दक्षिण कोरियामा कोरोना विरुद्धको खोप सुरु, पहिलो दिन यति धेरैले लगाए खोप

सोल – दक्षिण कोरियामा कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । राष्ट्रिय खोप अभियानका रुपमा सुरु गरिएको उक्त कार्यक्रमको पहिलाृ दिन झण्डै १८५०० जनाले खोप लगाएको अधिकारीहरुले बताएका छन् ।

केन्द्रिय दैविक प्रकोप व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार खोप कार्यक्रमको पहिलो दिन १८४४९ जनाले खोप लगाएका छन् । उनीहरुले अष्ट्राजेनेका कम्पनीको खोपको दुई चरणहरु मध्येको पहिलो चरणको खोप लगाएका हुन् ।

शुक्रबारको खोप कार्यक्रममा स्वास्थ्य क्षेत्रका कर्मचारी, नर्सिङ होमका कर्मचारी तथा नर्सिङ होमका बिरामीहरुलाई सहभागी गराइएको थियो । स्वास्थ्य अधिकारीहरुका अनुसार शुक्रबार खोप लगाइएकाहरुमा कुनै किसिमको नकारात्मक असर देखा परेको छैन ।

स्वास्थ्य अधिकारीहरुका अनुसार फाइजर कम्पनीको खोप समेत आजबाट देशब्यापी रुपमा सुरु गरिदै छ । हालसम्म ५८५०० डोज फाइजर खोप दक्षिण कोरिया आइपुगेको बताउदै थप ५ लाख डोज खोप समेत मार्च महिनाको तेश्रो सातासम्ममा दक्षिण कोरिया आइसक्ने जानकारी उनले दिएका छन् ।

प्रकाशित मिति १५ फाल्गुन २०७७, शनिबार ११:१९