लिस्बन, पोर्तुगल – किराँत राई सोसाइटी पोर्तुगलले स्पष्ट रूपमा राजनीतिक लाइन लिएको भन्दै विवाद उत्पन्न भएको छ। सोसाइटीका अध्यक्ष दिपेस राईले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्तुगलको दिपा काफ्ले नेतृत्वको आसन्न अधिवेशनको विरोध गरेका छन्।
हाल पोर्तुगलमा एनआरएनएभित्र केन्द्रीय विवादका कारण दुई समानान्तर समिति सक्रिय छन्। अध्यक्षद्वय बद्री केसी (एमाले पक्षधर) र महेश श्रेष्ठ (काङ्ग्रेस पक्षधर) नेतृत्वको यी समितिहरूलाई क्रमशः उमेश खड्गा र दिपा काफ्लेले पोर्तुगलमा नेतृत्व गरिरहेका छन्। गैरराजनीतिक संस्था भए पनि एनआरएनएभित्रको चरम राजनीतिक खिचातानीले संस्थाको अस्तित्व नै सङ्कटमा परेको अवस्थामा किराँत राई सोसाइटीजस्तो जातीय सामाजिक संस्थाले देखाएको यो राजनीतिक पक्षधरता राई समुदायलाई विभाजन गर्ने कदमको रूपमा हेरिएको छ।
विज्ञहरूका अनुसार, सिङ्गो राई समाज कुनै खास राजनीतिक पार्टीको अधीनमा रहने कुरा कल्पनाभन्दा बाहिर छ। यस्तो अवस्थामा सामाजिक संस्थाका नेतृत्वले आफ्नो व्यक्तिगत विचारभन्दा माथि उठेर समुदायको एकताको नेतृत्व गर्नुपर्ने अपेक्षा गरिन्छ। दिपेस राईको यो कदमले किराँत राई सोसाइटीको गैरराजनीतिक पहिचानमाथि नै प्रश्न उठाएको छ।