सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल सुरु, लुक्ला विमानस्थलमा उडान संख्या बढ्यो

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल सुरु भएको छ । चिसो सिजनमा सुनसान बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै चहलपहल बढ्न थालेको स्थानीयले बताएका छन् ।

जाडो छल्न काठमाण्डौँ लगायत अन्य क्षेत्रमा गएका स्थानीयवासीहरु पनि फागुन लागेसँगै धमाधम फर्किन थालेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो । अहिले खुम्बुमा विदेशी पर्यटकहरु समेत फाट्टफुट्ट देखिन थालेको उहाँले बताउँनुभयो ।

खुम्बु भित्रिनेको संख्या बढेसँगै केही दिनयता तेन्जीङ हिल्लारी विमानस्थल लुक्लामा उडान तथा अवतरणको संख्यामा बृद्धि भएको छ । चिसो क्रमश घट्दै गएसँगै पर्यटक तथा स्थानीयवासी फर्किन थालेकाले विमानस्थलमा यात्रुको  चाप वृद्धि भएको नागरिक उड्यायन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लुक्लामा एक साता यता विमान मार्फत दैनिक १०० जनाको हाराहारीमा यात्रु भित्रिने गरेका छन् । लुक्लाबाट फर्किने यात्रु शुन्य भएपनि भित्रिने यात्रुको संख्या बढिरहेको नागरिक उड्यायन प्राधिकरण लुक्लाले जनाएको छ ।

शनिबार तारा एयरलाईन्सको ३ वटा र समिट एयरको २ वटा उडान मार्फत करिब ८० जना यात्रु खुम्बु भित्रिएको प्राधिकरण प्रमुख अछामीले बताउँनुभयो । भित्रिने यात्रुमा स्थानीयवासी र विदेशी तथा स्वदेशी पर्यटकहरु रहेको उहाँले बताउनुभयो ।

खुम्बुमा वर्षमा दुई सिजन असोज, कात्तिक मंसिर र चैत्त, बैशाख, जेठलाई मुख्य पर्यटकिय सिजन मानिन्छ ।

-Source:Solu FM

प्रकाशित मिति ८ फाल्गुन २०७८, आईतवार १४:५९

सम्बन्धित समाचारहरु