पेम्बा गेलु शेर्पा/०१ जुन २०२५ — गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्तुगलमा नेतृत्व विवादको रस्साकस्सी चरम सीमामा पुगेको छ। केन्द्रमै विवादित मानिएका दुई अध्यक्ष बद्री केसी (नेकपा एमाले निकट) र महेश श्रेष्ठ (नेपाली कांग्रेस निकट) का समुहहरू पोर्तुगलमा पनि आ–आफ्नै शैलीमा सक्रिय भइरहेका छन्।
बद्री केसी समुहलाई पोर्तुगलमा उमेश खड्काले नेतृत्व गरिरहेका छन्, भने महेश श्रेष्ठ समुहको नेतृत्व दीपा काफ्लेले गरिरहेकी छन्। दुवै पक्षले आफूलाई ‘वैधानिक’ दाबी गर्दै संस्थाको समग्र संरचनालाई नै द्वैध स्वरूपमा धकेलेका छन्।
गैरराजनीतिक मानिएको एनआरएनएमा लामै समयदेखि स्पष्ट रुपमा राजनीतिक विभाजन भएको देखिन्छ। विशेषगरी पोर्तुगलमा दुई समितिले समानान्तर रूपमा गतिविधि गर्दै आ–आफ्नै अधिवेशनको तयारी गर्नु संस्थाको ‘एक देश, एक समिति’ नीतिसँग सीधै बाझिएको अवस्था हो।
दीपा काफ्ले नेतृत्वको समुहले आगामी जुन ८ तारिखमा अधिवेशन हुने घोषणा गरिसकेको छ। उक्त अधिवेशनका लागि गम्भीरजङ्ग गुरुङको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरिएको छ। यो प्रक्रिया आफूले एनआरएनएको अन्तर्राष्ट्रिय कार्यनिधि र विधानको पालना गर्दै अगाडि बढाएको बताउँदै काफ्ले समुहले सदस्यहरूलाई सक्रिय सहभागिताको आह्वान गरेको छ।
तर, उमेश खड्का नेतृत्वको समुहले मे २९ मा विज्ञप्ति जारी गर्दै उक्त अधिवेशनलाई “भ्रामक र अवैधानिक प्रचार” भनेर खण्डन गरेको छ। उनीहरूको भनाइमा, नयाँ कार्यसमिति चयन गर्न आवश्यक MIS प्रणाली, SMART सदस्यता प्रमाणीकरण, तथा केन्द्रीय स्वीकृति बिना कुनै पनि अधिवेशन मान्य हुन सक्दैन।
यी दुई फरक दावीहरूले पोर्तुगलको प्रवासी नेपाली समुदाय अन्योलमा परेका छन। अधिकाङ्शले यसलाई संस्थामा भएको चरम राजनीतिकरणको उपज मानेका छन भने केहीले मिलेर अघि बढ्न आह्वान गरेका छन्। एनआरएनएजस्तो गैरराजनीतिक सामाजिक संस्थामा लामो समयदेखि हुँदै आएको राजनीतिक गुटबन्दी र खिचातानीले यतिबेला विश्वव्यापी रुपमा नै यो संघ विघटनको संघारमा पुगेको देखिन्छ ।