✍️ पेम्बा गेलु शेर्पा/जुन ४, २०२५  ।
– पोर्चुगलको Agency for Integration, Migration and Asylum (AIMA) ले ३३,९८३ आप्रवासीका आवेदन अस्वीकार गरेको छ। जसमा ३,२७९ नेपालीहरु पनि समावेश छन । यी आप्रवासीहरूलाई २० दिनभित्र स्वेच्छिक रूपमा देश छोड्न सूचना जारी गरिएको छ, अन्यथा उनीहरूलाई देश छोड्न बाध्य गरिनेछ। यो जानकारी पोर्चुगल सरकारले हालैको प्रेस सम्मेलनमा सार्वजनिक गरेको हो, जहाँ मन्त्रिपरिषद्का मन्त्री एन्टोनियो लेइटाओ अमारोले AIMA को पहिलो वर्षको आप्रवास कार्ययोजनाको प्रगति बारे जानकारी दिएका थिए ।

AIMA ले १,८४,०५९ आवेदनहरूको प्रक्रिया पूरा गरेको छ, जसमध्ये १८.५% अर्थात् ३३,९८३ आवेदन अस्वीकार भएका छन्। मन्त्रीका अनुसार, मे महिनाको शुरूमा १८,००० आप्रवासीहरूलाई सूचना दिइएको थियो, र अहिले यो संख्या दोब्बर भएको छ। अस्वीकार भएका आवेदनमा ३,२७९ नेपाली छन्, जुन ठूलो संख्या हो। अन्यमा भारतीय (१३,४६६), ब्राजिलियन (५,३८६), बंगलादेशी (३,७५०), र पाकिस्तानी (३,००५) आप्रवासी छन्।

AIMA का अनुसार अस्वीकार हुनुको कारणमा आप्रवासीले सूचना पठाउँदा जवाफ नदिएको, कागजात पूरा नभएको, वा आपराधिक रेकर्डजस्ता नियमहरू पालना नगरेको बताएको छ। पहिले पर्यटक भिसामा आएर एक वर्ष बसेपछि र सामाजिक सुरक्षा योगदान गरेपछि बसाइँलाई वैध बनाउने नियम थियो, तर यो नियम अहिले हटाइएको छ। मन्त्रीले भने, “हामीले प्रक्रिया छिटो बनाएका छौं, र अहिले यो झन्डै स्वचालित छ। हामी दैनिक २,००० सूचना पठाउँदैछौं।”

पोर्चुगलको कानुनअनुसार, अस्वीकृत आवेदकहरूलाई स्वेच्छिक रूपमा देश छोड्न २० दिनको समय दिइन्छ। यदि यो अवधिमा उनीहरूले देश नछोडेमा, जबरजस्ती निष्कासनको उपाय अपनाइने भनिएको छ। AIMA ले १,००० भन्दा बढी ठेगानाहरूमा गलत कुरा फेला पारेको छ, जसलाई प्रहरीमा बुझाइएको छ।

सबै बाँकी आवेदन जुन २०२५ सम्म सक्ने योजना बनाएको पनि AIMA बताएको छ । तर, एजेन्सीले धेरै गुनासोहरू सामना गरिरहेको छ, किनभने कागजात प्रक्रिया र भेटघाटको समयमा धेरै ढिलाई भईरहेको छ । आप्रवास विशेषज्ञ थाइस फ्रान्साले AIMA को नीतिलाई आप्रवासीहरूलाई गलत रूपमा हेर्ने नीति भनेर आलोचना गरेकी छिन ।

AIMA को कार्यले पोर्चुगलको आप्रवास प्रणालीमा सुधार ल्याउने प्रयासलाई त संकेत गर्छ, तर ठूलो संख्यामा अस्वीकृति र ढिलाइले आप्रवासी समुदायमा चिन्ता बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय