पेम्बा गेलु शेर्पा/१५ सेप्टेम्बर ।
– बेल्जियमस्थित एनआरएनए (NRNA Belgium) मा देखिएको आन्तरिक विवाद र विभाजनका कारण नयाँ पुस्ताका नेपाली युवाहरू आक्रोशित बनेका छन्। जेन जेड (Gen Z) र जेन वाई (Gen Y) पुस्ताका प्रतिनिधिहरूले विज्ञप्ति जारी गर्दै तत्कालै दुवै दुवै NRNA Belgium विघटन गर्न माग गरेका छन्। उनीहरूले चेतावनी दिँदै भनेका छन्, यदि मागहरू पूरा नगरे आफूहरू शान्तिपूर्ण तर कठोर आन्दोलनमा उत्रिन बाध्य हुनेछन्।
युवापुस्ताले नेपालमा भइरहेका राजनीतिक संकट, अस्थिरता, विभाजन र बढ्दो भ्रष्टाचारको असर प्रवासमा पनि देखिन थालेको बताएका छन्। उनीहरूको भनाइमा, आशा दिने संस्थाको रूपमा रहेको एनआरएनए बेल्जियम उल्टै कांग्रेस–माओवादी र एमाले प्यानलमा विभाजित भई आफ्नो अस्तित्व नै प्रश्नमा पारेको छ।
विज्ञप्तिमा भनिएको छ, “एनआरएनए कुनै पनि पार्टीको शाखा होइन, यो सम्पूर्ण नेपालीहरूको साझा संस्था हो। तर, बेल्जियममा देखिएको दलगत विभाजनले यस संस्थाको विश्वासनीयता र अस्तित्व नै कमजोर बनाएको छ।”
युवापुस्ताले तीनवटा स्पष्ट माग राखेका छन्। पहिलो, बेल्जियममा बनेका दुवै दुवै NRNA Belgium तुरुन्त विघटन गर्नुपर्ने। दोस्रो, एनआरएनएलाई पुनः गैर–पार्टीगत, पारदर्शी र केवल नेपाली पहिचानमा आधारित बनाउनुपर्ने। तेस्रो, नयाँ संरचना समावेशी हुनुका साथै एकता, विश्वास र भविष्यप्रतिको स्पष्ट उत्तरदायित्व बोकेको हुनुपर्ने।
उनीहरूले आफ्नो माग पूरा गर्न १९ सेप्टेम्बर २०२५ शुक्रबार बेलुकी ८ बजेसम्मको अल्टिमेटम दिएका छन्। सो समयभित्र दुवै प्यानलले विघटनको घोषणा नगरे, आफूहरू शान्तिपूर्ण तर दृढ आन्दोलन सुरु गर्ने चेतावनी दिइएको छ।
युवापुस्ताले राजनीतिक स्वार्थप्रति असन्तोष प्रकट गर्दै भनेका छन्, “प्रवासमै पनि एनआरएनएलाई दलगत लाभका लागि प्रयोग गर्नु र नेपाली समुदायलाई विभाजन गर्नु अस्वीकार्य छ।”
बेल्जियममा रहेका नेपाली समुदायबीच एनआरएनएले एकता कायम गर्नुपर्ने बेला उल्टै दलगत स्वार्थका कारण विभाजन बढ्दै गएकोमा युवापुस्ता आक्रोशित भएका छन्। अब नेतृत्वले यसलाई गम्भीरतापूर्वक समाधान गर्ने हो वा अझ ठूलो संकट निम्त्याउने हो भन्ने प्रश्न प्रवासी नेपालीबीच उठ्न थालेको छ।