नाच्देऊ मैच्याङ तिमी डम्फुको तालैमा

माया तिमी लाइदेऊ मलाई

बिहे गर्छु आउने सालैमा’

२०३३ सालमा मीरा राणासँग शम्भुजित बास्कोटाले रेडियो नेपालमा गाएको यो गीतको नयाँ संस्करण आउने भएको छ । गीत रेकर्ड भएको ४७ वर्षपछि शम्भुजितले यो गीतको रिमेक गरेका हुन् । तर यसमा मीरा राणाको ठाउँमा शम्भुजितसँग पाल्मु शेर्पाको स्वर सुन्न पाइनेछ ।

‘अहिलेको पुस्तालाई हाम्रो संस्कृति र लोकलयबारे जानकारी दिन यो गीत पुनः रेकर्ड गरेको हुँ,’ बास्कोटाले अनलाइनखबरसँग भने, ‘म संगीतमार्फत पुनः नयाँ पुस्तासँग जोडिन चाहन्छु । किनभने त्यतिबेला जुन मेलोडी र लोकलयमा हामीले बनाएका थियौं । त्यही आधारमा पुनः एकपटक गाउन सकिन्छ कि भनेर नयाँ कलाकारसँग मिलेर गाएको हुँ ।’

पछिल्लो समय मिडिया, सामाजिक सञ्जाल र रियालिटी शोमा कभर गीतको शैलीमा गीत गुञ्जिन थालेपछि आफूले गीत रिमेक गरेको उनले बताए । ‘पहिले यसको जुन स्वरुप छु । सोही आधारमा गीत गाउन सक्छु कि सक्दिन भनेर गाएको हुँ,’ शम्भुजितले भने, ‘यो गीतको आफ्नै स्तर छ । मैले बीचमा रंगमञ्चमा पनि गाइरहेकै थिए ।’

दर्शकले यो गीतलाई म्युजिक भिडियोको माध्यममा पनि हेर्न पाउनेछन् । हरि हुमागाईंको निर्देशनमा धमाधम भिडियो छायांकन भइरहेको छ । गीतमा पल शाह र छिरिङ शेर्पाले अभिनय गर्दैछन् । पलले सामाजिक सञ्जालबाट यो गीतबारे जानकारी गराएका छन् ।

यसैबीच, सौर्य प्रोडक्सनसँग मिलेर शम्भुजितले फिल्म निर्माणको गृहकार्य पनि थालेका छन् । यसअघि उनले चौकादाउ फिल्म निर्माण गरेका थिए । ‘फिल्मको गृहकार्य पनि चलिरहेको छ । चाँडै यसबारे धेरै कुरा थाहा पाउनुहुनेछ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय