टोकियो, जापान — शेर्पा समुदायको भाषा, धर्म, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई मूल अभियानका रूपमा अघि बढाउँदै आएको शेर्पा संघ जापानले आफ्नो १६औँ महाधिवेशन आयोजना गर्ने भएको छ।
संघले सार्वजनिक गरेको पोस्टरअनुसार महाधिवेशन सन् २०२६ अक्टोबर ११ गते आइतबार जापानको टोकियोस्थित रोयल गार्डेन रेस्टुरेन्ट, कामेइदो स्टेसनमा आयोजना हुनेछ। महाधिवेशन दिउँसो १२ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुने जनाइएको छ।
प्रवासमा शेर्पा भाषा, धर्म र संस्कृतिको संरक्षणमा जोड
शेर्पा संघ जापानले आफ्नो १६औँ महाधिवेशनको मुख्य सन्देशका रूपमा “प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण, शेर्पा संघ जापानको मूल अभियान” भन्ने विषयलाई अगाडि सारेको छ।
जापानमा बसोबास गर्ने शेर्पा समुदायबीच आपसी एकता, सामाजिक सम्बन्ध तथा मौलिक पहिचानलाई निरन्तरता दिन भाषा, धर्म, कला र संस्कृतिको संरक्षण महत्वपूर्ण विषयका रूपमा रहँदै आएको छ। विशेषगरी प्रवासमा जन्मे–हुर्केका नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोडिराख्ने विषय समुदायका लागि महत्वपूर्ण मानिन्छ।
जापानमा रहेका शेर्पा समुदायका सदस्यहरूका लागि महाधिवेशन सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अवसरसमेत बन्ने अपेक्षा गरिएको छ।