पेम्बा गेलु शेर्पा/३० सेप्टेम्बर बेल्जियम ।
– विश्वभर छरिएका शेर्पा समुदायलाई भाषा, धर्म र संस्कृतिको संरक्षण गर्दै एकताको सूत्रमा बाँध्ने उद्देश्यले सन २०१७ को अक्टोबर ८ मा विश्व शेर्पा संघ औपचारिक रूपमा स्थापना भएको हो। स्थापना भएको दिनलाई नै संघले “विश्व शेर्पा दिवस”को रूपमा मनाउने निर्णय गरेको थियो। त्यसयता हरेक वर्ष अक्टोबर ८ मा यो दिवस निरन्तरतापूर्वक विश्वभर मनाइँदै आएको छ।
यस वर्ष पनि यही परम्पराको निरन्तरतामा नेपाल, भारत, अमेरिका, युरोप लगायत विभिन्न देशहरूमा सांस्कृतिक र सामुदायिक कार्यक्रमको आयोजना हुनेभएको छ। यसै अवसरमा विश्वभरका सम्पूर्ण शेर्पा संघ–संस्थाहरूको सहभागिता रहने अनलाइन शुभकामना कार्यक्रम पनि प्रत्यक्ष प्रसारणमार्फत गरिने भएको छ। यसको जानकारी संघका महासचिव आङ जाङ्बु शेर्पाले दिनुभएको छ। उहाँका अनुसार, भौगोलिक दूरी फरक भए पनि यो दिनले शेर्पा समुदायलाई एकै थलोमा जोड्ने प्रतीकको काम गर्नेछ।
स्थापना भएदेखि नै विश्व शेर्पा संघले शेर्पा भाषाको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको छ। यसै क्रममा शेर्पा भाषाको “एप्स” निर्माण गरिएको छ, जसले नयाँ पुस्तालाई भाषा सिक्न र अभ्यास गर्न सजिलो बनाएको छ। त्यसका साथै, कार्यशाला, गोष्ठी तथा सचेतनामूलक कार्यक्रममार्फत भाषा, धर्म र संस्कृतिको एकरूपता कायम गर्ने प्रयास भइरहेको छ। यी गतिविधिहरूले विश्वभरका शेर्पा समुदायबीच आपसी सम्बन्धलाई सुदृढ बनाउन, आफ्नो मौलिक संस्कृतिप्रति गर्व गर्ने भावना जगाउन र नयाँ पुस्तालाई परम्परागत मूल्य–मान्यतासँग जोड्न महत्त्वपूर्ण योगदान दिएका छन्।
तर, यस संघको भूमिकाबारे केही सुझाव र अपेक्षाहरू पनि व्यक्त भइरहेका छन्। शेर्पा किदुग बेल्जियमका महासचिव जे.बी. शेर्पाले विश्व शेर्पा संघ समग्र अभियानका सन्दर्भमा सामाजिक कल्याणकारी काममा पनि संघको उपस्थितिलाइ अपेक्षा राखेर सुझाव दिनुहुँदै भन्नुभयो, “विश्व शेर्पा संघ नाम भव्य र ठूलो भएजस्तै यसको काम पनि ठूलो र भव्य होस्। एउटा असहाय र आर्थिक अवस्था कमजोर भएको शेर्पाले अहिलेसम्म अस्पतालको बेडबाट दयनीय अनुहार बनाएर हात जोड्दै सामाजिक सञ्जालभरी सहयोगको भिख माग्नुपर्छ, यसतर्फ तपाईंहरूको ध्यानाकर्षण होस्। हैनभने जस्तोसुकै महान र भव्य नाम राखेपनि त्यो हुनेखाने र पहुँच भएका एक मुट्ठी शेर्पाहरूको एउटा क्लब बाहेक केही हुनेछैन।”
विश्व शेर्पा संघले भने आगामी दिनमा शिक्षा, संस्कृतिको प्रवर्द्धन, नयाँ पुस्ताको पहिचान र विश्वव्यापी सहकार्यलाई अझ प्राथमिकतामा राख्ने जनाएको छ। यसले विश्वभर छरिएका शेर्पा समुदायलाई अझ संगठित र सशक्त बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
“विश्व शेर्पा दिवस” केवल स्मरणको दिन मात्र नभई सम्पूर्ण शेर्पा समुदायलाई एकतामा बाँध्ने, भाषा, धर्म र संस्कृतिको संरक्षण गर्ने, र भावी पुस्तामा मौलिक पहिचानलाई मजबुत बनाउने विश्वव्यापी अभियान बनेको छ। आठ वर्षे यात्रामा संघले पुर्याएको योगदान उल्लेखनीय छ र भविष्यका योजनाले यो अभियानलाई अझ सशक्त बनाउने नै देखिन्छ।