काठमाडौं । लोकप्रिय नेपाली सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–७ मा शेर्पा समुदायका दुई प्रतिभाशाली प्रतिस्पर्धीले आफ्नो सशक्त प्रस्तुतिमार्फत दर्शकको मन जित्न सफल भएका छन्।
टिम खेमबाट प्रतिस्पर्धा गरिरहेकी छिरिङ्ग डोमा शेर्पा ले फरक शैली र भावनात्मक गायनमार्फत स्टेजमा गहिरो प्रभाव छोडेकी छन्। गीतको भावलाई आत्मसात् गर्दै प्रस्तुत गरिएको उनको आवाजले कोच खेम सेन्चुरीसहित निर्णायक तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। परम्परागत र आधुनिक संगीतको सन्तुलित मिश्रणले उनको प्रस्तुति स्मरणीय बनेको छ।
त्यस्तै टिम राजुबाट सहभागी कर्सङ शेर्पाले आत्मविश्वासी र सशक्त गायन प्रस्तुत गर्दै प्रतियोगितामा आफ्नो दह्रो उपस्थिति जनाएका छन्। गीतको आरोह–अवरोहलाई सन्तुलित ढंगले प्रस्तुत गरेका कर्सङले कोच राजु लामाको निर्देशनमा आफूलाई क्रमशः निखार्दै लगेका देखिन्छन्। उनको प्रस्तुतीमा देखिएको ऊर्जा र स्थिरताले दर्शकलाई आकर्षित गरेको छ।
‘भ्वाइस अफ नेपाल’ सिजन–७ ले देशका विभिन्न भूगोल र समुदायबाट आएका प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्दै आएको छ। छिरिङ्ग डोमा शेर्पा र कर्सङ शेर्पाको प्रस्तुतिले शेर्पा समुदायमा रहेको सांगीतिक क्षमतालाई थप उजागर गरेको प्रतिक्रिया दर्शकहरूबाट आएको छ र दुवै जनालाई देश विदेश बाट साथै शेर्पा तथा अन्य समुदायबाट समेत राम्रो साथ पाई रहेको कारण दुवै जना आफ्नो आफ्नो टिमको टप ३ मा प्रवेश गरि सकेको छ ।

रियालिटी शोको मञ्च बाट आफ्नो सांगीतिक क्षमताकै कारण देश विदेशमा लोकप्रियता कमाई रहेको दुई प्रतियोगिलाई नेपाली सांगीतिक संसारमा सुनौलो अक्षरले आफ्नो नाम लेख्न सफल रहोस हार्दिक शुभकामना