✍️ पेम्बा गेलु शेर्पा / १९ फेब्रुअरी बेल्जियम
– साईप्रसमा बसोबास गर्दै आएका हिमाली बौद्ध धर्मावलम्बी समुदायले महान पर्व ग्याल्पो ल्होसार २१५३ (मेफो ता ल्हो—घोडा वर्ष) को अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएका छन्। शेर्पा किदुक साईप्रसको आयोजनामा यही मार्च ८, २०२६ (आइतबार) का दिन लिमासोलस्थित नियो फिएस्टा हल, कातोपोलोमिडियामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक समारोह सम्पन्न गरिने जानकारी दिइएको छ।
हरेक वर्षझैँ यस वर्ष पनि ल्होसारलाई सामूहिक रूपमा उल्लासमय वातावरणमा मनाउने उद्देश्यले कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ। विशेष अतिथिका रूपमा लोकप्रिय गायक ल्हाक्पा शेर्पा अमोद र नेपालका पहिलो डीजे तेन्जिन शेर्पाको प्रस्तुति रहनेछ। साथै स्थानीय कलाकारहरूको विविध सांस्कृतिक प्रस्तुति, स्याब्रु नृत्य, गीत–संगीत तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरूले समारोहलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
शेर्पा किदुक साईप्रसले साईप्रसमा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई पर्वको उल्लास साटासाट गर्न हार्दिक निमन्त्रणा दिएको छ। कार्यक्रममा सहभागीहरूका लागि बिहानको नास्ता, चियापन तथा भोजनको व्यवस्था गरिनुका साथै आवत–जावतका लागि बस सेवा समेत उपलब्ध गराइने जनाइएको छ। प्रवेश शुल्क २० युरो निर्धारण गरिएको छ।
यसैबीच स्याब्रु नृत्य, गीत तथा एकल नृत्य प्रस्तुत गर्न इच्छुक व्यक्तिहरूलाई आफ्नो नाम संस्थाका सदस्यहरूसँग सम्पर्क गरी दर्ता गराउन पनि अनुरोध गरिएको छ।
महासचिव कान्डु शेर्पाले ग्याल्पो ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र नभई भाषा, संस्कृति र पहिचान जोगाउने साझा पर्व भएकाले साईप्रसस्थित सम्पूर्ण नेपाली समुदायको सक्रिय सहभागिताले कार्यक्रम अझ भव्य र अर्थपूर्ण बन्ने विश्वास व्यक्त गरेका छन्।
विदेशी भूमिमा बसेर पनि मौलिक संस्कृति जगेर्ना गर्दै सामूहिक उत्सव मनाउने परम्पराले नेपाली समुदायबीच एकता, सद्भाव र आत्मीयता थप मजबुत बनाउने अपेक्षा गरिएको छ।