बेल्जियम/०१ जुलाई, २०२५ — नेपाल आदिवासी जनजाति महासंघ, बेल्जियम (NEFIN-Belgium) को आगामी अधिवेशनलाई लिएर संगठनकै शीर्ष पदाधिकारीहरूले गम्भीर आपत्ति जनाएका छन्। गत जुन २६ मा महासंघका महासचिव पेम्बा गेलु शेर्पा, कोषाध्यक्ष कविता साउदेन र संस्थापक सदस्य संस्था संयुक्त किरात समाज बेल्जियमले अध्यक्ष बिरमान मगरद्वारा आह्वान गरिएको अधिवेशनलाई “छापामार शैलीमा आयोजना गरिएको” भन्दै कडा आपत्ति जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ कि अधिवेशन जुलाई १ तारिखमा हुने जानकारी बिना सहमतिमा सार्वजनिक गरिएको छ, जसबारे महासचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष तथा अधिकांश सदस्यहरूलाई कुनै जानकारी दिइएको थिएन। अध्यक्ष बिरमान मगरमाथि एकलौटी निर्णय लिने, संस्था र समुदायको हितभन्दा व्यक्तिगत राजनीतिक स्वार्थलाई प्राथमिकता दिने आरोप लगाइएको छ।

“विगतदेखि नै अध्यक्षको स्वेच्छाचारी र पूर्वाग्रही कार्यशैलीका कारण महासंघमा आन्तरिक विवाद उत्पन्न हुँदै आएको छ,” विज्ञप्तिमा भनिएको छ। विशेष गरी संस्थापक सदस्य संस्था ‘संयुक्त किरात समाज बेल्जियम’ लाई बहिष्कृत गर्ने प्रयास र विना प्रक्रिया अन्य व्यक्तिहरूलाई महासंघमा घुसाउने क्रियाकलापहरू प्रति आपत्ति जनाइएको छ।
विज्ञप्तिका अनुसार, अध्यक्षले महासंघका महासचिव र सह–कोषाध्यक्ष (शेर्पा किदुग बेल्जियमका प्रतिनिधि) तथा कोषाध्यक्ष (संयुक्त किरात समाज बेल्जियमकी प्रतिनिधि) लाई बाइपास गरेर अधिवेशन आयोजना गर्न खोज्नु सम्बद्ध समुदायहरूप्रति सीधा अपमान हो। दुबै पदाधिकारीले यस्तो अधिवेशनलाई आफूहरूले मान्यता नदिने स्पष्ट उल्लेख गरेका छन्। “अध्यक्षको व्यक्तिगत र पक्षपाती हितमा आधारित यो तथाकथित अधिवेशनले भविष्यमा उत्पन्न हुनसक्ने कुनै पनि संस्थागत वा सामुदायिक दुर्घटनाको सम्पूर्ण जिम्मेवारी अध्यक्ष स्वयंले लिनुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ।
अर्को प्रसंगमा महासचिव पेम्बा गेलु शेर्पाले भनेका छन्, “अध्यक्षज्यूको पछिल्लो बैठकको नाटक मञ्चनले प्रमाणित गरिदियो कि यो अधिवेशन उहाँको ‘यसै खत्तम, उसै खत्तम’ भन्ने विक्षिप्त सोचको उपज हो। संस्थागत मर्यादा, लोकतान्त्रिक प्रक्रिया र पारदर्शिता सबै कुचिएको छ।”
शेर्पाका अनुसार, “सामान्यतया अध्यक्षले महासचिवमार्फत बैठक आह्वान गर्ने विधानतः प्रक्रिया हुन्छ, तर यहाँ अध्यक्षले डेड दुई वर्षदेखि महासचिवसँग कुनै संवाद नगरी बैठकको सूचना एकलौटी रूपमा बाहिर पठाउने गरेका छन्। अनि बाहिर भने ‘महासचिवले फोन नै उठाएन’ भनेर झुटो प्रचार गर्ने बेइमानी र गैरजिम्मेवार काम गरिएको छ।”
संयुक्त किरात समाज बेल्जियमको ध्यानाकर्षण
यसैबीच, महासंघको संस्थापक सदस्य संस्था संयुक्त किरात समाज बेल्जियम ले पनि छुट्टै विज्ञप्ति जारी गर्दै अधिवेशनप्रति गम्भीर आपत्ति जनाएको छ। उक्त विज्ञप्तिमा भनिएको छ: “महासंघको महाधिवेशनबारे कुनै जानकारी वा निमन्त्रणा नपाएको कुरा अत्यन्त दुर्भाग्यपूर्ण छ। हाम्रो संस्था अहिलेसम्म महासंघमा विधिवत रूपमा आबद्ध छ। तर पछिल्लो समय यस संस्थालाई योजनाबद्ध रूपमा बहिष्कार गर्ने प्रयास भएको छ।”

संयुक्त किरात समाजले महासचिव र कोषाध्यक्षको भूमिकाको समर्थन गर्दै अध्यक्षको वर्तमान कार्यशैलीप्रति प्रश्न उठाएको छ। संस्थाले आपसी संवाद र समन्वयका माध्यमबाट समाधान खोज्न आग्रह गर्दै अधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गरेको थियो। संस्थाका अध्यक्ष पुपुषा किराँती लिम्बु र महासचिव प्रतिक्षा कुलुङ राई द्वारा हस्ताक्षरित विज्ञप्तिमा महासंघको नाममा कुनै गुटगत वा व्यक्तिगत स्वार्थले प्रेरित कार्यक्रम नचलाउने चेतावनी दिइएको छ।
नेफिन बेल्जियमको अध्यक्षको मनोमानीको विरोधमा शेर्पा किदुग अलग हुने ।
नेपाल आदिवासी जनजाति महासंघ, बेल्जियम (नेफिन बेल्जियम) मा देखिएको अत्यधिक राजनीतिकरण, पारदर्शिताको अभाव र मनोमानी शैलीको नेतृत्वको विरोधमा संस्थाको संस्थापक सदस्य शेर्पा किदुग बेल्जियमले औपचारिक रूपमा नेफिन बेल्जियमबाट बाहिरिने निर्णय सार्वजनिक गरेको छ।
एक औपचारिक विज्ञप्ति जारी गर्दै शेर्पा किदुगले भनेको छ कि नेफिन बेल्जियमको मूल उद्देश्य—आदिवासी जनजातिहरूको हक, अधिकार र सम्मानको संरक्षण गर्दै सबै जातीय समुदायको सह-अस्तित्व र सहकार्यको भावना—बर्तमान नेतृत्वमा कमजोर पारिँदै गएको छ। विशेषगरी, अधिवेशनको सन्दर्भमा अध्यक्ष विरमान मगरले महासंघका अन्य पदाधिकारीहरू—जसमा महासचिव, कोषाध्यक्ष, र सह-कोषाध्यक्षसमेत छन्—संग कुनै परामर्श नगरी बैठक एकलौटी रूपमा आह्वान गर्नु संस्थागत लोकतन्त्रमाथिको गम्भीर हमला भएको आरोप लगाइएको छ।
शेर्पा किदुग बेल्जियमका तर्फबाट प्रतिनिधित्व गरिरहेका महासचिव तथा सह-कोषाध्यक्षको सहभागिता विना अधिवेशन सम्पन्न गर्ने प्रयासलाई संस्थाले आफ्नो भूमिकामाथिको उपेक्षा र अस्वीकारको संकेत मानेको छ। विज्ञप्तिमा भनिएको छ, “यस्तो कार्यले अधिवेशनको वैधानिकता र औचित्यमाथि गम्भीर प्रश्न उठाएको छ। अतः, शेर्पा किदुग बेल्जियम यस्तो अधिवेशनमा सहभागी नहुने निर्णयमा पुगेको छ।” शेर्पा किदुगले अबदेखि नेफिन बेल्जियमसँग कुनै पनि गतिविधिमा संलग्न नहुने जनाएको छ।
यो घटनाले बेल्जियममा रहेका नेपाली आदिवासी समुदायहरूबीच सहकार्य र संस्थागत नेतृत्वको संरचना पुनः मूल्याङ्कन गरिनुपर्ने स्पष्ट संकेत दिएको छ।