पेम्बा गेलु शेर्पा/२८ मे २०२५ ।
– युरोपेली उपभोक्ता संगठन BEUC (The European Consumer Organisation) ले Ryanair सहित सात युरोपेली एयरलाइन्सहरूमाथि ह्यान्ड ब्यागेजका लागि अतिरिक्त शुल्क लिएको भन्दै युरोपेली आयोग (European Commission) मा उजुरी दर्ता गरेको छ।
BEUC ले Ryanair, EasyJet, Norwegian Airlines, Transavia, Volotea, Vueling र Wizz Air जस्ता एयरलाइन्सहरूले यात्रुहरूबाट “अनुचित शुल्क” असुलेको आरोप लगाएको छ। संगठनले सम्पूर्ण युरोपमा यस्ता व्यवसायिक अभ्यासहरूमा अनुसन्धान गर्न आग्रह गरेको छ।
BEUC का महानिर्देशक अगस्टिन रेनाले भने, “यी सातवटा एयरलाइन्सहरूले उपभोक्तालाई शोषण गरिरहेका छन् र युरोपेली संघको सर्वोच्च अदालतको निर्णयलाई बेवास्ता गरिरहेका छन्।” उनले स्पेनमा हालै लगाइएका जरिवानाले यात्रुहरूले “उचित आकारको ह्यान्ड लगेज” निःशुल्क लिएर यात्रा गर्न पाउने अधिकार पुष्टि गरेको बताए।
Ryanair को जवाफ ।
Ryanair ले उक्त उजुरीलाई स्वागत गर्दै भन्यो कि यसले प्रमाणित गर्नेछ कि उनीहरूको लगेज नीति युरोपेली कानून (EU Reg 1008/2008) अनुसार छ। सो कानुनले EU भित्रका एयरलाइन्सहरूलाई मूल्य निर्धारण गर्ने स्वतन्त्रता दिन्छ, जसमा वैकल्पिक सेवाहरूको शुल्क पनि पर्छ।
Ryanair ले प्रत्येक यात्रुलाई 40cm x 25cm x 20cm आकारको एक व्यक्तिगत झोला निःशुल्क लैजान दिने नीति रहेको बताएको छ। यदि यात्रु थप झोला लैजान चाहन्छन् भने, त्यसको लागि अतिरिक्त शुल्क तिर्नुपर्नेछ। “हाम्रो नीति सस्तो भाडा र उपभोक्ताको छनोटको सम्मान गर्छ। यदि सबै यात्रुहरूको टिकटमा थप झोला अनिवार्यरूपमा समावेश गरियो भने, भाडा महँगो हुने र सबै यात्रुहरू प्रभावित हुनेछन्।” कम्पनीले भनेको छ ।
युरोपेली अदालतको पुरानो फैसला
सन् २०१४ मा युरोपेली संघको अदालतले निर्णय गरेको थियो कि “यदि झोला उचित तौल र आकारको छ भने त्यसको लागि अतिरिक्त शुल्क लिन मिल्दैन।” Ryanair ले उक्त निर्णयले एयरलाइन्सहरूलाई अतिरिक्त झोलाको शुल्क लिन अनुमति दिएको तर एउटा सानो व्यक्तिगत झोला भने टिकटमा समावेश गर्नुपर्ने प्रस्ट पारेको बतायो।
BEUC को थप माग
BEUC ले युरोपेली संघसँग आधारभूत टिकट मूल्यमा के सेवा समावेश हुने भन्ने स्पष्ट पार्न पनि आग्रह गरेको छ। संगठनका अनुसार, उपभोक्ताहरूले टिकट किन्दा सानो झोला र एउटा ह्यान्ड लगेज समावेश हुने अपेक्षा राख्छन्।
“तसर्थ, नीति निर्माणकर्ताहरूले ह्यान्ड लगेजको ‘उचित आकार र तौल’ कस्तो हुने भन्ने स्पष्ट गर्नु आवश्यक छ,” BEUC ले जनाएको छ, “यसले विमानस्थलमा हुने अन्यौल र उपभोक्ता तथा एयरलाइन्स दुवैको समय तथा खर्च बचत गर्न मद्दत पुर्याउँछ।”