✍️ पेम्बा गेलु शेर्पा,
सचिव, नेपाल पत्रकार महासंघ,
बेल्जियम शाखा

बेल्जियमको कर प्रणाली नेपाली कामदारहरूका लागि वर्षको एक पटक दोहोरिने तनावको विषय बन्छ। कर वर्ष समाप्त भएपछि धेरैले आशा गर्छन् कि आफूले वर्षभर तलबबाट कटाइएको करमध्ये केही रकम फिर्ता पाइन्छ। तर जब सरकारी पत्र हात पर्छ, कोहीले फिर्ता पाइरहेका हुन्छन् भने कोहीले फेरि तिर्नुपर्ने जानकारी पाउँछन्। यसले धेरैलाई आश्चर्यचकित बनाउँछ, विशेष गरी तब, जब एउटै तलब र एउटै पारिवारिक अवस्थाका दुई व्यक्ति फरक परिणाम भोगिरहेका हुन्छन्।

बेल्जियममा काम गरिरहेका हजारौं नेपाली आप्रवासी श्रमिकहरू मध्ये धेरैजसो खासगरी नेपाली रोजगारदातासँग आवद्ध रहेका छन्। उनीहरू प्रायः वर्षैपिच्छे कर तिर्नुपर्ने अवस्थामा पर्छन्, जब कि अरू यूरोपेली वा बेल्जियन कम्पनीहरूमा काम गर्ने नेपालीहरूले भने कर फिर्ता पाइरहेका छन्। यस्तो अवस्था आफैंमा बेल्जियमको कर प्रणालीको विशेषता होइन, तर यसभित्र लुकेका विवरणहरू बुझ्न नसक्नु र रोजगारदाताबाट प्राप्त हुने कागजात तथा विवरणहरूमा हुने त्रुटिहरूको परिणाम हो।

बेल्जियमको कर प्रणालीलाई हेर्दा यो वास्तबमा “प्रगतिशील कर प्रणाली” अन्तर्गत पर्छ। यसको अर्थ, व्यक्तिको आम्दानी जति बढ्छ, तिनको कर दर पनि त्यति नै बढ्ने हुन्छ। यो दर २५ प्रतिशतदेखि लिएर ५० प्रतिशतसम्म पुग्न सक्छ। यद्यपि, मासिक रूपमा तलबबाट पहिले नै कर कटौती हुने व्यवस्था छ, जसलाई “Précompte Professionnel” भनिन्छ। तपाईंको रोजगारदाताले तपाईंको आम्दानीका आधारमा करको अनुमान गरि प्रत्येक महिना तलबबाट एक निश्चित रकम राज्यलाई बुझाउँछ। वर्षको अन्त्यमा राज्यले तपाईंको कूल आम्दानी, पारिवारिक अवस्था, छुटयोग्य खर्च र अन्य विवरणको आधारमा निर्णय गर्छ कि तपाईंले धेरै कर तिरेको हो वा अझ तिर्न बाँकी छ।

तर यथार्थमा हेर्दा, धेरैजसो नेपाली कामदारहरूले यी विवरणहरू बुझ्ने फुर्सद वा जानकारी नपाउने भएकाले उनीहरूले अनावश्यक कर तिर्नुपरेको अवस्था देखिन्छ। उदाहरणका लागि, यदि दुई व्यक्तिको तलब बराबर छ र दुवैजना विवाहित छन्, एउटाले आफ्ना पार्टनरको विवरण र छोराछोरीको अवस्था कर फाइलिङमा सही रूपमा प्रस्तुत गर्छ भने ऊ कर फिर्ता पाउने सम्भावना हुन्छ। तर अर्का व्यक्तिले ती विवरण बुझाउन सकेनन् भने, राज्यले उनीलाई उच्च करदाताको रूपमा हेर्ने सम्भावना हुन्छ र त्यसले तिर्नुपर्ने कर थपिदिन्छ।

विशेषतः नेपाली रोजगारदातासँग काम गरिरहेका श्रमिकहरूको समस्यालाई नियाल्दा, धेरैजसो अवस्थामा उनीहरूले करसम्बन्धी आधिकारिक कागजात समयमा पाउँदैनन्। बेल्जियममा कामदारले आफ्नो वार्षिक आय विवरण ‘fiche 281.10’ को रूपमा पाउनु अनिवार्य हुन्छ। यो कागजात नपाएमा कर फाइलिङ गर्न सकिंदैन, वा गलत विवरणका कारण फिर्ता पाउने अवसर छुट्न सक्छ। अझ कतिपय अवस्थामा त यस्ता रोजगारदाताहरूले करको उचित दरमा तलब कटौती नै नगरेका, अथवा कर्मचारीलाई नगद तलब दिने प्रवृत्तिका कारण सरकारी अभिलेखमा ती कामदारहरू सही ढंगले दर्ता भएका हुँदैनन्। यस्तो अवस्थाले गर्दा कर्मचारी स्वयं करदाताको रूपमा कमजोर बन्न पुग्छन्।

त्यस्तै, धेरै नेपाली कामदारहरूले आफ्नो पारिवारिक अवस्था, घर कर्जा, बालबच्चाको देखभाल खर्चजस्ता छुटयोग्य विवरणहरू बुझाउँदैनन् वा बुझाउन जान्दैनन्। राज्यले कर गणनाको क्रममा यस्ता विवरणहरूलाई छुट दिने आधारको रूपमा लिन्छ। यदि तपाईंले बच्चाको डे–केयर खर्च, घर किन्न लिएको कर्जाको ब्याज, वा कुनै सामाजिक योगदान जस्तो विषय समावेश गर्नुभयो भने त्यसले तपाईंको कर घटाउन सक्दछ। तर यस्ता विवरण अनुपस्थित हुँदा, तपाईंलाई उच्च करदाताको रूपमा वर्गीकृत गरिन्छ र त्यसैले तिर्नुपर्ने रकम बढ्छ।

यदि तपाईं सधैं कर तिर्न बाध्य हुनुहुन्छ भने, तपाईंले पहिले आफ्नो नियोक्ताबाट प्राप्त तलब फिचेको विवरण जाँच गर्न आवश्यक हुन्छ। त्यसपछि आफूले बुझाएको कर विवरण (Tax Return) मा पारिवारिक स्थिति, आम्दानी स्रोत, खर्च र छुटहरू सबै पूर्ण रूपमा उल्लेख गरिएको छ कि छैन भनेर पनि जाँच गर्नुपर्छ। यस्तो मूल्यांकनमा सहायता लिनको लागि युनियन (ACV/ABVV), नगरपालिकाको सामाजिक सेवा केन्द्र, वा निजी कर सल्लाहकारहरू उपयोगी हुन सक्छन्। सरकारी वेबपोर्टल MyMinfin.be मार्फत आफैंले पनि कर विवरण बुझाउन सकिन्छ।

तर यदि तपाईंको रोजगारदाताबाट Fiche नै प्राप्त भएको छैन, कर विवरणहरू बुझाउने क्रममा धोका भएको छ, वा तलब सहीरूपमा राज्यमा रिपोर्ट गरिएको छैन भने तपाईंले उजुरी गर्न सक्नुहुन्छ। यस्ता उजुरीका लागि बेल्जियमको कर प्रशासन (SPF Finances) वा सामाजिक निरीक्षण निकाय (Inspection Sociale) मा सम्पर्क गर्न सकिन्छ। यस्ता उजुरीहरू गोप्य रूपमा दर्ता गर्न सकिन्छ र तपाईंको आवासीय वा श्रम स्थिति यसबाट असर पर्दैन।

स्वरोजगार (freelance/self-employed) को अवस्थामा भने, कर विवरण अझ जटिल हुन सक्छ। यस्तो अवस्थामा सबै खर्चहरूको प्रमाणित विवरण राख्नुपर्ने हुन्छ र निर्धारित समयभित्र कर विवरण बुझाउनुपर्ने हुन्छ। बेल्जियममा स्वरोजगारको लागि VAT र BTW सम्बन्धी दर्ता प्रक्रिया पनि अनिवार्य हुन्छ। कर विवरण गम्भीरतापूर्वक नबुझाएमा ठूलो जरिवाना लाग्न सक्छ वा राज्यले तपाईंको खाताबाट नै रकम असुल गर्न सक्छ।

अन्ततः, बेल्जियमको कर प्रणाली आफ्नै स्थानमा न्यायपूर्ण र स्पष्ट छ। तर यसको लाभ उठाउनका लागि जानकारी, सावधानी र कागजातहरूको व्यवस्थापन अत्यावश्यक छ। नेपाली समुदायमा अझै पनि “काम पाइयो, तलब पाइयो, बाकी बुझिन्न” भन्ने प्रवृत्तिले गर्दा धेरैजसो श्रमिकहरू फाइदा भन्दा घाटामा परेका छन्। कर बुझाउनु मात्रै होइन, फिर्ता पाउनु पनि तपाईंको अधिकार हो। त्यसैले यहाँको वास्तविक कर प्रणाली बुझौं, सजग बनौं, र कानुनी हिसाबले आफ्नो अधिकार सुरक्षित गरौं।

👉 यो रिपोर्ट उपयोगी लाग्यो भने शेयर गर्न नबिर्सनुहोस्!
📩 तपाईंको कर अनुभव हामीलाई पठाउन चाहनुहुन्छ भने: pemba199@gmail.com मा इमेल गर्नुस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय