लाक्पा जी शेर्पा काठमाडौं (शेर्पाखबर) । मिस तथा मिस्टर टीन शेर्पा २०२० सम्पन्न भएको छ । मिस टीन शेर्पा आङ दाली शेर्पा र मिस्टर टीन शेर्पा मिङमा छिरिङ शेर्पा घोषित भएका छन्
प्रतियोगि नं. ८ र २४ रहेका उनीहरुले क्रमशः नगद ३० हजारका साथमा प्रायोजकहरुबाट शेर्पा पोशाक र आकर्षक टोपी उपहार प्राप्त गरे । उनीहरुलाई पहिलो सेसनका विजेताहरु मिङमा ल्हमु शेर्पा र तेन्जीङ छिरिङ शेर्पाले ताज पहिराई दिएको आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत छिरिङ डोल्मा शेर्पाले जानकारी दिइन । त्यस्तै, मिस तर्फ फस्ट रनरअप प्रतियोगि नम्बर ७ डोमा दिकी शेर्पा र सेकेण्ड रनरअप प्रतियोगि नम्बर १ ल्हमु शेर्पा घोषित भएकी छिन् । उनीहरुले क्रमस नगद २० हजार र १० हजार प्राप्त गरेका छन् । त्यस्तै, मिस्टर टिन शेर्पातर्फ फस्ट रनरअपतर्फ लाक्पा साङ्गे शेर्पा र सेकेण्ड रनरअपतर्फ छिरि शेर्पा घोषित भए । उनीहरुले पनि क्रमशः २० हजार र १० हजार नगदसहित उपहारहरु प्राप्त गरेका छन् ।
पब्लिक च्वाईजतर्फ प्रतियोगी नं. २५ पेम्बा दोर्जी शेर्पा र निमा ल्हमु शेर्पाले उपाधी प्राप्त गरे । कार्यक्रममा निर्णयकको भूमिकामा चलचित्रकर्मी गौरी मल्ल, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, मिसेस नेपाल टुरिजम छिरिङ डोल्मा शेर्पा, शेर्पा भाषाका ज्ञाता नुरु छेपाल शेर्पा, चर्चित गायक आनन्द कार्की लगायत मञ्चमा उपस्थित थिए ।
गौतमबुद्ध फिल्मस् प्रालीले आयोजना गरेको मिस तथा मिस्टर टीन शेर्पाको निर्णायक चरणको समरोहमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ प्रमुख अतिथिको रुपमा उपस्थित थिए । त्यस्तै, नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पा लगायत शेर्पा समुदायका विशिष्ठ व्यक्तित्वहरुको कार्यक्रममा बाक्लो उपस्थिती थियो ।
शेर्पा समुदायमा लुकेर रहेको युवा प्रतिभाहरुलाई प्रस्फुटन गर्दै शेर्पा समुदायको भाषा, संस्कार, संस्कृतिको सम्बद्र्धन र प्रतिस्पर्धात्मक पुस्ता निर्माण गर्न सौन्दर्य प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रममा सहभागिहरुले प्रतिक्रिया दिए ।