पेम्बा गेलु शेर्पा/१९ अगष्ट २०२५
– बेल्जियममा अब बालबालिकाले विद्यालयमा मोबाइल फोन र अन्य इलेक्ट्रोनिक उपकरण मनपरी प्रयोग गर्न पाउने छैनन्। २०२५–२०२६ शैक्षिक सत्रदेखि सम्पूर्ण देशभर प्राथमिक र माध्यमिक विद्यालयहरूमा मोबाइल फोन तथा इलेक्ट्रोनिक उपकरणको मनोरञ्जनात्मक प्रयोग प्रतिबन्धित हुने भएको हो।
सरकारले विद्यार्थीहरूको पढाइमा ध्यान भंग हुने, सामाजिक सम्पर्क कमजोर हुने र मानसिक स्वास्थ्यमा असर पर्ने कारण देखाउँदै यस्तो निर्णय गरेको हो। अध्ययनमा देखाइएको छ कि विद्यालय समयमा मोबाइलको अत्यधिक प्रयोगले सिकाइ प्रक्रिया कमजोर बनाउँछ र कक्षाको वातावरणमा अवरोध ल्याउँछ।
प्रतिबन्ध कडाइका साथ लागू भए पनि केही विशेष अवस्थामा मोबाइल वा अन्य उपकरण प्रयोग गर्न पाइनेछ। ती अवस्थामा शैक्षिक वा अध्ययन सम्बन्धी आवश्यकताका लागि, स्वास्थ्य वा चिकित्सकीय कारणका लागि, र आपतकालीन अवस्थाको लागि मोबाइल प्रयोग गर्न अनुमति दिइनेछ। विद्यालयहरूले आफ्नै नियम अनुसार कारबाही र नियन्त्रण प्रक्रिया तय गर्ने व्यवस्था गरिएको छ।
बेल्जियममा शिक्षा प्रणाली तीन भाषिक समुदायले चलाउँछन्, र प्रतिबन्ध पनि तिनै अनुसार लागू हुन्छ। फ्रान्सेली भाषिक समुदाय अन्तर्गत वालोनिया र ब्रुसेल्समा प्राथमिक विद्यालयमा प्रतिबन्ध २०२४–२०२५ बाटै लागू भइसकेको छ। २०२५–२०२६ बाट भने यो नियम पूर्व-प्राथमिक र माध्यमिक विद्यालयसम्म विस्तार हुनेछ।
जर्मन भाषिक समुदायमा २०२५–२०२६ बाट विद्यालयमा मात्र नभई विराम वा ब्रेक समयमा समेत मोबाइल प्रयोग निषेध हुनेछ।
फ्लेमिस समुदायमा भने पूर्व-प्राथमिक र प्राथमिक विद्यालयमा प्रतिबन्ध पहिले नै लागू भइसकेको छ। तर २०२५–२०२६ बाट माध्यमिक तहमा पनि लागू हुनेछ। पहिलो र दोस्रो कक्षामा (निम्न माध्यमिक) पुरै दिन मोबाइल प्रयोग निषेध हुनेछ भने तेस्रो कक्षामा केवल कक्षा अवधिमा मात्र प्रयोग गर्न नपाइनेछ।
अभिभावकहरूका अनुसार यस कदमले बालबालिकालाई सामाजिक गतिविधि, खेलकुद र प्रत्यक्ष संवादमा सहभागी हुन प्रेरित गर्नेछ। शिक्षकहरूले पनि कक्षाको ध्यान केन्द्रित र अनुशासनमा सुधार हुने अपेक्षा गरेका छन्। तर कतिपयले विद्यालयहरूले नियम कार्यान्वयनमा कति प्रभावकारी कदम चाल्छन् भन्नेमा प्रश्न उठाएका छन्।
यसरी हेर्दा २०२५–२०२६ शैक्षिक वर्षदेखि बेल्जियमका सम्पूर्ण विद्यालयमा मोबाइल फोन र अन्य इलेक्ट्रोनिक उपकरणको मनोरञ्जनात्मक प्रयोग बन्द हुनेछ। अपवाद भने शैक्षिक, स्वास्थ्य वा आपतकालीन अवस्थामात्र हुनेछन्। यस कदमले विद्यार्थीलाई पढाइमा ध्यान केन्द्रित गराउन मद्दत गर्ने अपेक्षा गरिएको छ।