८ चैत – आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइइ) सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले परीक्षा बिहान ८ बजेदेखि सुरु हुने जनाएको छ | देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् र एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन् ।

साधारण धारतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ, जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।
अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था छ ।
अनुगमन टोलीलाई परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगतरूपमै कारबाही गर्न सक्ने अधिकार दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय