
आन्तरिक खिचातानी, दलगत ध्रुवीकरण र सामाजिक सञ्जालमा वाकयुद्ध ।
पेम्बा गेलु शेर्पा / बेल्जियम जुलाइ १४ ।
— नेपाली डायस्पोराको साझा संस्था मानिने गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियममा गम्भीर आन्तरिक संकट देखा परेको छ। एनआरएनएमा नेपाली मूलधारको राजनीतिक खिचातानीको छायाँ यस संस्थामा झनै गहिरिँदै गएको देखिन्छ। हाल एनआरएनए बेल्जियम कांग्रेस–माओवादी समर्थित र एमाले समर्थित दुई धारमा स्पष्ट रूपमा विभाजित भएको छ।
दुबै पक्षले आ-आफ्नै अधिवेशनको मिति तोकेर सदस्यता वितरणलाई तीव्रता दिइरहेका छन्, जसले संस्थालाई विभाजनतर्फ धकेलिरहेको प्रस्ट संकेत गर्छ।
कांग्रेस र माओवादीको समर्थन रहेको समूहको नेतृत्व गरिरहेकी अध्यक्ष सीता सापकोटाले आगामी १७ अगस्ट २०२५ मा अधिवेशनको मिति तोकिएको घोषणा गरेकी छन्।उता, एमाले निकट समूहका संयोजक लोकेन्द्र नेपालले नेतृत्व गरेको पक्षले भने आफ्नो अधिवेशन २७ जुलाई २०२५ का लागि तोकिसकेको छ।
दुबै पक्षले एनआरएनएको आधिकारिक प्रतिनिधित्वको दावी गरिरहेका छन्। सामाजिक सञ्जालमा लगातार रूपमा पोस्ट, आरोप, प्रत्यारोप र गालीगलौजले संस्था नै बिखण्डनतर्फ उन्मुख भइरहेको देखिन्छ।
एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष खड्ग बहादुर केसीले हालै सामाजिक सञ्जालमा वर्तमान अध्यक्ष सिता सापकोटालाई घोचपेच गर्दै लेखेका छन्:
“बेल्जियम बसेर नेपालको अति चर्को राजनीति गर्ने, कुनै बेला कुनै दलको भातृ संगठनको नेतृत्व गरेर समाजलाई विभाजित गरेको इतिहास रचिसकेका, दम्भी र शून्य सहनशीलता स्वभावका तथा आफ्ना गल्ती ढाकछोप गर्न सधैं अरूलाई दोष थोपर्नेहरूलाई नेतृत्वमा पठाउनु भनेको समाजलाई अझै टुक्र्याउने काम हो भन्ने कुरा अब हामी सबैले बुझ्न जरुरी छ।”
उनले थप लेखेका छन् कि बेल्जियमवासीहरूले “महाशय”हरूमाथि समाजको एकताको आशा गर्नु ठूलो भूल गरेको उल्लेख गर्दै लोकेन्द्र नेपाल नेतृत्वको हालको संयोजनलाई “सही व्यक्ति, सही ठाउँ” (Right man in the right place) को रुपमा ब्याख्या गरेका छन्।
यता अध्यक्ष सापकोटाले पनि एमाले पक्षप्रति जवाफी प्रहार गरेकी छन्। “हैन चुनाव त धेरैले हारेका हुन्छन, तर चुनाव हार्दैमा शुरु देखि नै यतिबिधी उपद्रो गरेर समाज फुटाउने काम त कसैले गर्दैनन भाई, Be cool.” उनका यी भनाइहरु एमाले समूहबाट अधिवेशनमा पराजित भएका तिर्थ धमलालप्रति लक्षित थिए।
सामाजिक संजाल: बहसको अखाडा
एनआरएनएको यो विवाद सामाजिक सञ्जालमार्फत झनै सतहमा आएको छ। दुबै पक्षका समर्थकहरूले व्यक्तिगत आक्षेप, गालीगलौज र आरोपहरूको वर्षा गरिरहेका छन्। यसले बेल्जियममा बसोबास गरिरहेका नेपाली समुदायमा निराशा र असहजता थपिएको छ।
सामाजिक सञ्जालमा देखिएको यो चर्को मतभेदले दुबै पक्ष संवाद र मेलमिलापको सम्भावनाबाट टाढा हुँदै गएको संकेत गर्दछ। समाज सुधारको मूल उद्देश्य बोकेको एनआरएनए जस्तो संस्थामा व्यक्तिगत अहंकार र दलगत सोच हावी हुनु चिन्ताजनक संकेत हो भन्ने आम नेपालीको धारणा देखिन्छ।
हालको अवस्था हेर्दा दुबै पक्ष आफ्नो रणनीतिमा अडिग छन् र मेलमिलापका लागि कुनै पहल नदेखिएको अवस्था छ। यदि कुनै चमत्कारिक पहल नभए, एनआरएनए बेल्जियमको आगामी अधिवेशनहरुपछि औपचारिक रूपमा दुई समूहमा विभाजन हुने सम्भावना बलियो देखिन्छ।
एनआरएनएजस्तो संस्थाले प्रवासी नेपालीको हकहित, एकता र पहिचानको प्रतिनिधित्व गर्नुपर्ने हो। तर बेल्जियममा भइरहेको यो विवादले संस्थाको नैतिक धरातललाई कमजोर बनाइरहेको छ।