
पेम्बा गेलु शेर्पा / १६ जुन २०२५ ।
— नेपाल शेर्पा संघको सातौँ महाधिवेशनबाट सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधित्व गर्दै ल्हाक्पा ठिलेन शेर्पा (हिमाली कान्छा) अध्यक्षमा निर्वाचित हुनुभएको छ। उहाँ सिन्धुपाल्चोकबाट नेपाल शेर्पा संघको अध्यक्ष बन्ने पहिलो व्यक्ति बन्नुभएको छ। उहाँले २१३ मत ल्याउनुभएर प्रतिद्वन्दी तेन्जिङ शेर्पालाइ पराजित गर्नुभएको हो । तेन्जिङ शेर्पाले १४४ मत पाएका थिए । यस्तै, महासचिव पदमा पत्रकार ल्हाक्पा ग्याल्जेन शेर्पाले पूर्वमन्त्री तथा नेकपा एमालेका नेता कृपासुर शेर्पाका छोरा फुर्बा तेन्जिङ शेर्पालाई भारी मतान्तरले पराजित गर्दै जित हासिल गरेको छ। पत्रकार शेर्पाले १९९ मत पाउँदा पुर्व मन्त्रीका छोराले १३५ मत पाएका छन । निवर्तमान महासचिव ल्हाक्पा शेर्पा पनि वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
ल्हाक्पा ठिलेन शेर्पा पाँचौँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवार भएर पराजित भएका थिए भने अघिल्लो कार्यसमितिमा सल्लाहकारको भूमिका निर्वाह गर्नुभएको थियो। व्यक्तिगत रूपमा इमानदार छवि बनाएका उहाँ लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ। उहाँको उल्लेखनीय सामाजिक कार्यमध्ये कुवेतमा मृत्युदण्डको सजाय घोषणा भएकी डोल्मा शेर्पाको जीवन बचाउन नेतृत्व गरेको अभियान सबैभन्दा स्मरणीय छ। उक्त अभियानमार्फत उहाँले नेपाली चेली डोल्मा शेर्पालाई जीवितै नेपाल फर्काउन सफल हुनुभएको थियो, जुन शेर्पा समुदाय र समग्र नेपाली समाजका लागि गर्वको विषय बनेको छ।
त्यसैगरी महासचिव पदमा पत्रकार ल्हाक्पा ग्याल्जेन शेर्पाले पुर्व मन्त्री समेत रहनुभएका एमाले नेता कृपासुर शेर्पाको छुरा फुर्बा तेन्जिङ शेर्पालाई ठूलो मतान्तरले पराजित गर्नुभएको छ। अघिल्लो कार्यसमितिमा सचिव रहेका पत्रकार शेर्पाले आफ्नो अनुभव, समर्पण र समुदायप्रतिको निष्ठालाई मतदाताले विश्वास गरेका छन्। फुर्बा तेन्जिङ शेर्पा भने अघिल्लो कार्यसमितिमा उपमहासचिव थिए। पत्रकार शेर्पाको यो जितले उहाँको नेतृत्व र लोकप्रियताको बलियो सन्देश दिएको छ।
नेपाल शेर्पा संघ गैरराजनीतिक र विशुद्ध सामाजिक संस्थाको रूपमा परिचित भए पनि यसका महाधिवेशनहरूमा राजनीतिक दाउपेचको इतिहास लामो छ। चौथो र पाँचौँ महाधिवेशनमा पनि पार्टीगत प्यानल बनाएर चुनाव लडिएको थियो। यसपटकको सातौँ महाधिवेशनमा नेपाली काङ्ग्रेस, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीको गठबन्धनले ल्हाक्पा ठिलेन शेर्पाको प्यानललाई समर्थन गरेको थियो। उता, नेकपा एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको गठबन्धनले तेन्जिङ शेर्पाको प्यानललाई अघि सारेको थियो। तीव्र प्रतिस्पर्धामा ठिलेन शेर्पाको प्यानल विजयी हुँदा एमाले र अशोक राई नेतृत्वको गठबन्धन पराजित भएको छ।
यो राजनीतिक प्रभावले शेर्पा संघको स्वतन्त्र पहिचानमाथि प्रश्न उठाएको छ। विश्लेषकहरूले सामाजिक संस्थाहरूमा राजनीतिक हस्तक्षेपले समुदायको एकता र उद्देश्यमा असर पार्न सक्ने चेतावनी दिएका छन्। यद्यपि, नवनिर्वाचित नेतृत्वले यस्ता प्रभावलाई न्यूनीकरण गर्दै समुदायको हितमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ।
नवनिर्वाचित कार्यसमिति
महाधिवेशनले चयन गरेको नयाँ कार्यसमिति यसप्रकार रहेको छ:
- अध्यक्ष: ल्हाक्पा ठिलेन शेर्पा (हिमाली कान्छा)
- वरिष्ठ उपाध्यक्ष: लाक्पा शेर्पा
- उपाध्यक्षहरू: दावा शेर्पा, संजय शेर्पा, बाबुकाजी शेर्पा
- महिला उपाध्यक्षहरू: आङकान्डु शेर्पा, ल्हमु शेर्पा, लन्जम शेर्पा
- महासचिव: ल्हाक्पा ग्याल्जेन शेर्पा
- उपमहासचिव: साङ दोर्जे शेर्पा
- सचिवहरू: मिङमार सार्की शेर्पा, माछिरी शेर्पा, दावा शेर्पा (डि.एन.)
- कोषाध्यक्ष: आङ दोर्जे शेर्पा
- सहकोषाध्यक्ष: नुर्पु शेर्पा
सदस्यहरू:
- लाक्पा शेर्पा
- सोनाम टाशी शेर्पा
- दोर्जे शेर्पा
- लाक्पा रिन्जे शेर्पा
- छिरिङ शेर्पा
- ङाटासी शेर्पा
- छिरिङ शेर्पा
- लाक्पा शेर्पा
- पासाङ किपा शेर्पा
- सोनाम शेर्पा
- बिरे शेर्पा
- आङनिमा शेर्पा
- छोङबा शेर्पा
- नुर्बु शेर्पा
- ल्हाक्चुङ शेर्पा (सलाका)
नेतृत्वको प्रतिबद्धता र भविष्यको बाटो
नवनिर्वाचित अध्यक्ष ल्हाक्पा ठिलेन शेर्पाले शेर्पा समुदायको सांस्कृतिक धरोहरको संरक्षण, सामाजिक एकता र समग्र विकासका लागि अथक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले भने, “हाम्रो समुदायको गौरव र पहिचानलाई जोगाउँदै सामाजिक हितमा काम गर्नु हाम्रो पहिलो प्राथमिकता हो। राजनीतिक प्रभावलाई पन्छाएर हामी समुदायको उत्थानमा केन्द्रित रहनेछौँ।”
महासचिव ल्हाक्पा ग्याल्जेन शेर्पाले पनि आफ्नो पत्रकारिताको अनुभव र नेतृत्व कौशललाई समुदायको एकताका लागि उपयोग गर्ने बताउनुभएको छ। उहाँको नेतृत्वमा संघले सञ्चार र जागरूकताका क्षेत्रमा थप सक्रियता देखाउने अपेक्षा गरिएको छ।
यो महाधिवेशनले शेर्पा समुदायमा नयाँ जोश र जाँगर ल्याएको छ। तर, राजनीतिक प्रभावको छायाले संघको स्वतन्त्रतामाथि प्रश्न उठाएको छ। नवनिर्वाचित कार्यसमितिले यी चुनौतीलाई कसरी सम्बोधन गर्छ र शेर्पा समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक विकासमा कस्तो योगदान पुर्याउँछ, त्यो आगामी दिनमा प्रष्ट हुनेछ। ल्हाक्पा ठिलेन शेर्पा र ल्हाक्पा ग्याल्जेन शेर्पाको नेतृत्वमा शेर्पा समुदायले नयाँ उचाइ हासिल गर्ने विश्वास गरिएको छ।