तमु ल्होछार

ल्होसार र ल्होछार

ल्होसार तिब्बती शब्द हो । ‘ल्हो’ले वर्ष, संवत् र मानिसको उमेरलाई बुझाउँछ भने ‘सार’को अर्थ हुन्छ नयाँ तिब्बती भाषामा विशेषणको प्रयोग नाम शब्दको पछाडि हुन्छ जसले गर्दाखेरी सारल्हो नभनीकन ल्होसार भनिएको हो । खस नेपाली भाषामा विशेषको प्रयोग नाम शब्दको अघि हुन्छ । जस्तो, नयाँ संवत् अथवा नयाँ वर्ष । ‘नयाँ’ विशेषण शब्द भयो, ‘वर्ष’ नाम शब्द हो ।

नेपालका हिमाली क्षेत्रका समुदायले पनि ल्होसार शब्दै प्रयोग गर्छन् । तर, उच्च पहाडी क्षेत्रका तामाङ र गुरुङहरुले ल्होछार शब्द प्रयोग गर्छन् । यो ल्होछार शब्द तिब्बती ल्होसारबाट नेपाली जनजिब्रोले नेपालीकरण गरेको हो । विश्वभरि अहिले तीनथरी ल्होसार मनाइन्छ । ल्होछार भने एक प्रकारको मात्र मनाइन्छ । तीनथरी ल्होसारमध्ये सबैभन्दा पुरानो ल्होसार हो तोल ल्होसार । तोलको अर्थ हुन्छ समयचक्र । त्यसकारण यसलाई समयचक्र संवत्सर भनिन्छ । यो पुस शक्ल प्रतिपदामा मनाइन्छ । यो ल्होसार पश्चिम तिब्बतको मानसरोवर वरिपरि र नेपालको हुम्ला, मनाङ र भुटानका केही जनसंख्याले मनाउँछन् ।

अर्को हो स्वनम ल्होसार । स्वनमको अर्थ हुन्छ पुण्य । त्यसकारण यसलाई पुण्य संवत्सर भनिन्छ । यो माघ शुक्ल प्रतिपदामा मनाइन्छ । तिब्बतको ल्हासादेखि पश्चिम, मानसरोवरदेखि पूर्वको पूरै तिब्बत र नेपालको हुम्ला, मनाङबाहेक सम्पूर्ण हिमाली क्षेत्र तथा तामाङहरुले यो चाड मनाउँछन् । चीनमा मानिने ल्होसार पनि यही हो । जनसंख्याको हिसाबले स्वनम ल्होसार मान्नेहरुको जनसंख्या संसारमा सबैभन्दा बढी छ । तेस्रोथरी ल्होसार हो ग्याल्बो ल्होसार । यो फागुन शुक्ल प्रतिपदामा मनाइन्छ । ल्हासादेखि पूर्वको तिब्बत र नेपाली शेर्पा समुदायले मान्ने ल्होसार यही हो । यो तिब्बतको राजकीय ल्होसार पनि हो । ग्याल्बोको अर्थ हुन्छ राजा । त्यसकारण यसलाई राज संवत्सर पनि भनिन्छ र, नेपालका गुरुङहरुले मनाउने संवत्सर तमु ल्होछार हो । तमु शब्दले गुरुङलाई बुझाउँछ । तमु ल्होछार हरेक वर्ष पुस १५ गते मनाइन्छ ।
Source: indigenous voice

प्रकाशित मिति ९ पुष २०७६, बुधबार १२:१२