पेम्बा गेलु शेर्पा/बेल्जियम १० सेप्टेम्बर ।
– बेल्जियममा बसोबास गर्ने नेपाली युवाहरूले हालै नेपालमा भएका विनाशकारी घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली राजदूतावास ब्रसेल्समा ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा युवाहरूले नेपालको वर्तमान राजनीतिक र सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल भ्रष्टाचारमुक्त राष्ट्र बनाउनुपर्ने माग गरेका छन्। उनीहरूले स्पष्ट रूपमा भनेका छन् कि भ्रष्टाचारका कारण देशको विकास ढिलाइ भएको छ र जनताको जीवनमा गम्भीर असर परेको छ। त्यसैगरी, भ्रष्ट नेताहरूलाई विदेशमा कुनै प्रकारको स्वागत वा सम्मान दिन नहुने कुरा पनि उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा सत्य र न्यायका लागि संघर्ष गर्ने क्रममा जीवन गुमाएका साहसी युवाहरूको न्याय सुनिश्चित गर्नु पर्ने कुरा पनि जोडिएको छ। युवाहरूले भनेका छन्, “उहाँहरूको बलिदान केवल व्यक्तिगत होइन, सुशासन र परिवर्तनका लागि ज्यान गुमाएका हुन्।”
विदेशमा रहेका नेपाली नागरिकलाई नेपालको राष्ट्रिय निर्वाचनमा मतदानको अधिकार दिनुपर्ने विषयमा पनि ज्ञापनपत्रमा जोड दिइएको छ। “एकपटकको नेपाली, सधैं नेपाली” भन्ने सिद्धान्तअनुसार, विदेशमा रहेका नेपालीहरूले आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न पाउनु पर्छ। लाखौं नेपालीले विदेशमा बस्दै नेपालको अर्थतन्त्र र समाजमा योगदान दिइरहेका छन्, तर उनीहरूको राजनीतिक सहभागिता सुनिश्चित नगरे लोकतन्त्र पूर्ण हुन सक्दैन।
त्यस्तै, देशको कार्यकारी प्रमुख (राष्ट्रपति वा प्रधानमन्त्री) प्रत्यक्ष निर्वाचनमार्फत छानिनु पर्ने माग पनि यस ज्ञापनपत्रमा समावेश छ। यसले नेतृत्व र जनताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने, नेतृत्वलाई पारदर्शी र उत्तरदायी बनाउने र जनतामा विश्वास जगाउने विश्वास व्यक्त गरिएको छ।
ज्ञापनपत्रमा विशेष रूपमा भनिएको छ, “मात्र पारदर्शिता, न्याय र उत्तरदायित्वले मात्र यस विनाशबाट नेपाललाई पुनर्निर्माण गर्न सक्छ। यस सम्बन्धमा विदेशमा रहेका हाम्रा दूतावासहरू समेत जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्नेछ।” बेल्जियमका यी युवाहरूले राजदुत सेवा लम्साललाई ज्ञापनपत्र सम्बन्धित निकायसम्म पुर्याउन र नेपाली जनताको पक्षमा उभिन आग्रह गरेका छन्।
यो ज्ञापनपत्र केवल भावनात्मक अपील मात्र नभई, नेपालको दीर्घकालीन सुधार र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि युवा पुस्ताबाट उठाइएको स्पष्ट सन्देश पनि हो। बेल्जियममा बसोबास गर्ने यी युवाहरूले विदेशबाट पनि आफ्नो मातृभूमिप्रति जिम्मेवारी र योगदान देखाउँदै, देशमा पारदर्शिता, न्याय र लोकतान्त्रिक अधिकार सुनिश्चित गर्न भूमिका खेल्न चाहेको देखिन्छ।