लिस्बन – एन आर एन पोर्तुगलको हिजो सम्पन्न हुने भनिएको निर्वाचन एक क्षेत्र लिस्बन बाहेक अन्य क्षेत्रहरुमा हुन सकेन । लिस्बनमा कुल ६२७ मत खसेकोमा निर्वाचन समिति संयोजक रमेश कुमार गुरुङ र जनसम्पर्क समिति पोर्तुगलका उम्मेद्धवार प्रतिनिधिहरुको मिलेमतोमा ७ मत बढी हालिएको पाईएको छ ।
त्यसो त निज रमेश कुमार गुरुङ पनि जनसम्पर्क समितिकै मान्छे हुन, जसले गर्दा मतदाता नामावलीमा नामै नभएका व्यक्तिहरुलाई पनि बोलाएर मत हाल्न लगाएका थिए । ती व्यक्तिहरु अध्यक्ष उम्मेद्धवार सोमफुरी शेर्पाका प्रतिनिधिहरुले मतदाता नामावलीमा नाम रुजु गर्दा नाम नभएपछि फर्काईएको भएता पनि अर्का अध्यक्ष उम्मेद्धवार रविन अधिकारीका प्रतिनिधि चीजकुमार तामाङ र जया सापकोटाले निर्वाचन संयोजक रमेशकुमार गुरुङको समेत सहयोगमा तिनिहरुलाई आफ्ना उम्मेद्धवारहरुको पक्षमा मत हाल्न लगाएका थिए ।
यसरी निर्वाचन समितिका व्यक्तिहरु नै पक्षपातपूर्ण रुपमा एक पक्षको पक्षपोषण गरेर बढी मत हालेको पुष्टि भएपछि अर्का पक्षीय उम्मेद्धवारहरुले मुचुल्कामा सही गरेका छैनन । निर्वाचन सम्पन्न भएपछि मुचुल्का भन्दा बढी ७ मत अर्थात ६३४ वटा मतपत्र खर्च भएको पाईएपछि सो को विरोध हुँदा निर्वाचन संयोजक समेत रहेका रमेशकुमार गुरुङले तानाशाही शैलीमा सबैलाई चुप लाग भन्दै थर्काउन खोजेपछि माहोल तनाबपुर्ण बनेको थियो । संयोजक गुरुङको दादागिरी शैलीका कारण तनाबग्रस्त बनेको मतदान स्थलको अवस्था अझ तनाबपुर्ण हुने भएपछि अन्तमा निर्वाचन समितिले गल्ती स्वीकार गर्दै माफी मागेका थिए भने उनीहरु त्यहाँबाट सुरक्षाकर्मीको सहयोगमा मात्रै बाहिर निस्केर जान सफल भएका थिए ।
यसरी एक पक्षको पक्षपोषण गरेर मतादान गराउने निर्वाचन समितिको नियतका कारण अझैसम्म पनि मतादान भएको एक मात्र क्षेत्र लिस्बनको पनि मतगणना हुन सकेको छैन भने अन्य क्षेत्रहरुमा कहिले मतदान हुने अनिश्चित बनेको छ ।