✍️ पेम्बा गेलु शेर्पा / १० अप्रिल २०२५ 

बेल्जियम युरोपेली संघ (EU) का सदस्य राष्ट्रहरू मध्ये श्रम लागतको हिसाबले तेस्रो महँगो देश बनेको छ। युरोपेली संघको तथ्यांक कार्यालय Eurostat द्वारा हालै सार्वजनिक गरिएको तथ्यांकअनुसार, बेल्जियमको श्रम लागत EU को औसतस्तरभन्दा धेरै माथि छ।

सन् २०२४ मा बेल्जियममा प्रति घण्टा औसत श्रम लागत ४८.२० युरो रहेको छ। ईयूमा लक्जमबर्ग र डेनमार्क मात्र बेल्जियमभन्दा उच्च लागत रहेका देशहरु हुन, यी देशहरुको क्रमशः ५५.२० युरो र ५०.१० युरो रहेका छन ।  २७ ईयू सदस्य राष्ट्रहरूमा औसत प्रति घण्टा श्रम लागत ३३.५० युरो रहेको छ भने युरो प्रयोग गर्ने २० ईयू देशहरूको युरोजोनमा यो लागत ३७.३० युरो प्रति घण्टा रहेको छ।

बेल्जियमको प्रति घण्टा श्रम लागत छिमेकी देशहरू नेदरल्यान्ड्स (४५.२० युरो), फ्रान्स (४३.७० युरो) र जर्मनी (४३.४० युरो) भन्दा बढी छ। साथै, बेल्जियमको श्रम लागत ईयूमा सबैभन्दा कम औसत प्रति घण्टा लागत भएका बुल्गेरिया (१०.६० युरो), रोमानिया (१२.५० युरो) र हंगेरी (१४.१० युरो) को तुलनामा लगभग चार गुणा बढी छ।

श्रम लागतले कर्मचारी नियुक्त गर्दा रोजगारदाताले वहन गर्नुपर्ने कुल खर्चलाई प्रतिनिधित्व गर्छ। यसमा कर्मचारीको पारिश्रमिक, सामाजिक योगदान, तालिम, भर्ती र कामका लागि आवश्यक कपडा खर्च, करहरू र प्राप्त अनुदानहरू घटाएर बाँकी रहेको रकम समावेश हुन्छ। औसत प्रति घण्टा लागतले कुल श्रम लागतलाई काम गरिएको घण्टाको संख्याद्वारा भाग गरेर निकालिन्छ।

सन् २०२४ मा, सन् २०२३ को तुलनामा, समग्र अर्थतन्त्र स्तरमा युरोमा व्यक्त प्रति घण्टा श्रम लागत ईयूमा ५% र युरोजोनमा ४.५% ले बढेको थियो । अहिले युरोजोनभित्र, प्रति घण्टा श्रम लागत सबै देशहरूमा बढेको छ। सबैभन्दा ठूलो वृद्धि क्रोएसिया (१४.२%), लात्भिया (१२.१%) र लिथुआनिया (१०.८%) मा देखिएको छ। सबैभन्दा कम वृद्धि चेकिया (१.३%), फिनल्यान्ड (१.८%) र लक्जमबर्ग (२.१%) मा देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय