प्रवासस्थित नेपाली आदिवासी जनजाति महासंघहरुको विश्व भेला तथा महाधिवेशन सम्बन्धी अन्तरक्रिया हुँदै

काठमाडौं । विदेशमा रहेका नेपाली आदिवासी जनजाति महासंघहरुको विश्व भेला तथा महाधिवेशन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज शनिबार १८ सेप्टेम्बर हुँदैछ ।

नेपाली समय अनुसार आज साँझ सात बजेबाट हुने अन्तरक्रिया तथा संवाद कार्यक्रमको आयोजना नेपाल आदिवासी जनजाति महासंघको अन्तर्राष्ट्रिय तदर्थ समितिले गरेको हो । अन्तरक्रिया तथा संवाद कार्यक्रमको विषय विदेशका नेपाली आदिवासी जनजाति महासंघहरुको विश्व भेला तथा महाधिवेशन २०२१ नेफिन, संघीय परिषद सचिवालयसंगको सहकार्य, समन्वय र संस्थागत सम्बन्ध रहेको छ । विदेशमा क्रियाशील नेपाली आदिवासी जनजाति महासंघहरुबीच समन्वय गर्न स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय समन्वय तदर्थ समितिले आगामी अक्टोबरमा आफ्नो प्रथम महाधिवेशन गर्ने भएको छ ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ ((नेफिन) का पूर्व अध्यक्षहरु पासाङ शेर्पा, राजकुमार लेखी र नगेन्द्र कुमार कुमाल अतिथिको रुपमा सहभागी हुनेछन् । त्यस्तै नेफिनकै संस्थापक महासचिव सुरेश आले मगर र पूर्व महासचिवत्रय परशुराम तामाङ, बालकृष्ण माबुहाङ र डा. ओम गुरुङ पनि भर्चुअल कार्यक्रमको प्रमुख केन्द्र विन्दु हुनेछन् । कार्यक्रममा नेफिनका वर्तमान अध्यक्ष र सबै उपाध्यक्षहरुलाई पनि अतिथिको रुपमा सहभागिता हुन अनुरोध गरिएको नेपाल आदिवासी जनजाति महासंघ अन्तरराष्ट्रिय समन्वय तदर्थ समितिका संयोजक मानबहादुर राना मगरले नेपाल मामिलालाई बताए ।

प्रकाशित मिति २ आश्विन २०७८, शनिबार १०:३३

सम्बन्धित समाचारहरु