कृषि,वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोप–३१ मा लगाएको शेर्पा समुदायको परम्परागत पहिरनको स्वरूप बिगारेको भन्दै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी बागमती प्रदेश अध्यक्ष छिरिङ डोल्मा शेर्पाले आपत्ति जनाएकी छन् ।
उनले मन्त्रीले हिमाली समुदायको संस्कृति र पहिचानको अपमान गरेको आरोप लगाउँदै सार्वजनिक रूपमा माफी माग्न माग गरेकी छन् ।
शेर्पाले सामाजिक सञ्जाल (फेसबुक)मार्फत मन्त्री चौधरीले टर्कीको अन्ताल्यामा आयोजित कोप–३१ मा लगाएको हिमाली पहिरन उल्टो र तलमाथि पारिएको भन्दै असन्तुष्टि जनाएकी हुन् ।
उनले उक्त पहिरनलाई सामान्य त्रुटिका रूपमा मात्र लिन नमिल्ने उल्लेख गर्दै यो सम्पूर्ण हिमाली क्षेत्र र शेर्पा समुदायको सांस्कृतिक पहिचानमाथिको अपमान भएको टिप्पणी गरेकी छन् । ‘यो हिमाली मुद्दा उठाएको होइन, हिमाली जातिलाई जिस्क्याएको हो,’ उनले लेखेकी छन्, ‘हाम्रो पहिरनलाई नबुझी,नसोधी र समुदायको एक जनालाई पनि परामर्श नगरी उल्टो लगाएर हिँड्नुभयो ।’
शेर्पाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने मन्त्रीले कुनै पनि समुदायको परम्परागत पोसाक प्रयोग गर्दा त्यसको सांस्कृतिक महत्त्व र लगाउने विधिबारे जानकारी लिनुपर्ने बताएकी छन् । उनका अनुसार पहिरन केवल शरीर ढाक्ने वस्तु नभई समुदायको इतिहास,पहिचान र पुर्खासँग जोडिएको संस्कृति हो। उनले शेर्पा समुदायले सगरमाथामार्फत विश्वमा नेपालको पहिचान स्थापित गर्न र हिमाल संरक्षणमा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै त्यही समुदायको पहिरनलाई गलत ढंगले प्रस्तुत गर्नु आपत्तिजनक भएको बताएकी छन्।
‘हिमालको मुद्दा उठाउन शेर्पा बन्नै पर्दैनथ्यो, मन्त्री भएर गए पुग्थ्यो। तर शेर्पा बन्ने भए राम्रोसँग शेर्पा बन्नुस्, हाम्रो संस्कृतिलाई सम्मान गर्नुस्,’ उनले लेखेकी छन्।
शेर्पाले मन्त्री चौधरीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र शेर्पा समुदायसँग परामर्श नगरी उनीहरूको परम्परागत पहिरन प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्ने मागसमेत गरेकी छन्।
‘मेरो पहिरन मेरो प्राण हो। मेरो पहिरनलाई उल्टो लगाएर मेरो पुर्खालाई गाली गर्ने अधिकार कसैलाई छैन, मन्त्रीलाई पनि छैन,’ उनले लेखेकी छन्। उनले अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा हिमालका मुद्दा उठाउँदा हिमाली क्षेत्रका समुदायको आवाजलाई समेत प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन्।
