ट्रेकिङ गाइड तालिम खुम्बु क्षेत्रमै हुने

काठमाडौं, कात्तिक २८ गते । खुम्बु पर्वतारोहण संघले अबदेखि सोलुखुम्बुको खुम्वु क्षेत्रमै ट्रेकिङ गाइड र पोर्टर गाइड तालिम आयोजना गर्ने भएको छ । संघले पर्यटन मन्त्रालय अन्र्तगत रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँग सम्झौता गरी तालिम दिने भएको हो ।

फिल्डमै खटेर तालिम दिनु पर्ने पाठ्यक्रम अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिका–१ मा निर्मित रक क्लाइम्विङ खरिखोला र आसपासका हिमालका आधारशिविरमा आधार मानेर संघले तालिम प्रदान गर्ने सम्झौता भएको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीले जानकारी दिनुभयो । प्रतिष्ठानले तयार पारेको ट्रेकिङ गाइड र पोर्टर गाइडको पाठ्यक्रम अनुसार संघले तालिम दिने सहमती भएपछि दुई संस्था विच सम्झौता भएको ज्ञवालीले जानकारी दिनुभयो ।
सरकारले तय गरेको पाठ्यक्रम अनुसार १३९ घण्टा फिल्डमै अभ्यास हुनु पर्ने भएकाले तालिम सोही अनुसार सञ्चालन गर्न खुम्बु क्षेत्र उपयुक्त भएकाले संघले तालिम दिन इच्छुक भएको संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक आङदावा शेर्पाले बताउनुभयो । हाल ट्रेकिङ गाइड र पोर्टर गाइड तालिम प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले दिँदै आएको छ । तालिम आयोजनासँगै हिमालै हिमाल र मुख्य पर्यटकीय क्षेत्र मानिएको खुम्बु क्षेत्रको पर्यटनको थप प्रवद्र्धनमा समेत सहयोग पुग्ने लक्ष्य राखेको शेर्पाले बताउनुभयो ।

तालिममा सहभागि बन्न एसइइ अथवा कक्षा–१२ उर्तिण गरी कम्तीमा दुई वर्ष पदयात्रा क्षेत्रमा काम गरेको हुनु पर्ने पाठ्यक्रममा उल्लेख छ । तालिमलाई थप व्यवस्थित गर्न खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सहयोग गर्ने र त्यसका लागि एक नम्बरका वडाअध्यक्ष ङिमादोर्जी शेर्पाले समन्व्य गर्ने समेत प्रतिष्ठानसँग सहमती भएको शेर्पाले जानकारी दिनुभयो । सरकारले ट्रेकिङ गाइड, टुर गाइड, सिटी गाइड र पोर्टर गाइड तालिम दिँदै आएको छ । पर्यटन विभागको तथ्याङक अनुसार हालसम्म यी चारै प्रकारका गाइडहरुको तथ्याङक करिव २२ हजार रहेको छ ।

-Gorkhapatra dainik

प्रकाशित मिति २९ कार्तिक २०७८, सोमबार १७:१२

सम्बन्धित समाचारहरु