मसँग जोडिएको हुनाले, यस अवसरमा गुम्बामा पूजा, प्रार्थना, र दीप प्रज्वलन गरिन्छ। बौद्ध भिक्षु लामाहरूद्वारा सुख, शान्ति र समृद्धिको कामना गर्दै प्रार्थना गर्ने गरिन्छ। यसले मानिसहरूलाई दया, संयम र सहअस्तित्वको सन्देश पनि दिन्छ।
पर्वका दिन गाउँका युवायुवती, बालबालिका, र बुढापाकाहरू सबै मिलेर गाउँमा हर्षोल्लासपूर्वक उत्सव मनाउँछन्। परम्परागत वाद्यवादनहरू — ड्र्याङ, टुङ्ना ,बच्छे बाजा र मुरली लगयात आदिको धुनमा गीत गाउने, लोकनृत्य श्याप्टो(शेप्रु) प्रदर्शन गरि मनोरन्जन गर्ने गरिन्छ । घर-घरमा स्वादिष्ट परिकार, जस्तै खाप्से, फेमार, छिमार ,थेन्दुक(श्याक्पा) पकाइन्छ।
लोसार पुलु पर्वले शेर्पा समाजमा एकता, सहकार्य, र आपसी प्रेमको भावना फैलाउँछ। यो पर्व केवल अतीतको सम्झना होइन, संस्कृति र पहिचानको जगेर्नाको प्रतीक हो। आजको पुस्ताले पनि यस पर्वलाई माया गरेर निरन्तरता दिन सके, यो केवल एक पर्व होइन, शेर्पा समुदायको आत्मा बन्न सक्छ। यसले प्रकृतिप्रति सम्मान, वर्षभरको मेहनतको फलप्रति गर्व र समुदायबीचको सहकार्य र एकताको सन्देश दिन्छ। आजको आधुनिक जीवनशैलीले यो परम्परा ओझेलमा पार्दै लगेको देखिए पनि यसको संरक्षण, प्रचार र जगेर्ना हाम्रो सामूहिक कर्तव्य हो। जसले नयाँ पुस्तालाई आफ्नो मौलिकता र परम्पराको सम्मान गर्न प्रेरित गर्छ।
ल्होसार पुलुक की टाशीदेले
थुचिछे
ल्हाक्पा गेलु शेर्पा(Gel Woo)
केन्द्रिय सदस्य
हिमालयन शेर्पा सँस्कृतिक केन्द्र