पेम्बा गेलु शेर्पा / एन्तोर्पेन बेल्जियम – विश्वमा भूराजनीतिक गठबन्धनहरू निरन्तर परिवर्तन भइरहेका छन्। यस्तो अवस्थामा क्यानडा एउटा महत्वपूर्ण मोडमा उभिएको छ। लामो समयदेखि संयुक्त राज्य अमेरिकाको सबैभन्दा नजिकको मित्र मानिएको क्यानडाले अब आफ्नो दक्षिणी छिमेकीसँगको सम्बन्धलाई पुनर्मूल्यांकन गरिरहेको छ। ट्रम्प प्रशासनको समयमा बढ्दो तनावका कारण यो सम्बन्धमा दरार देखिएको छ। व्यापारमा कर, रक्षा विवाद र क्यानडालीहरूले अपमानजनक र अनुपयोगी ठानेको बयानबाजीले दुई देशबीचको बलियो बन्धन कमजोर भएको छ। यही कारणले एउटा अप्रत्याशित विचारले चर्चा पाएको छ: के क्यानडा युरोपेली संघ (EU) मा सामेल हुन सक्छ?

ट्रम्पको प्रभाव: परिवर्तनको उत्प्रेरक

क्यानडा र अमेरिकाबीचको दूरी सन् २०२५ मा गहिरिन थाल्यो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाली सामानमा २५% कर लगाए। उनले व्यापार असन्तुलन र क्यानडाले अमेरिकालाई विद्युत् निर्यातमा कर लगाएको निर्णयलाई कारण देखाए। ट्रम्पले क्यानडाको स्टिल र एल्मुनियममा ५०% सम्म कर बढाउने धम्की दिए, यद्यपि पछि उनी पछि हटे तर, क्षति भइसकेको थियो। क्यानडालीहरूले आफ्नो परम्परागत छिमेकी मित्रबाट धोका भएको महसुस गरे, र अमेरिकाविरुद्ध कठोरताका साथ उभिने भावना बलियो बन्यो।

भर्खरै मार्च २०२५ मा प्रधानमन्त्री बनेका मार्क कार्नीले क्यानडाको स्वतन्त्रताको आवश्यकताबारे खुलेर बोलेका छन्। “हामी आफ्नो पक्षमा कठोताका साथ उभिन सक्छौं,” कार्नीले घोषणा गरे, साथै उनले ट्रम्पको पछिल्लो उनको क्यानाडाप्रतिको दृष्टिकोणलाई “अपमानजनक” र “असहयोगी” करार गरे । यो अडानले क्यानडाली जनताको मन जितेको छ, र धेरैले अब युरोपसँग बलियो सम्बन्धको खोजी गरिरहेका छन्।

युरोपेली सपना: क्यानडाको सम्भावित ईयू सदस्यता

क्यानडा युरोपेली संघमा सामेल हुने विचार असम्भव जस्तो लाग्न सक्छ, तर यसले आश्चर्यजनक रूपमा लोकप्रियता पाएको छ। सामाजिक सञ्जालमा क्यानडालाई ईयूमै “आधिकारिक” रूपमा सामेल गराउनुपर्ने आवाज उठेको छ। युरोपेली र क्यानडालीहरूले यो विचारलाई स्वागत गरेका छन्। “क्यानडा, तिमी युरोपको ठूलो र आकर्षक दाजुजस्तै छौ,” एक ट्वीटमा लेखिएको छ, “अब औपचारिक बनाउने बेला भयो।”

क्यानडाको ईयू सदस्यताको पक्षधरहरूले यसको युरोपेली शैलीको सार्वजनिक स्वास्थ्य प्रणाली, अंग्रेजी-फ्रान्सेली द्विभाषिक संस्कृति र नाटो सदस्यतालाई ब्लकमा सहजै मिल्न सक्ने कारणका रूपमा औंल्याएका छन्। हालैको एक सर्वेक्षणमा ४४% क्यानडालीले ईयूमा सामेल हुने पक्षमा मत दिए, भने ३४% ले विरोध गरे। प्रधानमन्त्री कार्नीको पहिलो विदेश भ्रमण युरोपमा भएको थियो, जहाँ उनले फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री केयर स्टार्मरसँग भेट गरे, जसले क्यानडाको युरोपप्रतिको झुकावलाई थप बलियो बनायो।

कानुनी र भौगोलिक अवरोधहरू

उत्साहका बाबजुद, ठूला चुनौतीहरू छन्। युरोपेली संघ सन्धिको धारा ४९ ले केवल युरोपेली राज्यहरूले सदस्यताका लागि आवेदन दिन सक्ने उल्लेख गरेको छ। भौगोलिक रूपमा उत्तरी अमेरिकामा अवस्थित क्यानडा यो मापदण्डमा पर्दैन। साथै, क्यानडा युरोपेली परिषदको सदस्य पनि होइन, जुन ईयू सदस्यताको अर्को बाधा हो।

तर, विज्ञहरू भन्छन्, “युरोपेली” को परिभाषा ढुंगामा कुँदिएको छैन। ऐतिहासिक र सांस्कृतिक सम्बन्धले क्यानडाको पक्षमा काम गर्न सक्छ। दक्षिणी साइप्रस, जो भौगोलिक रूपमा एसियामा पर्छ, सन् २००४ मा आफ्नो सांस्कृतिक र राजनीतिक सम्बन्धका कारण ईयू सदस्य बन्यो। त्यस्तै, टर्की पनि पूर्ण सदस्य नभए पनि ईयू प्रवेशका लागि युरोपेली राज्य मानिन्छ। के क्यानडाले यस्तै बाटो पछ्याउन सक्ला?

ईयू सदस्यताका फाइदा र बेफाइदा

यदि क्यानडा ईयूमा सामेल भयो भने उसले विश्वको सबैभन्दा ठूलो एकल बजारमा पहुँच पाउनेछ, जसले उसको अर्थतन्त्रलाई ठूलो टेवा दिनेछ। क्यानडा र ईयूबीचको व्यापक आर्थिक तथा व्यापार सम्झौता (CETA) ले पहिले नै ९८% कर हटाइसकेको छ, तर पूर्ण सदस्यताले यो सम्बन्धलाई अझ गहिरो बनाउनेछ। क्यानडाले जलवायु परिवर्तनदेखि डिजिटल शासनसम्मका ईयू नीतिहरूमा आवाज उठाउन सक्नेछ।

तर, ईयू सदस्यतासँगै चुनौतीहरू पनि आउँछन्। क्यानडाले ईयूको विशाल कानुन र नियमहरू (EU acquis Communautaire) अपनाउनुपर्नेछ, जसमा ४८ घण्टाको अधिकतम काम समय, वातावरणीय नियमहरू र युरो मुद्रा समावेश छन्। क्यानडाले आफ्नो आपूर्ति व्यवस्थापन प्रणालीलाई ईयूको साझा कृषि नीतिले प्रतिस्थापन गर्नुपर्नेछ र ईयू बजेटमा आफ्नो जीडीपीको १% योगदान दिनुपर्नेछ।

पूर्ण सदस्यताको विकल्प

ईयू सदस्यताको जटिलताका कारण, केही विज्ञहरूले क्यानडाले औपचारिक रूपमा सामेल नभई ईयूसँग नजिकको सम्बन्ध राख्नुपर्ने सुझाव दिएका छन्। बेलायतको ब्रेक्जिटपछिको व्यापार र सहयोग सम्झौता वा नर्वेले अपनाएको युरोपेली आर्थिक क्षेत्र (EEA) सदस्यता यसका नमुना हुन सक्छन्। यस्ता व्यवस्थाले क्यानडाको सार्वभौमसत्ता कायम राख्दै ईयू बजारमा पहुँच दिनेछ।

ईयूसँगको बलियो रणनीतिक साझेदारीले सुरक्षा, जलवायु परिवर्तन र डिजिटल शासनजस्ता मुद्दाहरू सम्बोधन गर्न सक्छ। प्रधानमन्त्री कार्नीले भने, “क्यानडा गैर-युरोपेली देशहरूमध्ये सबैभन्दा युरोपेली हो। म फ्रान्स र सम्पूर्ण युरोपले क्यानडासँग उत्साहपूर्वक काम गरोस् भन्ने चाहन्छु।”

सार्वभौमसत्ताको प्रतीकात्मक कदम

क्यानडा ईयूमा सामेल हुन्छ वा हुँदैन, यो छलफलले नै संयुक्त राज्य अमेरिकालाई क्यानडा एक्लो छैन भन्ने शक्तिशाली सन्देश दिन्छ। ट्रम्पको धम्की र करहरूको सामना गर्न क्यानडाले आफ्नो अर्थतन्त्र र सार्वभौमसत्ताको रक्षा गर्न सबै विकल्प खोजिरहेको छ। एक विश्लेषकले भने, “क्यानडाको ईयू सदस्यताले डोनाल्ड ट्रम्पलाई प्रमाणित गर्नेछ कि ओटावा सरकार एक्लो छैन र उसका लागि धेरै राम्रा विकल्प छन्।”

विश्वले यो अभूतपूर्व भूराजनीतिक परिवर्तनलाई नियालिरहँदा एउटा कुरा स्पष्ट छ: क्यानडा अब आफ्नो दक्षिणी छिमेकीको छायामा बस्न तयार छैन। ईयू सदस्यता वा नजिकको साझेदारीमार्फत, क्यानडाले नयाँ बाटो तय गरिरहेको छ—जसले विश्व मञ्चमा उसको स्थानलाई पुनःपरिभाषित गर्न सक्छ।

– ऐजेन्सीको सहयोगमा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय