सोलुमा विश्वकै लामो म्याराथन प्रतियोगिता हुने

सोलुखुम्बु : विश्वकै लामो दूरीको म्याराथन दौड प्रतियोगिता सोलुखुम्बुमा हुने भएको छ। आगामी कात्तिक ६ गतेबाट सोलुदुधकुण्ड-८, धापबाट प्रतियोगिता सुरु हुने आयोजक सङ्स्थाबद स्मल वर्ल्डले जनाएको छ।

आयोजक संस्थाका अध्यक्ष कर्मा शेर्पाका अनुसार धापबाट सुरु भएर सगरमाथा आधार शिविरसम्म पुगेर पुनः धापै आएर टुङ्गिने म्याराथनको दूरी ३१० किलोमिटरको हुने छ। धावक दा छिरि शेर्पाको अगुवाइमा हुने प्रतियोगिता १५ दिनसम्म चल्नेछ। दौडमा विभिन्न देशका ४० जना अन्तर्राष्ट्रिय धावक र दुई दर्जन नेपाली धावक सहभागी हुनेछन्।

प्रतियोगिता धाप-पिके डाँडा-नाम्चे-गोकियो हुँदै सगरमाथा आधार शिविर पुगेर सोही स्थान हुँदै धावकको टोली धाप नै फर्कने छन्। सर्वोच्च शिखर सगरमाथा क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रमा अन्तर्राष्ट्रिय धावकहरूलाई दौडाउँदा नेपालको पर्यटन प्रवर्द्धन हुने आयोजकको अपेक्षा छ। विदेशीहरूले यो लामो म्याराथनको भिडिओ डकुमेन्ट्री निर्माण गरी विश्वका महत्वपूर्ण च्यानलहरूमा प्रसारण गर्ने अध्यक्ष शेर्पाले बताए।

कोरोना महामारीपछि नेपालमा पर्यटकीय गतिविधि बढेसँगै नेपालमा अन्तर्राष्ट्रिय स्तरको दौड आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति ३१ आश्विन २०७९, सोमबार १८:०७

सम्बन्धित समाचारहरु