✍️ पेम्बा गेलु शेर्पा,
पूर्व महासचिव, शेर्पा संघ युरोप

शेर्पा संघ युरोप, युरोपमा बसोबास गर्ने शेर्पा समुदायको साझा मञ्चको रूपमा, सन् २०१० मा युरोपका विभिन्न देशमा स्थापित शेर्पा संघ–संस्थाहरूको प्रतिनिधिमूलक महासंघको ढाँचामा स्थापना भएको संस्था हो। यो संस्थाले शेर्पा समुदायको शैक्षिक विकास, संस्कृति र परम्पराको हित प्रवद्र्धन गर्ने उद्देश्य लिएको थियो। स्थापनाकालदेखि नै यो संघले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै र विभिन्न देशका शेर्पा संघ–संस्थाहरूसँग सहकार्य गरेर सक्रिय रूपमा काम गरिरहेको थियो। तर, पछिल्ला केही वर्षदेखि यो संघ आफ्नो उद्देश्य र सक्रियताबाट टाढिएको छ। यसले युरोपमा बसोबास गर्ने शेर्पा समुदायमा गम्भीर प्रश्नहरू उब्जाएको छ। यो लेखले शेर्पा संघ युरोपको गौरवमय इतिहास, हालको गतिविधिहीन अवस्था र नेतृत्वको असक्षमताको आलोचनात्मक विश्लेषण प्रस्तुत गर्नेछ।

सन् २०१० मा औपचारिक रूपमा स्थापना भएदेखि शेर्पा संघ युरोपले आफ्नो सक्रियताले युरोपमा रहेका शेर्पा समुदायलाई एकजुट बनाउन महत्त्वपूर्ण भूमिका खेल्यो। सन् २०१० देखि २०१३ सम्म बेलायतका आङ कल्जाङ लामा शेर्पाले संस्थापक अध्यक्षको रूपमा नेतृत्व गर्नुभयो। उहाँको कार्यकालमा संघले नियमित भर्चुअल बैठकहरू र वर्षमा एकपटक अनिवार्य भौतिक बैठकहरू सञ्चालन गर्ने थिति बसाल्यो। त्यसैगरी, सामाजिक, शैक्षिक र सांस्कृतिक हितका लागि संस्थाले लिएको उद्देश्यअनुसार नेपालका विभिन्न संघ–संस्थाहरूसँग सहकार्य गर्नेदेखि गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरियो। त्यसपछि सन् २०१३ देखि २०१६ सम्म स्पेनबाट हेम शेर्पाले शेर्पा किदुग स्पेनको प्रतिनिधित्व गर्दै नेतृत्व सम्हाल्नुभयो। उहाँको कार्यकालमा पनि नियमित भर्चुअल र वार्षिक भौतिक बैठकहरूले निरन्तरता पाए। अघिल्लो कार्यकालले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषलाई वृद्धि गरी १० लाख रुपैयाँ पुर्‍याइयो। त्यसपछि सन् २०१६ देखि २०१९ सम्म बेल्जियमबाट शेर्पा किदुग बेल्जियमको प्रतिनिधित्व गर्दै फुला शेर्पाले नेतृत्व गर्नुभयो। उहाँको कार्यकालमा पनि यी बैठकहरू नियमित रूपमा सञ्चालित भए। फुला शेर्पाको नेतृत्वमा रहेको तेस्रो कार्यसमितिले अघिल्लो कार्यसमितिबाट जिम्मा लिएको १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोषलाई वृद्धि गरेर २२ लाख रुपैयाँ पुर्‍यायो र दीर्घकालीन रुपमा भरपर्दो व्यवस्थापनका लागि नेपालको बैंकमा मुद्द्ती गरि सो को ब्याज रकमले अझ धेरै विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गर्‍यो। यी तिनवटै  कार्यकालमा संस्थाको विधानलाई आत्मसात् गर्दै संघले अवलम्बन गरेका उद्देश्यप्रति प्रतिबद्ध रही रचनात्मक गतिविधिहरू नियमित रूपमा सञ्चालन गरेर कार्यकाललाई सार्थक बनाएको गर्विलो इतिहास कायम भएको थियो। प्रत्येक नेतृत्वले आफ्नो तीन वर्षे कार्यकाल विधानअनुसार तोकिएको समयावधी भित्र सफलतापूर्वक सम्पन्न गर्‍यो।

सन् २०१९ मा बेल्जियममा सप्पन्न चौथो महाधिवेशनबाट जर्मनीका दावा ग्याल्जेन शेर्पाले शेर्पा किदुग जर्मनीको प्रतिनिधित्व गर्दै चौथो कार्यकालका लागि नेतृत्व सम्हाल्नुभयो। तर, उहाँले नेतृत्व सम्हालेपछि भने दु:खका साथ भन्नुपर्दा शेर्पा संघ युरोपको अवस्था क्रमशः निराशाजनक बन्दै गयो। कार्यकालको पहिलो वर्ष सन् २०२० मा कोभिड महामारी सुरु भयो, जसले गर्दा कार्यकालको पहिलो बार्षिक भौतिक बैठक बस्न सकेन, जुन समयसापेक्ष स्वभाविक नै थियो। यद्यपि, शेर्पा संघ युरोपले स्थापनाकालदेखि नै वार्षिक भौतिक बैठकबाहेक सबै नियमित र आकस्मिक बैठकहरू भर्चुअल माध्यममा नै संचालन गर्दै आईरहेको थियो। अनि कोभिडका कारण विश्वभरका अन्य संघ–संस्थाहरू, जो वास्तवमै भर्चुअल बैठकमा अभ्यस्त थिएनन्, तिनले पनि आफ्ना नियमित गतिविधिहरूलाई सक्रिय राख्न बैठकदेखि अधिवेशनसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्न थाले। तर, विडम्बना नै भन्नुपर्छ, दावा ग्याल्जेन शेर्पाको नेतृत्वमा रहेको शेर्पा संघ युरोप, जो वर्षौंदेखि भर्चुअल बैठकमा अभ्यस्त थियो, उसले कोभिडको कारण देखाएर भर्चुअल बैठकहरू समेत नियमित रुपमा गर्न छोड्यो। अहिले कोभिड विश्व महामारीबाट मुक्त भई सामान्य जनजीवनमा फर्केको वर्षौं भइसकेको छ, तैपनि शेर्पा संघ युरोपको नियमित बैठक र गतिविधि भने लगभग ठप्प छ। जसले गर्दा एक समय गर्विलो इतिहास बोकेको यो संघ आज खोज्नै मुश्किल अवस्थामा पुगेको छ।

त्यतिमात्र होइन, संघको विधानले तोकेको तीन वर्षे कार्यकाललाई पूर्ण रूपमा बेवास्ता गरिएको छ। विगतका अध्यक्षहरुले झै दावा ग्याल्जेन शेर्पाले पनि विधानबमोजिम तीन वर्षका लागि शेर्पा संघ युरोपको नेतृत्व लिनुभएको थियो, तर अहिले संघको चौथो महाधिवेशन सम्पन्न भएको ६ वर्षभन्दा बढी समय बितिसक्दा पनि पाँचौ महाधिवेशन गर्न सकेका छैनन्। यसले उहाँ सामाजिक संस्थाको लोकतान्त्रिक व्यवस्थाप्रती जिम्मेवार नभएको र संघको विधानप्रति पुर्ण रुपमा उत्तरदायी नभएको कुरा पुष्टि गर्दछ। उहाँले नेतृत्व सम्हाल्दा निवर्तमान अध्यक्ष फुला शेर्पाको कार्यकालले हस्तान्तरण गर्नुभएको २२ लाख रुपैयाँको अक्षयकोषलाई दोब्बर गर्ने खुला प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो। तर, त्यससम्बन्धी कुनै प्रगति भएको पाइएको छैन।

शेर्पा संघ युरोपको यो पछिल्लो नेतृत्वले प्रदर्शन गरेको बेथितिविरुद्ध आवाजहरू प्रशस्तै उठिरहेका छन्। शेर्पा किदुग पोर्तुगलका अध्यक्ष राजेन्द्र शेर्पाले संगठनलाई पुनर्जागृत गर्न तत्काल महाधिवेशनको माग गर्नुभएको छ। त्यसैगरी, निवर्तमान अध्यक्ष फुला शेर्पाले पनि समयमै महाधिवेशन गर्नुपर्ने कुरालाई बारम्बार जोड दिनुभएको छ। तर, यी मागहरूलाई अध्यक्ष दावा ग्याल्जेन शेर्पाले कुनै सम्बोधन गर्नुभएको छैन। उहाँको यो उदासीनताले संस्थाको गतिशीलता र विकासप्रति इच्छाशक्ति विल्कुल नभएको र केवल पदकै लागि मात्रै विधानविपरीत नै भएपनि कार्यकाल लम्ब्याउने प्रयास गरिरहेको प्रष्ट देखाउछ । यसले वास्तवमै सामाजिक संस्थाको लोकतान्त्रिक मूल्यलाई कमजोर बनाएको छ।

दावा ग्याल्जेन शेर्पाको नेतृत्वमा देखिएको यो असक्षमता केवल व्यक्तिगत कमजोरीमा सीमित छैन। यसले समग्र संघको विश्वसनीयतामाथि नै प्रभाव पारेको छ। नियमित भर्चुअल र भौतिक बैठकहरूको अभाव, आर्थिक प्रतिबद्धताहरू पूरा नहुनु, र गतिविधिहरूको शून्यताले युरोपमा शेर्पा संघको सान्दर्भिकता गुमेको छ। अक्षयकोष वृद्धिको प्रतिबद्धता पूरा नहुनुले नेतृत्वको आर्थिक जवाफदेहीतामाथि प्रश्न उठाएको छ। कोभिड–१९ महामारीलाई गतिविधिहीनताको कारण देखाउनु विश्वसनीय छैन। युरोपमा रहेका शेर्पा समुदायको सांस्कृतिक र सामाजिक पहिचानलाई जोगाउने र जसका लागि युरोपका विभिन्न देशमा स्थापित शेर्पा संघ संस्थाहरुलाइ समन्वय गर्नमा यो कार्यकालको विफलताले समुदायमा निराशा र असन्तुष्टि बढाएको छ। नेतृत्वले सुधारका मागहरूलाई समेत बेवास्ता गर्नु र सुझावहरुलाइ समेत व्यक्तिगत इगोको रुपमा हेर्नुले नेतृत्वमा हुनुपर्ने उदारताको कमि र संगठनभित्र लोकतान्त्रिक प्रक्रियाको अभावलाई प्रस्ट पार्छ।

अत: शेर्पा संघ युरोपको गौरवमय इतिहासलाई पुनर्जनन दिन तत्काल सुधार आवश्यक छ। जसका लागि संघका संरक्षक र सल्लाहकारहरुले आफ्नो बर्षौको मौनता तोड्नुपर्छ र विधानअनुसार तुरुन्त महाधिवेशन आयोजना गरी नयाँ नेतृत्व चयन गर्नुपर्छ। संस्थालाई सक्रिय बनाउन नियमित भर्चुअल र वार्षिक भौतिक बैठकहरू सञ्चालन गर्नुपर्छ। सांस्कृतिक कार्यक्रम र अन्य गतिविधिहरूले शेर्पा समुदायको पहिचानलाई प्रवद्र्धन गर्नुपर्छ। नेतृत्वले आर्थिक प्रतिबद्धताहरू पूरा गर्नुपर्छ। किनकी जवाफदेही र पारदर्शी नेतृत्वले मात्रै समुदायको विश्वासलाइ पुनःस्थापित गर्नेछ र यी कदमहरूले शेर्पा संघ युरोपलाई पुनर्जागृत गरी पछिल्लो केही बर्षहरुमा निष्क्रिय र निस्प्रभावी भएर संघको गुमेको गौरव फर्काउन सकिन्छ।

विगतको शेर्पा संघ यूरोप तस्वीरमा बोल्छ……………..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय