अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका कारण सबै आप्रवासनहरूमा अस्थायी प्रतिबन्धहरू लगाउँदै कार्यकारी आदेश जारी गर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा उनले भाइरसको सङ्क्रमणलाई ‘अदृश्य शत्रु’ बाट भएका आक्रमण भन्दै अमेरिकीहरूको रोजगारी रक्षा गर्नुपर्ने कारण त्यस्तो कदम चाल्न लागेको जनाएका छन् ।

अहिले नै के के प्रभावित हुन्छन् वा राष्ट्रपतिले उक्त आदेश कार्यान्वयन गर्न सक्छन् या सक्दैनन् भन्ने स्पष्ट भइसकेको छैन। तर आलोचकहरूले सरकारले आप्रवासनविरुद्ध कोरोनाभाइरसको महामारीलाई प्रयोग गरिरहेको टिप्पणी गरेका छन्। सोमवार अबेर राति राष्ट्रपति ट्रम्पको घोषणा आउनुअघि ह्वाइट हाउसले महामारीको खराब चरण समाप्त भएको र अमेरिका पुनः खुला हुन सक्ने बताएको थियो।

भाइरस फैलन नदिन कैयौँ राज्यले लगाएका प्रतिबन्धका कारण अमेरिकाको अर्थतन्त्र ठप्प भएको छ। पछिल्लो चार हप्तामा दुई करोडभन्दा बढी अमेरिकीहरूले आफ्नो नाम बेरोजगारको रूपमा दर्ता गराएका छन्। त्यो पछिल्लो दशकमा रोजगारदाताहरूले जागिर उपलब्ध गराएका भनिएका मानिसहरूको सङ्ख्याको बराबरजस्तै हो।

हालसम्म अमेरिकामामा ७ लाख ८७ हजारभन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको र ४२ हजारभन्दा बढीको मृत्यु भएको विश्वव्यापी रूपमा महामारीको अभिलेख राखिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ।

राष्ट्रपति ट्रम्पको निर्णयबाट को को प्रभावित हुनेछन् भन्नेबारे तत्कालै स्पष्ट भएको छैन र ह्वाइट हाउसले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय